नेपाली राजनीतिमा सरकार परिवर्तन बरोबर हुन्छ । नेतृत्वमा बारम्बार म्याद गुज्रिएकाहरूको एकाधिकार नेपाली राजनीतिमा म्याद गुज्रेका औषधिबाट सधैं हुँदै आएको आलोपालो शासकीय नेतृत्वबाट देश बर्बाद भयो । एउटा असफल प्रमाणित हुन्छ । अर्को भूतपूर्व असफल अझ भन्नुपर्दा अर्को म्याद गुज्रिएको औषधि फेरि नेपाली राजनीतिमा उपचारको रूपमा प्रयोग हुन्छ । यो क्रम तीसौं वर्षसम्म चल्दै आएको छ । जुन रोगको अन्त्य राजनीतिले खोजेको छ समस्या समाधान भन्दै फेरि म्याद गुज्रेको अर्को नेता शासकीय जिम्मेवारीमा आउँछ । यो निराशाजनक उपचारको चक्रब्यूहबाट नेपाली राजनीति कहिले उम्कन सक्छ ? मतले नेतृत्व परिवर्तन हुने विश्वव्यापी मान्यता नेपाली परिवेशमा किन सधैं असफल प्रमाणित हुन्छ ?
बारम्बार उनै म्याद गुज्रिएका औषधि निर्वाचित हुन्छन् । यो नियमित आकस्मिकता र आश्चर्यले नेपाली जनताको भाग्य र भविष्य सधैं अन्धकार उन्मुख छ । कुर्सीमा बस्नेले अघिल्लो शासकलाई खराब भन्छ । ऊ फेरि खराबबाहेक असल शासक बनेको अनुभव नेपाली जनतासँग छैन । परिवर्तन फगत परिवर्तनका लागि । एउटा भ्रष्टको ठाउँमा अर्को भ्रष्ट । तीसौं वर्षसम्म सबै पार्टीहरूमा एकल नेतृत्व । पार्टीहरूबीच सिद्धान्त फरक-फरक छन् भन्छन् । सबै भ्रष्टाचार, कुशासन, विलासिता, शक्ति, ढुकुटीको दुरुपयोग र नातावादमा सिद्धान्तनिष्ट छन् । प्रधानमन्त्री हुने मानिस छ/आठ महिनामा फेरिन्छ । सबैको प्रवृत्ति र शैली भने उस्तै । कस्तो अचम्म ! कस्तो विडम्बना ! कस्तो दुर्भाग्य !
पदासीन हुनुभनेको उसको आकांक्षा पूरा गर्न हो न कि देश र जनताको आकांक्षा पूरा गर्न । तीसौं वर्ष प्रयोग भएका पुरानाहरूको शासनले नेपाली जनता वाक्क दिक्क छन् । तिनै पुरानाहरू फेरि परिवर्तनको नयाँ नारा दिँदै किन पदासीन हुन्छन् ?
जति जोगी आए कानै चिरेका । जति प्रधानमन्त्री फेरिए पनि प्रधानमन्त्रीको पदमा आसीन पूर्वभ्रष्ट फेरि निस्कँदा नयाँ भ्रष्टाचारको काण्ड थपेर बाहिरिन्छ । प्रधानमन्त्री नै जनताको दुष्ट भएपछि जनतालाई सधैं कष्टैकष्ट छ । हिजो पटकपटक देशको सर्वोच्च शासक हुँदा के राम्रो काम भयो ? हालसम्म प्रधानमन्त्री भएकाहरूसँग राम्रो कामको फेरिस्त पेश गर्ने आँट छ ? किमार्थ छैन् । जसले राम्रो काम गर्न सकेन भनेर प्रमाणित भइसकेको छ फेरि त्यही व्यक्ति पटकपटक किन प्रधानमन्त्री हुन्छ ? के भ्रष्टाचार गर्ने उनीहरूको आकांक्षा पूरा नभएकाले पुनः प्रधानमन्त्री हुनपरेको हो ? कुनै पनि मानिस देशको आवश्यकताका कारणले राष्ट्रपति र प्रधानमन्त्री भएकै छैन ।
पदासीन हुनुभनेको उसको आकांक्षा पूरा गर्न हो न कि देश र जनताको आकांक्षा पूरा गर्न । तीसौं वर्ष प्रयोग भएका पुरुनाहरूको शासनले नेपाली जनता दिक्क छन् । तिनै पुरानाहरू फेरि परिवर्तनको नयाँ नारा दिँदै किन पदासीन हुन्छन् ? यो अति भयो । पदासीन हुनेलाई लाज छैन् तर नेपाली जनतालाई अहिले प्रधानमन्त्री को भयो भन्न पनि लाज हुन्छ ।
सत्य बक्ने कुनै एकजना के यो संसद्मा निर्वाचित/मनोनीत भएको छैन् ? भ्रष्टाचार, अनियमितता, नातावाद कृपावाद र विलासी जीवन र भ्रष्टाचारका फुली आजका मितिसम्म भएका सबै प्रधानमन्त्रीहरूले निर्लज्ज भिरेका छन् । यिनीहरूको मिलोमतोमा नेपाली जनताले अभाव, गरिबी, प्राकृतिक र मानवीय बिपत्ति सधैं झेल्नुपरेको छ । सबैले कुनै न कुनै भ्रष्टाचार काण्डको पगरी गुथेका छन् । केही दिन सत्तामा बसे भने भ्रष्टाचारको नयाँ पगरी गुत्दैनन् भन्ने ग्यारेन्टी छैन ।
कांग्रेसले मन्त्री छान्ने दुई आधार समावेशी र क्षेत्रीयता भनेर फर्मान जारी गर्यो । नियुक्तिमा भने भ्रष्टाचारसँग दह्रो साइनो हुनेहरू र नेताका श्रीमती छानिए । योग्य र सक्षमहरूले अवसर पाउने कहिले ? प्रधानमन्त्री नै कुनै न कुनै काण्डमा मुछिएको जब छानिन्छ उसको प्राथमिकतामा भ्रष्टहरू पर्ने स्वाभाविक भयो । सबै पार्टीहरूमा भ्रष्ट, अयोग्य र अक्षमहरूकै हालिमुहालीका कारण स्वर्ग जस्तो देशलाई आज भ्रष्टहरूले नर्क बनाए । खाद्यान्न निर्यात गर्ने देश आज जनशक्ति निर्यात गर्ने र खाद्यान्न आयातमा निर्भर छ । राणाकाल जस्तै चाकरी र चापलुसेहरूले अवसर लुट्दै आएकाले यी चाकर र चापलुसेहरूले देश लुटे र जनताको भाग्य भुटे ।
नेपाली राजनेता भनिनेहरूको सूक्ष्म अध्ययन गर्ने हो भने यिनीहरूमध्ये कोही पनि जनताले मालाले सम्मान गर्ने हैसियतको काम कोहीबाट भएको छैन । हालसम्म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुनेहरूले राष्ट्र र जनताको हितमा के उल्लेखनीय काम गरेका छन् ?
खाद्यान्न भुटेपछि उम्रँदैन त्यस्तै नेपालीको पनि भाग्य यिनीहरूले भुटेका कारण खाडीका देशहरूमा र मलेसिया जस्ता देशहरूमा श्रम गर्न जाँदा पनि पलपलमा ठगिएका छन् । के ठगिनु, अपहेलित हुनु, शोषित, गरिब हुनु नेपालीहरूको नियति हो ? पढ्दै कमाउँदै कार्यक्रममा छोरालाई उज्यालो भविष्यको कल्पना गरेर इजरायलमा पठाउने परिवार छोराको मरेबाँचेको खबरसम्म नपाएर छट्पटीमा छ तर सरकार यति निम्छरो छ उसको विषयमा तदारुकताका साथ खोजतलाससम्म गर्न सक्दैैन । अलिकति लाज त मान तिमीले देश र जनताको पक्षमा जनताले सम्झने काम भ्रष्टाचार बाहेक केही गरेका छौँ ?
यिनीहरूको गठबन्धनले प्रधानमन्त्री छान्ने ढंग र कांग्रेसले मन्त्री छान्ने आधारलाई हेर्दा र पढ्दा यिनीहरूको चेत र होस् अझै फर्केको छैन । आफूले गरे गठबन्धन हुने अर्काले गर्दा ठगबन्धन । आफ्नो अनुकूलतामा ७६ (२) बाट ७६ (३) मा जाने । आफ्नो स्वार्थका लागि ७६ (२) नै सधैं उपयुुक्त भन्ने दलिल निर्धक्क दिने । यो द्वैध चरित्र र विचारले तिम्रो इमानदारी तिमीले नै लिलाम गरेको विषयमा थप केही भन्नु छ ? अब तिमीहरूले विकासको पक्षमा र भ्रष्टाचारको विरुद्धमा भाषण नगर । तिम्रो व्यवहार, कार्यशैली, आचरणले भ्रष्टाचारको विरोध गर्न र विकास र सुशासनको शब्दसम्म उच्चारण गर्न सुहाउँदैन ।
देशको बागडोरको अधिकार धेरैपटक र धेरै समय लिएको पार्टीले देशको आर्थिक सामाजिक र राजनीतिक अवस्था दिनप्रतिदिन खस्केको जिम्मेवारी बोध गरेर सांसदबाट प्रधानमन्त्री र मन्त्रीहरूको छनौट गर्दा सक्षम, क्षमतावान र संसद्मा भिजनरी व्यक्तिहरूको छनौट गरेर वर्तमान राजनीतिक क्षेयीकरणबाट देशलाई उठाउने कामको थालनी गर्नुपर्नेछ । चितवन दुईको निर्वाचनबाट र तनहुँ एकको निर्वाचनको परिणामबाट कांग्रेस र एमालेले सिकेको पाठ यही हो ? सधैँ एउटा भ्रष्ट र टेस्टेड नेतृत्वलाई विस्थापित गरेर फेरि अर्को भ्रष्ट र टेस्टेड नेतृत्वलाई पदस्थापन गर्ने परिवर्तन नेपाली जनतालाई मान्य छैन । गठबन्धन पनि सधैं भ्रष्टहरूका बीच । आफू सामेल भए गठबन्धन र आफू सामेल हुन नपाए ठगबन्धन भन्ने चरित्र सबै भ्रष्टहरूमा देखियो । बीस सिटमा निर्वाचन जित्नेले पाँचै वर्ष प्रधानमन्त्री खान्छु ।
हामीसँग जादुई नम्बर छ भन्ने र आफूलाई दूरद्रष्टा ठान्नेहरू पाँचै घण्टमा विस्थापित भए । हिजो रवि लामिछानेलाई सहकारी ठग भन्नेहरूले मन्त्री बनाउँदा रवि लामिछानेले भ्रष्टाचारमा कारबाही गर्न तयार भएकामध्ये नियुक्त गर्दा संसद्मा दन्त बझानबाहेक वर्तमान गठबन्धनको पनि अर्को कुनै उपलब्धि हुनेछैन ।
अब ओली, देउवा, दाहाल र पौडेलहरूले नै फेरि पनि पालैपालो नेतृत्व गर्ने हो भने उनीहरूले नेपाललाई संसारकै भ्रष्टाचार र कुशासनको केन्द्र बनाउँछन् । के देशलाई त्यो अवस्थामा पुर्याउन खोजिएकै हो ? पालैपालो अक्षम र भ्रष्टहरू सत्तारुढ हुने महामारी रूपी रोगको अन्त्य के नेपालमा सम्भव छैन ? संसारका देशहरूको विकास हेर्दा, पढ्दा र सुन्दा नेपालीहरूलाई दन्त्य कथाको अनुभूति हुने रोगको अन्त्य कहिले ? यहाँ चित्र हेरेर यिनीहरूको चरित्रको बयान गरिएको होइन बरू यिनीहरूको विगतको चरित्रका आधारमा यी पात्रहरूको चित्रको वास्तविक चरित्रको बयान गरिएको हो । हे भगवान म्याद गुज्रिएका औषधिहरू नेपाली राजनीतिमा कहिलेसम्म प्रयोग भइरहने ?
संसारका अन्य मुलुकहरूमा म्याद गुज्रिएका औषधि प्रतिबन्धित हुन्छन् । तर, हाम्रो राजनीतिमा सबै पार्टीहरूबाट नेतृत्व गर्ने राजनीतिमा म्याद गुज्रिएका औषधिको मात्रै किन बिगबिगी देख्न, सुन्न र भोग्नुपर्छ ? अहिलेसम्म राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री हुनेहरूले आफू, आफ्नो परिवार र नातागोता र गुटको हितबाहेक देश र जनताका लागि के गरे ? फेरि तिनै असफलहरूको नेतृत्वमा सरकार किन ? यो नेपाली जनताको प्रश्नको उत्तर दिने हैसियत हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरूसँग छ ? किमार्थ छैन । यसभन्दा जबर्जस्त असफलता र अक्षमता के हुनसक्छ ? व्यवस्थामा भएको परिवर्तनले विगतमा नेतृत्व गर्नेहरू जो–जोले आफ्नो र आफ्नाको अवस्थामा परिवर्तन भ्रष्टाचारबाट गरेका छन् ती सबै छानबिनको घेरामा पर्छन् । पालैपालो शासन गर्ने भ्रष्टाचारीहरू सबैको सम्पत्ति राणाहरू र शाहहरूको जस्तै राष्ट्रियकरण हुने दिनको पर्खाइमा छन् नेपाली जनता ।
Till now chandra bhandari has been seen as a best m p.pradip giri in the previous parliament was an incomparable person. Non of others are seen in the satisfactory role.