हेटौंडास्थित बालसुधारगृहका ६६ बालक शिक्षाबाट बञ्चित

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 5 mins

हेटौंडा । विभिन्न अपराधका घटनामा दोषी ठहर भएका र पुर्पक्षमा रहेका बालबालिकालाई राख्ने गरिएको हेटौंडा-११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा रहेका ६६ जना बालबालिका शिक्षा पाउनबाट भने बञ्चित रहेका छन् । नेपाल सरकारले बाल सुधार गृहमा रहेका बालकहरुको लागि शिक्षाको छुट्टै व्यवस्था गर्न चासो नदिँदा उनीहरु शिक्षाको अधिकारबाट बञ्चित भएका हुन् ।

थानाभर्‍याङस्थित बालसुधारगृहमा १३ वर्ष देखि १८ वर्ष उमेरसम्मका ६६ जना बालक रहेका छन् । महिला बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको मातहतमा २०७५ सालबाट मकवानपुरमा उक्त बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो । सुधारगृहमा रहेका बालकहरुका लागि शिक्षाको व्यवस्था गर्न पहल भइरहेता पनि संरचनाको साथै शिक्षकको व्यवस्था समेत मिलाउन अप्ठेरो परेको बाल सुधार गृहका खरदार सर्वण कुमार पुडासैनीले बताउनुभयो । विभिन्न उमेर समूहमा रहेका बालकहरुलाई कुन स्तरको शिक्षक ल्याउने र उनीहरुको पढाईलाई कसरी उमेरगत र कक्षागत रुपमा मिलाउने भन्ने विषय चुनौतीको रुपमा रहेको पुडासैनीको भनाइ छ ।

बालसुधार गृहको क्षमता भन्दा झन्डै दोब्बर बालकहरु राख्दा सास्ती समेत खेप्नु परेको छ । ३५ जनाको क्षमता भएको उक्त गृहमा ६६ जनालाई राखिएको बाल सुधार गृहका खरदार पुडासैनीले बताउनुभयो । १८ वर्ष नाघेकालाई छुट्टै व्यवस्था गर्न नसक्दा समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

चितवन र मकवानपुरको राख्ने भनी बनाइएको भएता पनि अन्य जिल्लाकोसमेत राख्न पर्दा क्षमता भन्दा बढी बालक राख्न पर्दासमेत भएको उहाँले बताउनुभयो । अन्य गृहको तुलनामा भने हेटौंडाको बालगृहमा कम बालकहरु रहेको उहाँको भनाइ छ । केही परिवार विहीन बालकहरुसमेत बालगृहमा रहेको उहाँले बताउनुभयो ।

बालगृहमा रहेका ६० जनाको बिमासमेत गरिएको र हेटौंडा हस्पिटल स्थित ओसिएमसीले उपचारको लागि सहयोग गरिरहेको पुडासैनीले जानकारी दिनुभयो । सुधार गृहमा रहेका बालकहरुका लागि सामाजिक बिकास मन्त्रालय मार्फत् विभिन्न तालिमको समेत व्यवस्था गर्ने गरेको छ । बाल सुधार गृह हेटौंडाले दिएको ०८१/०४/ ०९ गते सम्मको तथ्यांक अनुसार जबर्जस्ती करणीमा ४६ जना, कर्तव्य ज्यानमा ३ जना, लागुऔषध ६ जना, डाका ३ जना, सवारी ज्यान २ जना, जबर्जस्ती करणी, ज्यान मुद्दा १ जना, अप्राकृतिक मैथुन १ जना, नकवाजनी चोरी र आपराधिक उपद्रो १ जना, अपहरण/शरीर बन्धक र जबर्जस्ती करणी १ जना, चोरी १ जना र लागुऔषध / चोरी १ मुद्दाका गरी जम्मा ६६ जना रहेका छन् । सबै भन्दा बढी जबर्जस्ती करणी मुद्दा लागेका बालकहरु छन् । तथ्यांक हेर्दा पछिल्लो समय बाल अपराधहरु बढ्दो देखिन्छन् ।
तथ्यांकअनुसार सुधारगृहमा सबैभन्दा बढी १८ वर्ष उमेर समुहका २४ जना छन् भने १६ देखि १८ वर्ष उमेर समुहका १३ जना, १४ देखि १५ उमेर समुहका ८ जना र १४ वर्ष मुनिका १ जना रहेका छन् । तथ्यांकअनुसार मकवानपुरका १४ जना कैद फैसला सुनाएका, १० जना पुर्पक्षका लागि रहेका छन् । त्यस्तै चितवनको ८ जना कैद, ७ जना पुर्पक्ष, काठमाडौका १ जना कैद, उदयपुर १ जना कैद, पर्सा १ जना कैद, तेह्रथुम ३ जना कैद, इलामका ६ जना कैद, महोत्तरी २ जना कैद र ८ जना पुर्पक्ष, धनुषा १ जना, सर्लाही २ जना र सिराहाका १ जना रहेका छन् । तथ्यांक हेर्दा सबैभन्दा बढी मकवानपुर र चितवनका बालकहरु सुधारगृहमा छन् ।

उक्त बालगृहमा बालकहरुका लागि लाइब्रेरीसहित ५ वटा कोठा रहेको छ भने ८ जना सुरक्षाकर्मी रहेका छन् । देशभर गरी ९ वटा बाल सुधार गृह रहेका छन् । ९ वटा बालगृह मध्ये भक्तपुर र विराटनगरको बालगृहमा भने सामुदायिक विद्यालयनै संचालन गरिएको छ । विद्यालयमा १० सम्म पढाई हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?