सडकको दुरावस्थाका कारण ढोरपाटन पुग्नै सकस

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । यति बेला ढोरपाटन क्षेत्र हरियालीमय छ । उपत्यकासहित चारै तिरका पहाडले आगन्तुकलाई स्वागत गरि रहेका हुन्छन् । अझ समथर मैदानमा फुलेका रंगीन फूलले बास्ना छरिरहेका छन् । प्रकृतिको स्वादनका लागि यो याममा ढोरपाटन धेरै पर्यटक पुग्ने गर्छन् । तर यहाँ पुग्ने सडकको हालत भने बेहाल छ । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारदेखि उकालो लाग्ना साथ पर्यटकले सास्ती पाउन थाल्छन् । ढोरपाटन पुग्नका लागि राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी-ढोरपाटन सडकको प्रयोग गर्नु पर्छ । यस बाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन् ।

बुर्तिबाङदेखि ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ । सरकारले दुई वर्ष अगाडि यस सडक खण्डको करिब २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि हालसम्म काम हुन सकेको छैन । निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिन्छ । यद्यपी यो बेला चारै तिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन् । सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा ढोरपाटन पुग्न सक्दैनन् । बुर्तिबाङदेखि बोबाङ गाउँसम्मको सडकमा जसोतसो यात्रा गर्न सके पनि त्यसभन्दा माथि यात्राका लागि निकै कठिन छ ।

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्नै सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्द छन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा अलपत्र पर्ने गरेको ढोरपाटन नगरपालिका-९ का गमबहादुर पुनले बताउनुभयाे । हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा संचालन हुन नसक्ने भन्दै बर्खामा अझ बढी समस्या हुने उहाँको भनाइ छ । ट्रयाखुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नतीको काम हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीयवासीले भोग्नु परेको पुन बताउँनुहुन्छ ।

“ढोरपाटन घुम्ने भनेर टाढा-टाढाबाट पर्यटकहरु आउँछन्, बाटोको हालत खराब छ, कोहीको गाडी बिग्रिन्छ, कोहीको मोटसाइकल बिग्रिन्छ, बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्,” पुनले भन्नुभयाे - “राज्यको ध्यान नगएको होकी, ठेकदारले अटेरी गरेको केही बुझ्न सकेको छैनौँ, ढोरपाटनमा आलु, स्याउ धेरै उत्पादन हुन्छ बजारमा पुर्‍याउनका लागि सहज बाटो नहुँदा धेरै ढुवानी तिर्नु पर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौँ ।”

तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि.सं. २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका-१० गङ्गरे, निसीखोला गाउँपालिका-७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो । सम्झौता मिति सकिदा जम्म ३० प्रतिशत मात्रै काम भएको सालझण्डी-ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अञ्जु परियाले जानकारी दिनुभयाे ।

आयोजना कार्यालयले बुर्तिबादेखि फल्लेघरसम्मको सडक स्तरोन्नतीका लागिस्वच्छन्द/ओम बुद्ध जेभीसँग ३० महिनामा सक्ने गरि २५ करोडको सम्झौता भएको उनको भनाइ छ । सडक स्तरोन्नतीको काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्यादनै सकिएको उहाँले बताउनुभयाे । निर्माण कम्पनीले आगामी पौष मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै त्यस समयमा नसके सम्झौता रद्ध गर्ने प्रमुख परियार बताउँनुहुन्छ ।

उहाँले भन्नुभयाे - “निर्माण कम्पनीले सुरुको चरणमा तीव्र गतिमा काम गरेको थियो, तर पछिपछि कामनै गरेन, कार्यालयले नियम कानुन अनुसार पत्र लेख्ने, ताकेता गर्ने गरि रहेका छौँ, गर्छु भन्छ तर गर्दैन, पुससम्म म्याद थप गरेको, त्यस बेलासम्म काम गर्न सकेन भने ठेक्का तोडिन्छ, निर्माण कम्पनीले काम गरेको करि एक करोड रुपैयाँ झुक्तानी गर्न सकि रहेका छैनौँ, बजेट पनि कम परेको थियो ।”

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) सडक समयमै नबन्दा ढोरपाटनका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताउनुभयाे । निर्माण कम्पनीलाई समयमै काम सक्नका लागि पालिकाले सघाउँदा पनि काम नगरेको उहाँले गुनासो पोख्नुभयाे । संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै समय-समयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आएको कायत बताउँनुहुन्छ । सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?