काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारेर स्तरोन्नतिको काम थालेसँगै हवाई भाडा बढेको छ । क्षमता र गुणस्तर अभिवृद्धिका लागि भन्दै प्राधिकरणले शुक्रबारदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेसँगै हवाई कम्पनीहरूले भाडा बढाएका हुन् । विमानस्थल बन्द गर्दा आन्तरिक तथा बाहृय उडान संख्यामा उल्लेख्य मात्रामा कटौती हुँदा भाडा पाँच गुणासम्म वृद्धि भएको छ । यसअघि १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौं-दिल्लीको हवाई भाडा अधिकतम ७० हजार रुपैयाँसम्म पुगेको छ । त्यस्तै, ३० देखि ४० हजारसम्म पाइने मलेसिया तथा खाडी मुलुकको हवाई भाडा अहिले एक लाखभन्दा माथि पुर्याइएको छ ।
भाडा वृद्धिले वैदेशिक रोजगारमा जाने श्रमिकको लागत शुल्क थप बढाएको छ । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाईमार्ग हुँदै विदेशिने गरेका छन् । भाडामा उल्लेख्य वृद्धि हुँदा विशेषगरी खाडी मुलुक जाने श्रमिकहरू सबैभन्दा बढी मारमा परेका छन् । योबेला वैदेशिक रोजगारीमा गएका नेपालीहरू चाडबाड र विदेशमा हुने बिदाका कारण घुम्न आउने भए पनि हवाई उडानमा भएको कटौती र अचाक्ली भाडा वृद्धिले रोकिएका छन् । पर्यटनको मुख्य सिजन अक्टोबर-नोभेम्बरमा हवाई भाडा अचाक्ली वृद्धि हुँदा कोराना महामारीपछि तंग्रिँदै गरेको पर्यटन व्यवसायमै गम्भीर असर पर्ने पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।
त्यस्तै, नेपाल आउने योजना बनाइरहेका विदेशी पर्यटकहरू पनि हवाई भाडाका कारण अन्यत्रै जान थालेको पर्यटन व्यवसायी बताउँछन् । उडान प्रभावित हुँदा व्यवसाय नै धराशायी बन्ने खतरा रहेको उनीहरू बताउँछन् । शुक्रबारदेखि कम्तीमा पाँच महिना राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ । यसअघि विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । विमानस्थल मर्मतको सूचना सार्वजनिक भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ करिब २९ प्रतिशत र आन्तरिक उडान ३५ ले कटौती भएको जनाएको छ । यसअघि हप्तामा सरदर ४१८ अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा मर्मत अवधिभर १२३ उडान कटौती गरेर २९५ मा सीमित गरिएको छ । प्राधिकरणले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ अन्तर्राष्ट्रिय ‘एप्रोन’ र पूर्वतर्फ ‘हृयांगर एप्रोन’ बनाउने योजना बनाएको छ । यो योजना सम्पन्न भएपछि विमानस्थलको क्षमता २० प्रतिशतभन्दा बढी हुने र एयर ट्राफिक व्यवस्थापन सहज हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल स्तरोन्नतिका लागि १० घण्टाका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ट्याक्सी वेलाई रनवेमा जोड्नका लागि संरचनागत काम गर्नुपर्ने छ । त्यसको लागि विमानस्थल बन्द गर्नुको विकल्प छैन । त्यसमाथि गरिने पिच र अलकत्रा सेट हुन लाग्ने समयले पनि १० घण्टा बन्द गर्नुपरेको महानिर्देशक अधिकारीको भनाइ छ ।
मेनपावर व्यवसायीले गुहारे पर्यटन र परराष्ट्रमन्त्री
मेनपावर व्यवसायीहरूले अन्तर्राष्ट्रिय हवाई भाडामा अस्वाभाविक वृद्धि भएको गुनासो गरेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको अत्यधिक महँगो भाडा तिर्नुपरेको भन्दै उनीहरूले सरकारको समेत ध्यानाकर्षण गराएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र परराष्ट्र मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको हो । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्यमा जाने श्रमिकहरूले आर्थिक बोझ थपिएको भन्दै यसको समाधान गर्न उनीहरूले आग्रह गरेका छन् । सीमित ट्राभल एजेन्सी र एयरलाइन्सहरूको मिलेमतोमा टिकटको मूल्य कृत्रिम रूपमा बढाइएको उनीहरूको आरोप छ । यसअघि उनीहरूले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए । श्रम, पर्यटन र परराष्ट्र मन्त्रीलाई एकै ठाउँमा राखेर छलफलसमेत गरिएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले ट्राभल एजेन्सीहरूले सिट अभावको बहानामा अत्यधिक भाडा लिएको बताएका थिए । सीमित एजेन्सीहरूले मात्रै सिट उपलब्ध गराउने अवस्था सिर्जना गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेर टिकटको मूल्यमा कालोबजारी गरिरहेको बताए । छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा परराष्ट्र, श्रम, र कानुन मन्त्रालय रहनेगरी एक समिति गठन गर्ने आश्वासन दिइएको थियो ।
भैरहवा र पोखरा विकल्प
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि लामो समय बन्द हुने भएसँगै प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पका रूपमा प्रस्तुत गरेको छ । विज्ञहरूले चलाउन नसकेका दुई विमानस्थल चलाउने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको नाममा बन्द गरिएको आशंका गरेका छन् । काठमाडौं विमानस्थलमा उडान कटौती भएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गर्ने निश्चित भएको छ । थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यतिबेला नेपाल सरकार र एसियाली विकास बैंकको ऋण सहायतामा करिब १५ अर्ब रुपैयाँका तीनवटा फरक–फरक ठेक्का सञ्चालनमा छन् । ती योजनाहरूमध्ये एसियाली विकास बैंकको सवा चार अर्ब ऋण सहायतामा पहिलो रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सीवे निर्माण भइरहेको छ । त्यस्तै, करिब चार अर्ब ऋणमा रनवेको पूर्वतर्फ हृयांगर एप्रोन तथा एक्जिट ट्याक्सीवे निर्माण गर्ने कार्य भइरहेको छ । नेपाल सरकार र प्राधिकरणको करिब सात अर्ब लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सीवे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गर्ने कार्य भइरहेको छ ।
गौतमबुद्ध र पोखरा विमानस्थल चलायो भन्नु राष्ट्रघात हो : महानिर्देशक अधिकारी
उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर पोखरा र गौतमबुद्ध विमानस्थल चलायो भन्ने सोच राख्नु राष्ट्रघात हुने बताउनुभएको छ । एउटा विमानस्थल मर्मतको काम हुँदा अर्को प्रयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न मर्मत गर्ने बहाना बनाएको आरोपको पनि उहाँले खण्डन गर्नुभयो । बाध्यताले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन लागिएको उहाँले बताउनुभयो । ‘भैरहवा र पोखरा विमानस्थल चलाउँछु भनेर सोच्नु गलत होइन । त्रिभुवन विमानस्थल बन्द गरेर पोखरा र भैरहवा विमानस्थल चलायो भनेर सोच राख्नु राष्ट्रघात हो,’ उहाँले भन्नुभयो । महानिर्देशक अधिकारीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हवाई भाडा पनि नियन्त्रणमा आउने दाबी गर्नुभयो । ‘विगतमा भैरहवा विमानस्थल किन बनाएको ? भन्नेहरूलाई किन रहेछ थाहा भयो होला । एउटा विमानस्थल मर्मत गर्दा अर्को विमानस्थल प्रयोग भयो,’ उहाँले भन्नुभयो, ‘त्रिभुवन विमानस्थलमा प्राविधिक रूपमा विमान अवतरण गर्न नसक्दा एयरलक हुन्छौँ । ल्याण्डलक देश थियौँ । त्यसले अर्को आधार तयार गर्यो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच