सार्वजनिक सुनुवाइमा सुझावसहित जिज्ञासा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको भुवनपानीमा भएको एक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरुले सुझावसहित जिज्ञासा राखेका थिए । रेसुङ्गा नगरपालिकाले वडा नम्बर-५, भुवनपानीमा आयोजना गरेको “नागरिकसँग मेयर” कार्यक्रम तथा चालू आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रममा यहाँ नागरिहरुले सुझावसहित जिज्ञासा व्यक्त गरेका हुन् ।

त्यस अवसरमा जनसहयोग माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश मरासिनीले नगरपालिकाले सञ्चालन गरेको “नागरिकसँग मेयर” कार्यक्रमलाई प्रभावकारी बनाउन छुट्टै एप्स डेभलप गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नागरिकहरुले घरबाटै आफ्ना गुनासाहरु राख्न मिल्ने गरी व्यवस्था मिलाउन सुझाव राख्नुहुँदै नगरपालिकाले उत्पादनमुखी कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । उत्पादित कृषि उपजहरु बजारीकरणसँगै प्रवद्र्धन गरिदिनुपर्ने उहाँको भनाइ छ ।

स्थानीय थानेश्वर खनालले गाउँकै विद्यालयहरुमा विद्यार्थीहरुलाई अडाई राख्न सवारी साधनको आवश्यकता रहेको बताउनुभयो । स्कुल बसको लागि नगरपालिकाले विशेष पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो । भेषराज फुल्देलले विकास निमार्ण, सडक र खानेपानीमा धेरै लगानी भइसकेका भन्दै कृषकहरुले खोजेको समयमा रासायनिक मल नपाउँदा घरमै कम्पोस्ट मल उत्पादन गर्नका लागि कृिषमा सक्रिय युवाहरुलाई तालिम दिनुपर्ने बताउनुभयो । अनुदानका लागि मात्र कृषि गर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

अर्का स्थानीय गीता थापा क्षेत्रीले पछिल्लो समय प्लस-टु अध्ययनपछि युवाहरु विदेश जाने परम्पराजस्तै बनेकाले अध्ययनसँगै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । स्थानीय देवी खनालले स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरी चप्पल लगायका सामग्री उत्पादन गरेपछि त्यसले बजार नपाएको गुनासो गर्नुभयो । त्यस्तै, सहभागी नागरिकहरुले कृषिमा उत्पादनका आधारमा प्रोत्साहन कार्यक्रम, स्थानीयस्तरमै रोजगारी सिर्जना, ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य जाँचका कार्यक्रम, प्राविधिक शिक्षालाई प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख खिलध्वज पन्थीले स्थानीय नागरिकहरुको सुझावसहितका जिज्ञासालाई सम्बोधन गर्नुहँदै सधैँ आफूहरुले नागरिकलाई केन्द्रमा राखेर काम गरेको बताउनुभयो । आफुहरु निर्वाचित भएर आएपछि नगरपालिकामा समृद्धिको जग निर्माण गरेको भन्दै नगरपालिका भित्रका वडामा अधुरा रहेका योजना तथा कार्यक्रमहरुलाई आगामी दिनमा पुरा गर्दै जाने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?