
यस वर्षको मनसुन निख्रिँदो अवस्थामा छ तर यसले अझै बढी क्षति पुर्याइरहेको छ । अहिलेसम्ममा असोजको आधाआधि समय बित्न लागेको छ । एक प्रकारले भन्ने हो भने काठमाडौंमा हिउँदका संकेतहरू देखिनुपर्ने थियो तर मध्यबर्खाको भान पार्नेगरी निरन्तर पानी परिरहेको हुनाले यसो हुन सकेको छैन । यो समय दशैँको पूर्वसन्ध्या पनि हो तर अबको १५ दिनपछि आउने दशैँमा पनि यसरी नै पानी परेर हिले दशैँको पीडा भोग्नुपर्ने हो कि भन्ने चिन्ताले सबैलाई सताइरहेको छ । केही व्यक्तिहरूले यस्तो बताउँदै पनि आएका छन् । तीन दिनदेखिको निरन्तरको वर्षा अब कति दिनसम्म लम्बिन सक्ला र भनेर यसको बिदो हुने समयको प्रतीक्षामा रहेका केही व्यक्तिहरूले आफू सुरक्षित ठाउँमा रहेर ढुक्क भइरहेका भए पनि खोला र पहिराको त्रास हुने ठाउँका बासिन्दाहरूका लागि भने प्रत्येक क्षण त्रासपूर्ण भइरहेका छन् ।
साउन वा भदौको मध्यबर्खामा जसरी निरन्तर परिरहेको पानी एकातिर आश्चर्यको विषय बनिरहेको छ भने अर्कातिर यसको क्षति मूलबर्खाको भन्दा अझै बढी नै देखिएको छ । उपत्यकाबाहिरबाट काठमाडौं उपत्यका आउने राजमार्गहरू पहिरोका कारण अवरुद्ध भइरहेका छन् । बीच बाटोमै गाडीहरू रोकिएका छन् । यात्रीहरू बाटाबाटामै अलपत्र पर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले केही दिन लामो यात्रा नगर्न नागरिकहरूलाई आग्रह गरेको छ । सरकारले जरुरी काम परेको अवस्थामाबाहेक यात्रामा ननिस्कन र केही दिनसम्म लामो दूरीका गाडीहरू नचलाउन पनि आग्रह गरेको छ । यसबाट जलउत्पन्न प्रकोप भयग्रस्त अवस्थामै उत्पन्न भएको कुरा स्पष्ट हुन आउँछ ।
यो सरकारको निर्देशनबाट मात्र होइन सर्वसाधारणले पनि महसुस गरिरहेकै छन् । देशका सबै भागमा बाढीपहिरोले क्षति पुर्याइरहेको छ भने खोला तथा नदीहरूमा बाढी आएको छ । पानीको सतह प्रायःजसो नदीहरूमा खतराको बिन्दुबाट माथि आएको छ । अन्य स्थानहरूको कुरा अलग भइगयो, काठमाडौं उपत्यकाभित्रै पनि धेरै ठाउँहरू जोखिममै छन् । यहीँ पनि मानवीय क्षति भएको छ र उपत्यकाबाहिरबाट पनि यस्ता खबरहरू आइरहेका छन् । उपत्यकाभित्रै पनि खोला नालाहरू धेरै छन् । बागमती, विष्णुमती, मनोहरा, धोबीखोलालगायत सानातिना खोला खोल्साहरूबाट खतरा उत्पन्न हुने अवस्था छ । मानिसहरूले खोला सेपेर घर बनाएका कारण खोलामा पानीको परिमाण वृद्धि हुनासाथ त्यो पानी खोलामा नअटेर भरिएर बाहिर आएपछि त्यसले सडक, गाडी तथा मानिसहरूको आवागमनमा समेत अप्ठ्यारो अवस्था सिर्जना गरिदिने गर्छ । अहिले पनि त्यस्तै भइरहेको छ ।
उपत्यकाभित्रै पनि यस वर्षाले मानवीय क्षति पुर्याइसकेको छ । यस्तो अवस्थामा सतर्कता र सावधधानी नै यसको प्रमुख उपाय हो । मौसम विज्ञान विभागले आजसम्म मौसम प्रतिकूल भइरहने पूर्वानुमान गरेको छ । यस अवधिसम्म सबैले सावधानी अपनाउनुको विकल्प रहँदैन । बुद्धिमत्तापूर्ण कार्य पनि यही हुनेछ । विशेषगरी नेपालका विभिन्न ठाउँहरू भौगोलिक बनावटका आधारमा पनि बाढी पहिरोको जाखिममै पर्ने खालका छन् । पहाडी भू-भाग र कमलो माटो भएका कारण यो यसै पनि संवेदनशील छँदैछ भने यसको दक्षिणतर्फ ढल्किएको अवस्थितिले गर्दा पहिराको जोखिम बढ्नु स्वाभाविक हो । यसैगरी नेपालमा धेरै संख्यामा नदीनालाहरू रहेको कारणले तिनको आसपासका बस्ती सधैँ जोखिममै रहने गर्छन् ।
माथिको पहाडी भू-भागबाट झर्ने पहिरो तल नदीमा आएर मिसिन्छ र पहिरोसँगै आएका ढुंगो, माटो, गेगर, रूखबिरुवाहरू नदीमा मिसिएपछि नदीको सतह बढेर दायाँबायाँका बस्तीहरूमा क्षति पुर्याउने गर्छ । नदी सभ्यताका रूपमा विकसित बन्दै आएका नेपाली बस्तीहरू तिनै नदीहरूको दोहन गरेर आफ्ना आधारभूत आवश्यकताको परिपूपर्ति गर्दै आएका छन् । यसो गर्दा नदीहरूको बगाव बिथोलिन पुगेर तिनै बस्तीहरूमाथि प्रहार गर्न पुग्छन् र तिनले बर्खभरि त्रासको जीवन बिताउनुपर्ने हुन्छ । बर्खाभरि भिजेर गलेको माटोलाई हालको मनसुनको अन्तिम हुने बेलाको वर्षाद्ले अझै गलाएर पहिरो चलाउने र पहिरोसँगसँगै बाढी आउने भएको हुँदा हालको अवस्था अझै जोखिमपूर्ण बन्न पुगेको हो ।
हिमाली र पहाडी क्षेत्रदेखि लुँडी परेर आउने पहिरो र बाढी दक्षिणतिरको समथर क्षेत्रमा पुगेर फैलिन जाने भएकोले गर्दा तराई क्षेत्र डुबानको चपेटामा पर्न जान्छ । यसरी हाम्रो देशको भौगोलिक बनोटका कारणले पहिरो, बाढी र डुबान यी तीनै प्रकारको खतराको चपेटामा वर्षेनी पर्दै आएको छ । यो भौगोलिक र प्राकृतिक कारण हामीले टारेर टर्ने होइन तर सतर्कता अपनाएर यसको जोखिम कम गर्न सकिन्छ । यसको प्रभावबाट आफू जोगिन सकिन्छ । सावधानी सरकारले पनि अपनाउनुपर्ने हुन्छ र नागरिकहरूले पनि अपनाउनुपर्छ । सरकारका तर्फबाट नागरिकहरूका लागि निर्देशनहरू आइसकेका छन् ।
सरकारका यस्ता निर्देशनहरू पालन गर्नु नागरिकहरूको पनि दायित्व हो किनभने यस्ता निर्देशन सरकारले नागरिकहरूकै सुरक्षा र हितका लागि हो । यही बर्खामा त्रिशूलीमा बस खसेर बेपत्ता भएको दृष्टान्त छँदैछ । त्यस बेलाको जस्तो नहोस् भनेर नै सरकारको यस्तो निर्देशन आएको हो । त्यसकारण यो झरी बिदो नहुन्जेलसम्म सरकारको निर्देशन पालना गर्दै लामो दूरीका बसहरू नचलाउनु र अति आवश्यक काममा बाहेक यात्रा नगर्नु उचित हुन्छ । यो सबैको हितका लागि हो । यसतर्फ सबै जना सचेत हुनैपर्छ र सरकारको निर्देशन पालनाका लागि मात्रै होइन आफ्नो सुरक्षाका लागि हो भन्ने ठानेर सतर्क रहनु जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच