काठमाडौं । संघीय संसद्अन्तर्गत दुई सदन र सातै प्रदेशमा एक/एक सभा छन् । जहाँ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जनताबाट निर्वाचित जनप्रतिनिधि छन् । संघमा जनताबाट प्रतिनिधिसभा र राष्ट्रियसभा छन् । सरकारदेखि कानुन, नीति एवं कार्यक्रम बनाउने तथा कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने तथा सरकारलाई सुझाव एवं निर्देशन दिनेसम्मको गहन जिम्मेवारी संसद्लाई छ । त्यसैले त संघदेखि प्रदेश सभाका सदस्यलाई ‘माननीय’ शब्दले आदर गरिन्छ । ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो । ‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर, नेपालको सन्दर्भमा ‘माननीय’ शब्द नै हलुका, फितलो र अलोकप्रियताको पर्याय बन्न थालेको छ । एकपछि अर्को ‘माननीय’हरू विभिन्न अपराध कर्ममा प्रहरी हिरासतमा पुगिरहेका छन् । यद्यपि, विभिन्न आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्न आफैँमा दोषी करार हुनु होइन । तर, कुनै कसुर गरेको तथ्य/प्रमाण नभेटी राजनीतिक रूपमा समेत शक्तिशाली हुने माननीयलाई प्रहरीले सहजै पक्राउ गर्न सक्दैन ।
कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीनजना माननीय प्रहरी हिरासतमा पुगेका छन् । फरक-फरक मुद्दामा उनीहरू ‘कष्टडी’मा पुगेका हुन् । सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा हुनुहुन्छ । काठमाडौंमा पक्राउ पर्नुभएका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा हुनुहुन्छ । उहाँलाई कास्कीबाट रुपन्देही सारिएको छ । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । त्यसैगरी, कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि विभिन्न मुद्दामा हिरासतमा छन् । नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व-आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीको हिरासतमा हुनुहुन्छ । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । अधिकारीपछि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो । २१ वर्षअघि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसलाअनुसार मंगलबार जेल चलान भएका हुन् ।
विभिन्न अपराधमा माननीयहरू प्रहरी हिरासत वा जेल पुगेको पहिलो घटना होइन । पछिल्ला केही वर्ष प्रहरी हिरासत वा जेल पुग्ने माननीयको संख्या झण्डै दर्जन छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सांसद टोपबहादुर रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमा छन् । त्यसअघि माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेपाली कांग्रेस अफताब आलम र हाल नागरिक उन्मुक्तिका संस्थापक रेशम चोधरी पनि विभिन्न अपराधमा प्रहरी हिरासत वा जेल पुगेका माननीय हुन् । यसबाहेक प्रहरी हिरासत वा जेल पुगेर छुटेको माननीयको सूची पनि लामै छ । यसैगरी, प्रहरीको खोजी सूचीमा रहेका केही माननीय पनि छन् ।
अधिकारीसहित नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कोशी प्रदेशका पूर्व–आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित नौ जनालाई अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालले उनीहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको हो । कात्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उड्नुभएको थियो । तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो । उनीहरूलाई बिचौलियाहरू धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरू विरुद्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
६ वर्षपछि मनाङेको हातमा फेरि हतकडी
राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिँदै आएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको हातमा फेरि हतकडी लागेको छ । मनाङेलाई मंगलबार बिहान स्वयम्भूनजिकै सानो भ¥याङबाट पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । ६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए । यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए । त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए ।
अहिले पक्राउ परेको घटना र त्यतिबेला पक्राउको घटना एउटै मुद्दासँग केन्द्र्रित छ । २०६१ वैशाख ३१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेण्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई तरबार प्रहार गरेर हात छिनालेको अभियोग मनाङेमाथि थियो । उक्त घटनापछि ज्यान मार्ने उद्योग मुद्दामा मनाङेविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो । काठमाडौं जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गरेका मनाङेविरुद्ध उच्च अदालत पाटनले २०६९ साउन २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो । त्यसपछि मनाङे सर्वोच्च पुगे । सर्वोच्च अदालतले पनि हालै पुनरावेदनकै फैसलालाई सदर गरिदियो । ज्यान मार्ने उद्योगमा मनाङे यसअघि दुईपटक गरेर ३२ महिना जेल बसिसकेका कारण अब बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । पटक-पटक मन्त्री र प्रदेश सरकार गठनमा मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेको अबको केही महिना जेलभित्र बास हुनेछ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।
रविलाई फेरि काठमाडौं ल्याउने तयारी
सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्याइएको थियो । पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उहाँलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो । बुटवलमा बयान सकिएसँगै उहाँलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ । प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो । लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् ।
छानविनमा सहयोग गर्न तयार छु, अनर्गल प्रचार नगरौँ : धनराज
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय आफूविरुद्ध अनर्गल प्रचार भएको बताउँदै आफूमाथि छानविनको माग गर्नुभएको छ । राज्यका निकायलाई आफूले छानविनमा सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले अनर्गल प्रचार बन्द गर्न अनुरोध गर्नुभएको छ । आफू सादगी जीवन बिताउने, निष्ठाको राजनीति र सुशासनको पक्षमा जीवनभर लडिरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रम र मिडियाहरूमा ठग हो, दोषी हो भनी कपोलकल्पित प्रचार गर्नु निन्दनीय भएको बताउनुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘म कृष्णप्रसाद भट्टाराई जस्ता सदाचारी नेताको अनुयायी हुँ । म निष्ठापूर्वक कहीँ कतै नचुकीकन भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु । मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानविन गर्न सक्नेछन् । म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु ।’ पूर्व-श्रीमतीले गरेको गल्तीको सजाय आफूले भोग्न नमिल्ने बताउँदै ज्योति गुरुङ जहाँ भए पनि ल्याएर छानविनको दायरामा ल्याउनु राज्यको काम भएको उहाँले बताउनुभयो । ‘भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध शरीरमा एक थोपा रगत रहेसम्म म सधैँ लडिरहने छु,’ उहाँले भन्नुभएको छ, ‘मेरो पूर्व-श्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाई अनुसन्धान गरियोस् र सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरियोस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच