रविना तामाङ/प्रशिक्षार्थी पत्रकार
काठमाडौं । विश्व अहिले ‘आइटी’ युगमा चलेको छ । संसारको कुनै पनि कुनामा बसेर सारा विश्वलाई हेर्न, बुझ्न वा चलाउन सक्ने प्रविधिहरूको विकास भइसकेको छ । हरेक मिनेटमा नयाँ-नयाँ प्रविधिको परीक्षण भइरहेका समाचारहरूमा सुन्न पाइन्छ । मानिसभन्दा छिटोछरितो र सहज ढंगबाट प्रविधिले काम गरिरहेको छ । अझै पछिल्लो समय त ‘एआई’ले धेरै मानिसहरूको काम सहज बनाइदिएको छ । अर्कोतर्फ ब्रेन-चिप फर्म न्युरालिंकले मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने तयारीसमेत गरिसकेको छ । यो परीक्षण सफल भएमा विश्व अर्को युगमा प्रवेश गर्नेमा दुईमत छैन । तर, नेपालमा भने अझै भोकसँग लड्नुपर्ने अवस्थामा धेरै वर्ग रहेका छन् । यस्तैमध्येका एक वर्ग हुन् रिक्सा चालक ।
वास्तवमा भन्नुपर्दा अहिलेको युगमा रिक्सा विस्थापित नै हुनुपर्ने हो । तर, अझै पनि हजारौं मानिसले यसैलाई आफ्नो रोजीरोटी बनाएका छन् । काठमाडौंमा पनि प्रमुख पर्यटकीय क्षेत्र ठमेल, न्युरोड, वसन्तपुर, महाबौद्धलगायतका क्षेत्रमा रिक्सा देखिन्छन् । बाहिरबाट हेर्दा उनीहरूको कमाइ पनि राम्रै होला भन्ने लाग्छ । तर, उनीहरूको कमाइ होइन पेशा नै संकटमा परेको छ ।
दिनभर यात्रु कुर्दा पनि साँझ खालिहात फर्कनुपर्ने बाध्यतामा अहिले उनीहरू पुगेका छन् । रिक्सा चलाएर आफैंलाई खान नपुग्ने अवस्था आएको उनीहरूको गुनासो छ । ठमेलमा विदेशी कुरिरहेको अवस्थामा अधिकांश रिक्सा चालक भेटिन्छन् तर विदेशी त परको कुरा फाट्टफुट्ट स्वदेशी नै चढे पनि उनीहरूका लागि यो ठूलो कुरा बनेको छ । तर पनि बढ्दो बेरोजगारीका कारण यो पेशामा थपिनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो समय पठाओ, इनड्राइभका कारण पनि आफूहरूको पेशा संकटमा परेको उनीहरू बताउँछन् ।
रामेछापका ४६ वर्षीय विदुत चौलागाईंले काठमाडौंमा रिक्सा चलाउन सुरु गर्नुभएको ३७ वर्ष पुग्यो । कुनैबेला १५ हजारसम्म कमाइ गर्ने उहाँ अहिले दैनिक पाँच सय पनि हातमा नपर्ने बताउनुहुन्छ । वसन्तपुरमा यात्रु कुरेर बस्नुभएका उहाँले भन्नुभयो, ‘पहिलेको समयमा जसरी अहिले रिक्साको प्रयोग कम छ । कोठाबहाल पनि तिर्न मुस्किल भएको छ । घर पठाउनु त टाढैको कुरा भयो । अहिले ६ महिना यहाँ काम गर्छु र ६ महिना घर फर्केर खेतीपाती गरिरहेको छु ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘अहिले खान-बस्नसमेत धौ-धौ परेको छ । रोगले भन्दा भोकले मरिएला भन्ने पिर भइसक्यो ।’
उहाँमात्र होइन यहाँ भेटिएका अधिकांश रिक्सा चालकको गुनासो एउटै छ । पछिल्लो समय रिक्साबाट हुने कमाइ घट्दै गएको उनीहरू बताउँछन् । अधिकांश रिक्सा चालक दिनको १८ घण्टा रिक्सा लिएर डुल्छन्, हरेक रात अनिँदो बसी यात्रुको प्रतीक्षामा हुन्छन् । तर, यात्रु नपाउँदा कहिलेकाहीँ त रिक्सा साहुलाई भाडै बुझाउने पैसा पनि नउठ्ने उनीहरूको दुःखेसो छ ।
इन्द्र चोकमा विदेशी यात्रु पर्खेर बसिरहनुभएका रामेछापकै नैलम थापा मगर घरमा छोराछोरीको पढाइ खर्च र जीविकोपार्जन नै मुस्किल परेपछि कामको खोजीमा काठमाडौं पस्नुपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफ्नो रोजीरोटी नै यही हो, गरे पनि सुख छैन नगरे नि सुख छैन ।’ उहाँ भन्नुहुन्छ, ‘पढाइलेखाइ नभए पनि यहीँ बसेर काम गर्छु भनेर लागियो तर केही आर्जन भने छैन ।’
एकजना पर्यटक पाउँदा रिक्सा चालकबीच नै प्रतिस्पर्धा चल्ने गर्छ । जसले गर्दा आउने पर्यटकसमेत फर्कने गरेका छन् । यस ठाउँमा रिक्सा मजदुरी अझै बढ्दो क्रममा रहेको अर्का चालक रामबहादुर विक बताउनुहुन्छ । उहाँका अनुसार दशैँ, तिहार र जेठदेखि मंसिरसम्म बढी पर्यटक आउने गरेका छन् । कोरोनाको महामारीअघि रिक्सा चालकहरूको दिनमा १५ हजारसम्म कमाइ भए पनि अहिले दिनैभर भोकोपेट बसेर काम गर्दा पनि आम्दानी नभई खालिहात घर फर्कनुपरेको विकले दुःख व्यक्त गर्नुभयो ।
रिक्सा चालकको अर्को पिडा भनेको पार्किङ रहेको छ । केही वर्षपहिले सवारीसाधन कम गुड्ने हुँदा जहाँ पार्किङ गरे पनि समस्या थिएन तर अहिले बढ्दो चापका कारण निश्चित ठाउँमा मात्र बस्नुपर्दा यात्रु पाउन गाह्रो परेको उनीहरू बताउँछन् । नेपालमा गाडी आउनुभन्दा पहिले रिक्साको प्रचलन थियो । तर, अहिले प्रशस्त गाडी हुनाले रिक्सालाई सरकारले विस्थापित गर्न खोजेको उनीहरूको गुनासो छ ।
क्याप्सन ः काठमाडौंको इन्द्र चोकमा यात्रुको पर्खाइमा बसेका रिक्सा चालक ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच