राजु सिलवाल
काठमाडौं । पुरुष तथा महिलाहरूको क्रिकेटमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नेपालले नेत्रहीनहरूको क्रिकेटमा पनि सशक्त उपस्थिति जनाउँदै आइरहेको छ । आगामी मंसिर ७ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा आयोजना हुने चौथो टी-ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपालले तयारी गरिरहेको छ । पुरुषहरूको उक्त विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूको अन्तिम छनोट यही कात्तिक ४ गते र ५ गते काठमाडौंंमा हुने भएको छ । छनोट भएका खेलाडीहरूलाई आगामी तिहारपछि बन्द प्रशिक्षणमा राखिने जानकारी नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले दिनुभएको छ । यसअघि गत असारमा पहिलो चरणको छनोटअन्तर्गत १९ जना खेलाडीहरू छनोट गरिएको थियो । तत्कालीन माओवादी द्वन्द्वका बेला २०६० सालमा आँखाको ज्योति गुमाउन पुग्नुभएका नेपाली सेनाका प्रमुख सेनानी घिमिरेकै सक्रियतामा नेपालमा २०६३ सालमा नेत्रहीनहरूको क्रिकेटको सुरुवात भएको थियो ।
उहाँले नेत्रहीन क्रिकेट खेलाडी, कप्तान, प्रशिक्षक, अम्पायर तथा नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्षको समेत भूमिका निर्वाह गरेर नेत्रहीन क्रिकेटलाई स्थापित गर्न योगदान दिनुभएको छ । नेत्रहीन क्रिकेटका पाकिस्तानी प्रशिक्षकले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ३३ जनालाई प्रशिक्षण दिएर नेपालमा नेत्रहीनको क्रिकेटको सुरुवात गरेका थिए । अहिले नेपालमा स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय तहसम्मकै प्रशिक्षकहरू कार्यरत छन् । यो खेल विभिन्न जिल्लामा विस्तार हुने क्रम जारी छ । विभिन्न जिल्लामा रहेका दृष्टिविहीनहरूलाई प्रोत्साहनका लागि विभिन्न तहको प्रतियोगिता आयोजना गर्ने गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने गरेको पारा तथा विशेष खेलकुदमा नेत्रहीन क्रिकेटलाई पनि प्रतियोगिताका रूपमा समावेश गर्ने गरिएको छ ।
नेत्रहीनहरूको क्रिकेटमा विश्वका विभिन्न ११ देशको सहभागिता रहेकामा नेपालको हालको स्थान छैटौँ, सातौँ हुनु मुलुकका लागि उपलब्धिमूलक नै मान्नुपर्दछ । यी बाहेक अन्य देशका स्कुल कलेजहरूमा पनि नेत्रहीन क्रिकेट खेल्ने गरिएको छ । तर, यसको संस्थागत विकास भने हुन सकेको छैन । नेपाली नेत्रहीन क्रिकेट टिमले सन् २००८ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको सुरुवात गरेको थियो । त्यतिखेरै नेपाली टिमले पाकिस्तानमा नौवटा मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले सन् २०१२ मा भारतको बेंगलोरमा भएको नेत्रहीनहरूको विश्वकपमा भाग लिएर विश्वकपमा सहभागिता प्रारम्भ गरेको थियो । त्यसबखत नेपालले पहिलोपटक बंगलादेशको टिमलाई पराजित गर्न सफल भएको थियो । भारतको केरलामा सन् २०१६ मा भएको एसियाली नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि नेपालले आफ्नो सहभागिता जनाएको थियो । यसअघि सन् २०२१ मा भारतमा आयोजना भएको तेस्रो टी-ट्वान्टी विश्वकपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि नेपालले भाग लिएको थियो । त्यतिखेर भारतले उपाधि जितेको थियो ।
नेपालबाटै महिला क्रिकेट सुरु
यहाँ उल्लेखनीय पक्ष के छ भने धेरै संख्यामा दृष्टिविहीन महिलाहरूलाई क्रिकेटमा समाहित गर्ने मुलुकमा नेपाल अग्रपंक्तिमा पर्दछ । नेत्रहीन महिलाहरूको क्रिकेटको सुरुवात नेपालले नै गरेको थियो । बेलायतमा समेत नेपाली प्रशिक्षककै सहयोगमा नेत्रहीन महिला क्रिकेट सुरु गरिएको थियो । सन् २००९ मै नेपाली महिला टिमले काठमाडौंमा आयोजित मैत्रीपूर्ण खेलमा बेलायतलाई पराजित गरेको थियो । त्यतिखेर नेपाल सरकारले महिला टिमलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो । अब सन् २०२५ मा भारतमा आयोजना हुने नेत्रहीन महिलाहरूको विश्वकपमा नेपालको पनि सहभागिता रहने लक्ष्य राखिएको छ ।
मैदानको अभाव
शारीरिकरूपले सक्षम क्रिकेट खेलाडीहरूका लागि नेपालका विभिन्न स्थानमा क्रिकेट मैदान उपलब्ध भए पनि नेत्रहीन खेलाडीहरूका लागि क्रिकेट मैदानको व्यवस्था हुन सकेको छैन । चाहे अभ्यास गर्दा होस् अथवा कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा मैदानका लागि नेपाल क्रिकेट संघलगायतलाई गुहार्नुपर्ने अवस्था आउने गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदान नेपाल क्रिकेट संघले प्रयोग गरिरहेको छ । सोही संघले प्रयोग गर्ने गरेको मूलपानी क्रिकेट मैदानका लागि पनि सरकारले लगानी गरेको छ । त्यस्ता मैदान नेत्रहीनहरूलाई पनि सहजरूपमा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायले प्राथमिकता दिनुपर्दछ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा नेपालभर हजारौंं रोपनी जमिन छन् । कयौं जमिन अतिक्रमणमा परिसकेका छन् । नेत्रहीन क्रिकेट खेलाडीहरूका लागि छुट्टै क्रिकेट मैदानका लागि सरकारले बजेट विनियोजन गर्नुपर्दछ भनेर पटक-पटक आवाज उठ्ने गरेको पनि छ । नेत्रहीन क्रिकेट संघ नेपालका पदाधिकारीहरूले नेत्रहीन क्रिकेट र अपांगता खेलकुदका बारेमा बेलाबखत सरकारको ध्यानाकर्षण गर्दै आइरहेका छन् । पछिल्लो पटक युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग संघका पदाधिकारीहरूले छलफल गरेका थिए ।
दृष्टिविहीनहरूले कसरी खेल्छन् ?
दृष्टिविहीन क्रिकेट खेलाडीहरूले आवाजको प्रयोग गरेर क्रिकेट खेल्ने गर्दछन् । नेत्रहीनहरूले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लाष्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ । त्यही आवाज सुनेका आधारमा आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् ।
सबै नेत्रहीन खेलाडीले देख्छन् कि देख्दैनन् ?
दृष्टिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पूर्ण दृष्टिविहीन हँुदैनन् । वल्ड ब्लाइन्ड युनियनले मान्यता दिएको वैधानिक दृष्टिविहीनअन्तर्गत क्रिकेटमा तीन प्रकारका खेलाडीहरूले खेल्ने गर्दछन् । जस्तै बी वान जसले पूर्णरूपमा देख्दैन । बी टु जसले पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्ने, बी थ्री क्याटगोरीमा २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्दछन् । एक टिममा चारजना बी वान, तीनजना बी टु तथा चारजना बी थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ । पूर्ण दृष्टिविहीन तथा कम देख्ने क्षमता खेलाडीहरूको समग्रता नेत्रहीन क्रिकेट मानिएको छ ।
सन् १९२२ मा अष्ट्रेलियाबाट नेत्रहीनहरूको क्रिकेटको सुरुवात भएको थियो । तर, १०० वर्ष पुगिसकेको अवस्थामा पनि विश्वमा यो खेललाई अझ व्यापक बनाउन सकिएको छैन । नेपाली नेत्रहीन खेलाडीहरूले अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको अवस्थामा महत्वपूर्ण पदकहरू भिœयाएर मुलुकको छवि अझ उच्च बनाउन नेत्रहीन क्रिकेट पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ । तर, यसका लागि नेत्रहीन क्रिकेट खेलाडीहरूलाई पनि यथोचित सुविधा र सरकारको उच्च प्राथमिकता तथा लगानी भने अत्यावश्यक भइसकेको महसुस गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच