
विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउने काम भइरहेको छ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकाैं रोगहरूको उपचार यसबाट सहजै रूपमा सम्भव भएकोले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौं मानिस लाभान्वित भएका छन् । वर्तमान अवस्थामा योगविज्ञान जति महत्वपूर्ण सावित भइरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी महत्वपूर्ण भएको थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन् जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ ।
यस्तो अवस्थामा यो महत्वपूर्ण हुनजान्छ कि हामीलाई जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम रहोस् ताकि प्रत्येक प्राणीमा आफैँ शरीरको अंश रहेको अनुभूति गर्न सकौं । यदि मानवजाति आफ्नो जीवनमा एकात्मकतालाई तथा जीवनको योगलाई सम्झिरहेका छन् । त्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्य ठूलो परिवर्तन आउन सक्नेछ । जीवनप्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन, व्यापकतामा कमी ल्याएरमात्रै मानव जातिका सबैखाले समस्याको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ ।
योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तत्व केन्द्रित रहेको हुन्छ । योग भनेको जोड्नु हो । योगले प्रेम, अहिंसा करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव आफूमा केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानवकल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि सावित हुनसक्दछ । योग हाम्रो विरासत हो । नेपाल–भारत दुई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्वको देश अवश्य छन् तर हिन्दु धर्म, संस्कृति, पुराण, वेद, उपनिषद्, देवी देवता, तीर्थस्थल महान ऋषिमुनिहरू हाम्रो निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातः स्मरणीय छन् ।योगको बारेमा विश्वजगतलाई अवगत गराउने काम विगतमा नभए होइनन् तर त्यो सीमित थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आफ्नो अमेरिकाका यात्रा दौरान तथा संयुक्त राष्ट्र संघमा योगको महत्वबारे विश्वजगतलाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्वव्यापी मान्यता हासिल गर्याे । इस्लामिक देशहरूसहित विश्वका झण्डै २०० देशहरूले अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन् । साउदी अरब र इरानजस्ता कट्टर इस्लामिक देशहरूमा पनि राजकीयस्तरबाट यसको आयोजन गरिरहेका छन् । हाम्रा महान् ऋषिमुनिहरूप्रति हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुनेछ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ ।
योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोगजस्ता विषय छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्वजगतलाई धेरै थोक दिएको छ । योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ मार्शल आर्टका जनक पनि हिन्दु र बौद्ध सन्तहरू नै थिए । हिन्दु संस्कृतिजस्तै युनान, मिश्र, अरब एवं अनेकौं संस्कृतिहरूले विश्वजगतलाई केही न केही अमूल्य निधि प्रदान गरेको छ । शून्य र दशमलवको प्रयोगको थालनी पनि यहीबाट भएको हो ।
योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञानजस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान संकीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनन्त छन् । हामी सबै एकाइ मात्रै हौँ जबकि अस्तित्व सम्पूर्ण । एकाइ हुनु दुःख हो भने अनन्त हुन आनन्द हो । योग एकाइमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोड्नु । पतञ्जलि (इशापूर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलिभन्दा प्राचीन हो । मनुस्य एवं ब्रहृमाण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै सुरु भएको हो ।
विश्वका अनेकौं देशले यसलाई अपनाउने काम गरे तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महत्व एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुशी मनाउनुपर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व बढ्नेछ । मिमांसा, न्याय, वैदेशिक, सांख्य, वेदान्त एवं योग भारत वर्षका सात प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी यहीँबाट भएको हो तर सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ्य शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरू काम गर्दा गर्दै एक सय वर्षसम्म बाँच्ने अभिलाषा गर्दथे । २१ जुनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्दछ ।
सम्भवतः यिनै कारणले यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्र संघले गरेको हुन सक्दछ । यसभन्दा अघि सन् २०११ मा भारतको दक्षिणी प्राप्त बेंगलुरुमा विश्वका केही योग गुरुहरूको बैठकमा पनि २१ जुनका दिनलाई योग दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो । सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यसदिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौं । जबकि यथार्थमा योगको अर्थ त जोड्नु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु । जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान पनि कहलिन्छ ।
ऊर्जामा वृद्धिको निम्तिमात्रै जोडिनु नै पर्याप्त होइन । त्यसलाई दिशा र गतिको आवश्यकता पर्दछ । एक आपसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्दछ । जोड्नु त्यतिबेला मात्रै सम्भव हुन सक्दछ जब दुबैको दिशामा एउटामात्रै हुन्छ । जोडिएपछि दिशा भिन्नाभिन्नै भयो भने ऊर्जाको क्षरणमात्रै हुन्छ । योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम बिन्दुसम्म पुर्याउनु हो । यसको निमित योग दिशा तथा जोड्नुको सिद्धान्तलाई सँगसँगै लिएर हिँड्ने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनवटैलाई कुनै एउटा निश्चित बिन्दुसम्म एकजुट गर्ने प्रक्रिया हो ।
ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भइरहेको हुन्छ । योगमा मनलाई प्राण (सास)सित सामन्जस्य स्थापित गरिन्छ । परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रूपमा बढी प्रबल हुन जान्छन् अपितु तिनको शारीरिक स्वास्थ्यमा वृद्धि हुने गर्दछ ।
आममान्यता यही रहिआएको छ कि महर्षि पतञ्जलिले नै आधुनिक योगको आधार खडा गरेका थिए तर बृहदारण्यक उपनिषदमा पनि श्वासमाथि नियन्त्रण गर्ने विषयमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाहरूले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आस्वीकार गरेका थिए । वर्तमान अवस्थामा विश्वका चिकित्साशास्त्रीहरू वर्तमानको जीवनशैलीलाई प्रत्येक रोगका कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो ।
बेरोजगार युवाहरूको निम्ति यो एउटा नयाँ अवसर पनि सावित हुन सक्दछ । कठिन परिश्रम गरेर विदेशमा केही सीमित पैसा कमाउनुभन्दा मानसम्मान पाउने गरी काम गर्नुमा के को लाज र संकोच ? योगलाई अन्य धर्मावलम्बीहरूले आत्मसात गरी यसबाट लाभ उठाउन सक्दछन् । भाषा, बोली, पहिरन, पानी, जमिन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभाले आफ्नो प्रस्तावमा भनेको छ ‘योग मानवस्वास्थ्य एवं स्वस्थ जीवनशैलीको बारेमा समग्र दृष्टिकोण व्यक्त गर्दछ । यसबाट हुने लाभको प्रसार विश्वको जनसंख्याको निम्ति कल्याणकारी सावित हुनेछ ।’ संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुनले पनि योग विचार तथा कर्मको उद्भूत सामन्जस्य भएको तथा स्वास्थ्यका लागि आवश्यक भएको बताएका थिए ।
मुनले भनेका छन् योगबाट शान्ति एवं विकासमा योगदान मिल्दछ । यसले मानिसलाई तनावमुक्त गर्दछ । उनले सबै सदस्य देशसँग योगको प्रोत्साहनका लागि सहयोग गर्न अनुरोध पनि गरेका छन् । विश्वका अनेकौं देशहरू तथा विश्वविद्यालयहरूमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योगले शारीरिक स्वास्थ, मानसिक तनावबाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा सक्षम छ । विश्वप्रसिद्ध अमेरिकी बोस्टन विश्व विद्यालयको स्कुल अफ मेडिसिनद्वारा मे २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा प्रतिपादित गरिएअनुसार पुरानो रोग तथा दुर्घटनापश्चात सामान्य हुने तनाव मुक्तिको निम्ति योग निकै प्रभावशाली सावित हुन सक्दछ ।
किनभने योग सेंट्रल नर्भस सिस्टमको आधार मानिएको तन्तिका भेगर्स नर्वलाई प्रचुरमात्रा ऊर्जा प्रदान गर्दछ । त्यसैगरी हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्यजन रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ । योगले एक किसिमको पश्चिमेली मानसिकताबाट प्रभावित तथा कथित आधुनिक सोचको तीन आयामहरूलाई बदलिदिन्छ जस्तो कि पश्चिमेलीहरूको विचारमा शारीरिक समस्याका समाधान बाहिरबाट हुन्छ भने मान्यता राख्दछ जबकि योगले के सिकाउँछ भने यसको समाधान मुख्यतः शरीरभित्रबाट हुन्छ ।
हामीले संघर्ष गरेरमात्रै सुख शान्ति हासिल गर्न सक्दछौँ तर योगको अनुसार प्रकृतिसँग तादात्मय स्थापित गरेर हामी सुख एवं शान्ति प्राप्त गर्न सक्दछौं । मानसिक व्यवस्था कायम गरी रोग स्वस्थ्य रहनका निम्ति रोगको उपचार गर्नुपर्ने मान्यताविपरीत निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोगलाई लाग्न दिनबाट नै धेरै हदसम्म रोक्न सकिन्छ । एक किसिमले योग एउटा यस्तो माध्यम हो जसले विनाधन खर्च गरिकन व्यक्तिलाई स्वास्थ्य प्रदान गर्न सक्दछ । यो समाजका निर्धन वर्गको निम्ति वरदान सावित हुन सक्दछ । योग गरेर हामी पनि निरोगी बनौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच