काठमाडौं । पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा रानाको पद नै धरापमा पर्ने देखिएको छ । उपसभामुख रानाले असम्बन्धित पाँच जनालाई अमेरिका लैजान दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उहाँको पद नै धरापमा पर्ने देखिएको हो । पत्र सार्वजनिक भएसँगै सत्तारूढ दलका नेताहरूले उहाँको राजीनामा माग्न थालेका छन् । नैतिकताका आधारमा उपसभामुखले राजीनामा दिनुपर्ने मात्रै होइन उहाँमाथि अनुसन्धानसमेत हुनुपर्ने सत्ता पक्षको माग छ ।
असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान खोज्ने विषय मानव तस्करीसँग समेत जोडिने उनीहरूको तर्क छ । उपसभामुख पदको चरम दुरुपयोग गरेको निष्कर्षसहित सत्ता पक्षले राजीनामा माग्ने तयारी गरेको हो । कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख रानाले राजीनामा दिनुपर्ने बताउनुभएको छ । आफू नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत रानाको विषयमा उजुरी परेको उहाँले बताउनुभयो । रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिश गरेको आरोप लगाउँदै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिनुभएको हो । उजुरीमा उपसभामुखमाथि छानविन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ ।
स्रोतका अनुसार संवैधानिक परिषद्मा सत्ताअनुकूल संख्या बनाउन पनि रानालाई हटाएर सत्ता पक्षीय सांसदलाई उपसभामुख बनाउने तयारी छ । अहिले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत छैन । रानालाई हटाएर सत्ता पक्षबाट उपसभामुख बनाउँदा परिषद्मा बहुमत पुग्ने सत्ता पक्षको बुझाइ छ । अहिले परिषद्मा विपक्षी दलको नेतामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख राना एक ठाउँमा उभिने अवस्था छ । संवैधानिक परिषद्मा दुई दाहाल र रानासहित प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ ।
दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ को फेब्रुअरी २६ मा लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर छ । उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र बाहिरिएको थियो । पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको नाम लेखिएको छ । तर, यीमध्ये कसैले पनि भिसा पाएनन् । उपसभामुख राना भने भिसा पाएर अमेरिका जानुभएको थियो । जबकि, संसद्का पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्रय मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैँले पत्र लेख्नुभएको थियो ।
आन्तरिक छानविन गर्दै रास्वपा
उपसभामुखले दूतावासलाई लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा छलफल भएको खुलेको छ । उपसभामुख रानाले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र तीन महिनाअघि नै रास्वपामा जानकारीमा आएको थियो । यो विषय पार्टीका एक शुभेच्छुकले संगठन विभागका सचिव शंकर श्रेष्ठलाई जानकारीमा गराएका थिए । त्यसपछि रास्वपाले ती व्यक्ति अमेरिका गए÷नगएकोबारे बुझेको थियो । तर, उनीहरू नगएको पाइएपछि रास्वपाले यसको ‘च्याप्टर क्लोज’ गरेको थियो । तर, पत्र सार्वजनिक भएपछि रास्वपाले फेरि चासो राखेको छ । पार्टीले यसबारे आन्तरिक रूपमा छानविन थालेको हो । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गर्नुभएको छ । उहाँले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताउनुभयो । उपसभामुखमा निर्वाचित हुनुअघि राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुनुहुन्थ्यो ।
पदको गरिमामा आँच आउने काम गरेको छैन : राना
उपसभामुख इन्दिरा रानाले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको दाबी गर्नुभएको छ । आफूले करुणा भावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उहाँको दाबी छ । उपसभामुख भएको अर्को महिना नै अमेरिका जानुभएकी उपसभामुख रानामाथि अनधिकृत व्यक्तिहरू लैजान खोजेको आरोप लागेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गर्नुभएको छ । तर, आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उहाँले भन्नुभएको छ, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’
आफूले लेखेको पत्र मर्यादाअनुरूप भएन भनेर आएको प्रतिक्रियाप्रति आफ्नोे ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ । आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले अगाडि भन्नुभएको छ, ‘तर मैले करुणा भावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’ आफ्नो स्वभावगत कमजोरीको कसैले फाइदा लिएको हुनसक्ने तर, आफूले अनैतिक काम नगरेको उहाँले बताउनुभयो । ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्, तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले विज्ञप्तिमा भन्नुभएको छ, ‘आज जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौँ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहने जानकारी गराउन चाहन्छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच