मकवानपुर । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका १० वटा विद्यालयलाई सर्वोत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ ।
बुधबार शिक्षा दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा २०८० सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने ५ वटा सामुदायिक तथा ५ वटा संस्थागत विद्यालयलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।
उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले शिक्षालाई प्रमुख महत्वका साथ हेरेको बताउनुभएको छ । केही सामुदायिक विद्यालयहरुले निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको सन्दर्भ राख्दै लामाले भन्नुभयो, ‘अभिभावक, शिक्षक र विद्यार्थी सबै लागिपरेर गरेपछि सफल हुँदो रहेछ त । अब अहिले कतिपय ठाउँमा त सामुदायिकमै विद्यार्थी भर्ना गर्न पनि सोर्स लगाउनुपर्ने सम्म भैसकेको छ ।’
मुख्यमन्त्री लामाले संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्दै सबै सामुदायिक विद्यालयहरुलाई पनि संस्थागत विद्यालयहरु जत्तिकै सक्षम बनाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो । उहाँले सम्मानित भएका उत्कृष्ट विद्यालयबाट सकारात्मक उर्जा लिएर अरु विद्यालयहरु अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
३५ जनाभन्दा बढी विद्यार्थी परीक्षामा सम्मिलित गराई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरुलाई प्राप्त औसत जिपिएका आधारमा प्रथमदेखि पाँचौ स्थानमा आउन सफल उत्कृष्ट ५/५ वटा विद्यालय छनौट गरिएको निर्देशनालयका महानिर्देशक दिपेन्दै सुवेदीले जानकारी दिए । सम्मानित हुनेहरुमा सामुदायिकतर्फ भक्तपुरको मेधा माध्यमिक विद्यालय प्रथम, काठमाडौंको बलम्बु माध्यमिक विद्यालय द्वितीय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय विदुर तृतीय, काठमाडौंको तरुण माध्यमिक विद्यालय बालाजु चौथो र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल पाँचौँ भएका छन् । यस्तै संस्थागततर्फ ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार, रिलायन्स इन्टरनेसनल एकेडेमी कपन, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्ण, शाङ्करी स्कुल छाउनी र माउन्ट ग्लोरी इङ्ग्लिस बोर्डिङ हाइस्कुल चागल पहिलोदेखि पाँचौँ स्थानमा पुरस्कृत भएका छन् । पुरस्कृत पाँचैवटा संस्थागत विद्यालय काठमाडौंका हुन् । पहिलोदेखि पाँचौँ स्थानमा आउने विद्यालयहरुले क्रमशः नगद १ लाख, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
सोही कार्यक्रममा ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कृत गरिएको छ । बागमती प्रदेशभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच भएको निबन्ध लेखन प्रतियोगितामा बाँसबारी माध्यमिक विद्यालय काठमाडौंकी कक्षा १० कि छात्रा स्मृति चौलागाईँ प्रथम भएकी थिइन् । यस्तै स्याउरी भुमे मावि शिवपुरी, नुवाकोटकी सुमना बुढाथोकी द्वितीय र भालेश्वर माध्यमिक विद्यालय पनौती, काभ्रेपलाञ्चोककी अविना कार्की तृतीय भएकी थिइन् । विजेताहरुले क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच