सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण 

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताउनुभयो ।

हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर-दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।

हाल निर्माणाधीन आयोजना दार्चुला-टिङ्कर ७९ किमी, बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर-बगर-दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी-किमाथाङ्का (च्याम्ताङ-घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाडौं-तराई-मधेस द्रुतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताउनुभयो ।

सेनाले यसअघि सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिञ्चु-जाजरकोट ४५ किमी, बेंसीसहर-चामे ६५ किमी, नाग्मा-गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो ।  काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ-स्याफ्रुबेंसी १७ किमी, जाजरकोट-डोल्पा दुनै ११७ किमी, कालीगण्डकी करिडोर-गुल्मी-बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु-लैफू-सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?