क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँ : सांसद आचार्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गर्नुभएको हो । उहाँले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताउनु भयो । उहाँले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘अमेरिका र वेस्ट इण्डिज्को संयुक्त आयोजनामा टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु भइरहेको र अनियमितता भइरहेको गुनासो आएकोले सरकारले यथाशिघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार गर्‍यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ । खेलाडीको साख बेचेर, खेलाडीलाई होटेलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैध रुपमा जर्सीहरु अमेरिका लगेर नेपालीहरुलाई महङ्गोमा विक्रि गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासाहरु आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहिन ढंगले विक्रि गरि हिनामिना गरेको भन्ने कुरा पनि आएका छन् । अमेरिकामा बस्ने नेपालीबाट अवैध रुपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’

उहाँले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?