
विमल भौकाजी
नेपाली साहित्यको फाँटमा आजका ब्यस्त पत्रकार राजेश खनालको संस्मरणात्मक सङ्ग्रह ‘घुरको धुवाँ’का बारेमा डा. राजेन्द्र विमलले भनेका निचोड हो यो ‘मधेसको अलबम’ । अर्थात्, यसबाट अलबम तस्वीरहरूको मात्रै हुँदैन, अक्षरहरूको पनि हुन्छ भन्ने अर्थ लाग्छ । तुलनात्मक रूपले बाल्यापनको समयावधि थोरै हुन्छ । तर, स्मृतिको रूपमा हामीलाई त्यो समय निकै लामो लाग्छ । वास्तवमा बाल्यावस्था जिन्दगीको अनमोल अवस्था हो । त्यसको सम्झनामा मानिस यौवनकालमा मात्रै होइन वृद्धावस्थामा समेत रोमाञ्चित बन्न पुग्छन् । त्यति मात्रै होइन, कुनै कुनै स्मृति त अन्यले सुन्दासमेत सुन्ने त्यो मान्छे रोमाञ्चित बन्न पुग्छ । यस्तै रोमाञ्चकता प्रस्तुत पुस्तक ‘घुरको धुवाँ’ले प्रदान गर्ने क्षमता राखेको छ ।
मूलतः लेखक खनाल मधेसमा जन्मे-हुर्केकाले उनको बाल्य-संस्मरण मधेसकेन्द्रित रहनु स्वाभाविक छ । तथापि, यी संस्मरणहरूले मुलुकका कुनै पनि क्षेत्रका बासिन्दाहरू, जो यी संस्मरणहरूका पाठक बन्न सक्छन् तिनका लागि अत्यन्त रोमाञ्चक छन् । स्मृतिहरूमा संवादका चरणहरूमा लेखकले क्षेत्रीय/वर्गीय भाषालाई नै बढी ग्राहृयता दिइएका कारण केही शब्दहरूलाई ठेट रूपमा बुझ्न धौधौ परे पनि भनाइको ‘अन्सार’ले सामान्यतः बुझ्न सकिन्छ ।
गाउँघर बिर्सिएकाप्रति लेखकको आक्रोश तीव्र छ । पुस्तकभरि प्रत्यक्ष-अप्रत्यक्ष रूपले उनी आशङ्का गरिरहेका भेटिन्छन्- शारीरिक रूपले मात्रै होइन, मन-मस्तिष्कले नै मान्छेले गाउँ बिर्सेका हुन् कि क्या हो ? पुस्तकले, आधुनिकताको नाममा समाज अप्राकृतिक बन्दै गइरहेको तथ्य पनि पुष्टि गर्न खोजिरहे झैं पनि लाग्छ ।
समय परिवर्तनशील छ, यो मानिआएको तथ्य हो । र, यो पनि थाहा छ- समयसँगै समाज पनि परिवर्तन हुँदै जान्छ । तर, समाज यस्तो छिट्टै परिवर्तन हुँदो रहेछ भन्ने कुरा चाहिँ पुस्तकका पृष्ठहरू पल्टाउँदै जाँदा थाहा लाग्छ । पुस्तकको पहिलो शीर्षक ‘डिबियाको उज्यालोमा पुस्तक’मा उल्लिखित पङ्क्तिहरूले यसलाई पुष्टि गर्छन् । संस्मरणमा, लेखकले भोगेको त्यो पुरानो समयलाई आज बताउँदा आजका पाठक आश्चर्यचकित हुन पुग्छन् । पढ्नका लागि किताब खास गरेर उपन्यास लिने अभिप्रायले पुस्तकालयमा उभिएका संस्मरणलाई लेखक यसरी भन्छन् ‘कुनैकुनै किताब त हारालुछ हुने, पहिले कसले पढ्ने भनेर फस्र्ट शो सिनेमा हेर्न टिकटको लाइनमा बसेजस्तै उपन्यास पढ्ने लाइनमा हुन्थेँ म ।’
आजको मितिमा त्यो कुरोलाई तुलना गर्ने हो भने कति अन्तर पाइन्छ ! किताब पढ्न लाइन बसिने त्यो समय र आजको पुस्तकप्रतिको यो अधिकांशतः वितृष्णामय समय ! आज त्यो बेलाको संस्मरण सुन्दा कुनै कथा हो कि झैँ लाग्न पुग्छ । यो संस्मरणमा लेखिएअनुसार अनुमान गर्ने हो भने तत्कालीन समयमा नेपालमा प्रकाशित हुने युधीर थापा तथा भारतबाट भित्रिने प्रकाश कोविदका उपन्यास एवम् हिन्दी उपन्यासहरू उनले सबै नै पढेर भ्याइसिध्याएका थिए । उपन्यास पढ्ने लत कतिसम्म लागेको थियो भने त्यो लतका कारण उनले वर्षौंदेखि निरन्तर खाँदै आइरहेको खैनी नै खान छोडका थिए । किताब पढ्ने सन्दर्भमा यसभन्दा रोचक संस्मरण अर्को के हुन सक्छ ?
त्यसो त संस्मरण भन्नेबित्तिकै रोचक नै हुन्छ । फरक त्यसको मात्रा हो । यस अर्थमा, राजेश खनालको ‘घुरको धुवाँ’भित्रका संस्मरणहरूमा रोचकताको मात्रा अत्याधिक छ । गाउँघरमा चाडपर्वहरूको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमहरू गरिने प्रचलन हुन्छ । अद्यापि घट्दै गए पनि त्यो प्रचलन अझैसम्म कायम छ । अझ तराई क्षेत्रमा झन् बढी छ । त्यसअन्तर्गत खास गरेर रामायण, महाभारतजस्ता नाटकहरू र पछि गएर आधुनिक किसिमका नाटकहरूसमेत प्रदर्शन गर्ने परम्परा रहेको छ । प्रस्तुत पुस्तकको ‘सीता बिँडी खाइरहेकी छिन्’ शीर्षकमा ‘रामलीला’ विषयक संस्मरण रहेको छ । सो संस्मरणसँग जोडिएका दुईवटा बडा रमाइला प्रसङ्ग छन् ।
रामलीलामा सीताको अभिनय निर्बाह गर्ने पात्र पुरुष रहेको, राम-रावणको युद्धमा रावण ढल्नुपर्ने दृश्यमा रावण बनेका पात्र यथार्थमा- ‘आफ्नो तलब पाएपछि मात्रै ढल्छु’ भन्ने पङ्क्तिहरू पढ्दा पाठकले भिन्न खालका मजा पाउँछन् । यस संस्मरणमा संस्कृतिप्रतिको मोह उजागर भएको छ । अर्को लेखमा सम्झना गरिएको रेशमबाईको नाच-मुजरा आज केवल कल्पनाको दृश्यजस्तो मात्रै लाग्छ ।
त्यतिबेलाको रङ्गमञ्चको स्मृतिमा अझै पनि उत्तिकै बाँधिएका छन् लेखक । उनको स्वीकारोक्ति छ-‘मालश्री धुन सुरु भएलगत्तै म भलुवाही (मामाघर) पुग्छु अनि सम्झिन्छु ती कलाकारहरू, जसले मलाई कलाकारिताको रङमा रङ्गिन मद्दत गरेका थिए ।’ उनी अहिले पनि सोच्छन्-शहर बजारको दशैँ के दशैँ, भालुवाहीको दशैँ पो दशैँ ! सुन्दर मामाले हार्मोनियम बजाउँदै गाएको गीत अहिले पनि उनका कानमा गुञ्जिरहन्छ । समग्रमा, उनको स्मृतिपटमा कहिल्यै नमेटिने गरेर भालुवाही नै अङ्कित भएर रहेको छ । कलाप्रतिको आकर्षण हुनुमा मूलतः उनै मामालाई श्रेय दिन्छन् उनी । सामान्यतया मामाजत्तिको प्रिय मान्छे र मामाघरजत्तिको प्रिय ठाउँ को-कहाँ हुन सक्छ र ?
नाटक-सांस्कृतिक कार्यक्रमहरू हेर्दाहेर्दै र त्यसमा नजानिँदो पारामा सहभागी हुँदाहुँदै लेखक आफैं प्रत्यक्ष रूपमा संलग्न हुन पुगेको तथ्य एउटा संस्मरणमा आएको छ । संस्मरणमा रेलको यात्रा छ । आजका रेल्वे च्यानलहरूको विस्तृतिको परिवेशमा प्राचीन युगको झैँ लाग्ने सम्भवतः विनाटिकटको रेलयात्रा वर्णन बडो सुन्दर लाग्छ । पुस्तकको शीर्षक-संस्मरण ‘घुरको धुवाँ’ले मूलतः तराईवासी पाठकलाई यो लेख पढ्दापढ्दै आफ्ना आँखा मिच्न बाध्य बनाइदिन्छ, मानौँ अहिले नै घुरको धुवाँले आँखा पिरो बनाएको छ । अथवा, सोही लेखका कतिपय पङ्क्तिहरू पढ्दापढ्दै घुरको तातोले शरीर न्यानो बनाएको महसुस हुन्छ । घुरको न्यानो अनुभूति नगरेकाहरूलाई यसैबाट अँगेनाको आगोको सम्झना आउँछ ।
गाउँघर बिर्सिएकाप्रति लेखकको आक्रोश तीव्र छ । पुस्तकभरि प्रत्यक्ष–अप्रत्यक्ष रूपले उनी आशङ्का गरिरहेका भेटिन्छन्-शारीरिक रूपलेमात्रै होइन, मन-मस्तिष्कले नै मान्छेले गाउँ बिर्सेका हुन् कि क्या हो ? पुस्तकले, आधुनिकताको नाममा समाज अप्राकृतिक बन्दै गइरहेको तथ्य पनि पुष्टि गर्न खोजिरहे झैँ पनि लाग्छ । मीठो भाषामा उनी अभिव्यक्ति दिन्छन्-‘त्यो बेला आँप काटेको मलाई सम्झना छैन । अचेल आँप खाइँदैन । आँपको चिरा खाइन्छ ।’ अझ कति सत्य ! ऊ बेलाको बासीभात चौरासीव्यञ्जन बराबर । समष्टिमा, पुस्तकका सम्पूर्ण संस्मरणहरूको अध्ययन गरिसकेपछि यस पुस्तकलाई प्रष्टसँग ‘सांस्कृतिक संस्मरणको गाथा’ भन्ने उपमा दिए फरक पर्दैन । पढ्न थालनी गरिएपछि समाप्त गरेरैमात्र छोड्न सकिने यत्तिको तगडा संस्मरण-पुस्तक नेपाली साहित्यमा थपिदिएर ठूलो गुण लगाएकोमा राजेश खनाल धन्यवादका पात्र बनेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच