काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबारदेखि विद्युत् उत्पादन बन्द गरिनुका साथै बाँधका सम्पूर्ण ढोका खुला गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर(कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
पानीको बहाव उच्च भएपछि शुक्रबारदेखि विद्युत् उत्पादन बन्द गरिनुका साथै बाँधका सम्पूर्ण ढोका खुला गरिएको प्राधिकरणले जनाएको छ ।
आयोजना प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेकोे बताउनुभयो । पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उहाँले बताउनुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा र लेदो थुप्रिएको छ । हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
गौतमका अनुसार तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । हाल तामाकोशी नदीको बहाव बाँधस्थलमा चार सय ६१ क्युमेक छ । प्राधिकरणसँगको विद्युत् खरिदबिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव दुई सय ५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्नेछ । शुक्रबार दिउँसो चार बजेपछिबाट पानीको बहाव दुई सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ सात बजेदेखि विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको थियो ।
उपत्यकाका आधा क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध
अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पु¥याउँदा आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाका आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकोमा शनिबार करिब दुई सय मेगावाटमात्र रहेको उहाँले बताउनुभयो ।
बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धि, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैरीधारा फिडर बन्द छ भने टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् ।
नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । प्रवक्ता घोषले विद्युत् आपूर्ति जति सक्दो छिटो सुचारु गर्न टोली खटिएको बताउनुभयो तर धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन सञ्चालनमा अप्ठ्यारो भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
कुलेखानी जलाशय भरियो
अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जान थालेपछि शनिबार बिहान बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिकरूपमा खोलिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृह निरन्तररूपमा पूर्ण क्षमतामा चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।
जलाशयमा पानीको तह समुन्द्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिकरूपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्णरूपमा खोल्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा सो वरवर क्षेत्रका स्थानीय बासिन्दालाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच