
करिब करिब मूल बाटोबाट भड्किइसकेको नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचनको परिणाम प्राप्त भइसकेको छ । राजनीतिक स्वार्थहरूको जोडघटाउमा छरपष्ट हुनलागेको यसको व्यक्तित्वलाई कार्यवाहक भएर पनि बाला अधिकारीले सहृयालेर ठीक बाटोमा उभ्याएको हुनाले अब महासंघले स्वाभाविक गति लेला भन्ने आशा पलाएको छ । महासंघ सबैको साझा छाता संगठन हो । यसबाहेक विभिन्न राजनीतिक पार्टीको आस्था नजिक भएर विभिन्न पत्रकार संघसंगठन खडा भएका छन् । कहिँकतै निर्वाचन हुन नसकेको र परिणाम नआएको भए पनि अधिकांश ठाउँको परिणाम आइसकेको छ । नेपालको पत्रकार महासंघको इतिहासमै पहिलो पटक महिलाको नेतृत्व प्राप्त भएको छ । निर्मला शर्मा यसपटक नेपाल पत्रकार महासंघको केन्द्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । यसका साथै अन्य धेरै ठाउँको नेतृत्व पनि महिलाकै हातमा पुगेको छ भने प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने यसपटक महिलाहरूको प्रतिनिधित्वमा पहिलेको तुलनामा वृद्धि भएको छ ।
केही समयदेखि विभिन्न अड्चनका कारण हुन नसकिरहेको निर्वाचन गराउने मुख्य दायित्व पनि यसपटक महिलाकै जिम्मेदारीमा आएको थियो । नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त ठाउँमा उपाध्यक्ष रमेश विष्ट कार्यवाहक भए पनि असफल हुनुभयो र राजीनामा दिनुभयो । दुवैजना पुरुष पत्रकारहरू असफल भएपछि पुरुषहरूको अहंकार यो पटक महिला नेतृत्वले तोडिदिएका छन् । कार्यबाहक सभापतिको जिम्मेवारी महिला उपाध्यक्ष बाला अधिकारीले सम्हाल्नुभएको थियो । उहाँले अत्यन्त कुशलतापूर्वक आफ्नो जिम्मेदारी पूरा गर्नुभएको छ । पहिलेदेखि अलमलमा परिरहेका कारण निर्वाचन गराउने यो दायित्व अधिकारीको जिम्मेवारीमा आएको थियो । यसपटक पनि निर्वाचनको काम पूरा हुन नसक्ला कि भन्ने प्रशस्त शंसय बाँकी नै थियो । तर उक्त दायित्व बाला अधिकारी तथा उहाँको नेतृत्वमा रहनुभएका सम्पूर्ण सदस्यहरूबाट कुशलतापूर्वक पूरा भएको छ र निर्वाचन सम्पन्न भइकन परिणाम प्राप्त भइसकेको अवस्था छ ।
निर्मला शर्मा सशक्त पत्रकार र सञ्चारिका समूहको अध्यक्ष भएर काम गरिसक्नु भएकी खारिएकी पत्रकार हुनुहुन्छ । उहाँसँग विजयी हुनेहरू पनि धेरै अनुहार परिचित छन् । अब पत्रकारहरूको यो नयाँ नेतृत्व आएको छ जसले पत्रकारहरूको हकहितका लागि यस महासंघले मरिमेटेर काम गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । यद्यपि महासंघमा विजयी बनेका कतिपय पत्रकारहरू जोशिला र नेतृत्वको दृष्टिकोणमा नयाँ अनुहारका देखिन आएकाले पनि यस महासंघबाट पत्रकारहरूको हकहितमा काम हुनसक्ला कि भन्ने आशा र भरोसा राख्नु हाल तमाम पत्रकारहरूको पनि कर्तव्य हो । सबैले यो धैर्य लिन सक्नैपर्छ । श्रमजीवी पत्रकारहरूको हितमा आवाज बुलन्द पार्न र सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिलाउनका लागि पनि महासंघ कटिबद्ध हुनसक्नुपर्छ । यसै पनि श्रमजीवी पत्रकारका पक्षमा निरन्तर आवाज उठाउँदै आउनु भएका रामप्रसाद दाहाल महासचिव हुनुभएको छ ।
पत्रकारिता क्षेत्रलाई विकृत बनाउने राजनीतिक हस्तक्षेप र सत्ताको स्वार्थ नै हो । अनि स्वतन्त्र व्यावसायिक हुने वातावरणको अभावले पत्रकारितालाई अराजक बनाउन प्रेरित गरिरहेको छ । यसैकारण पत्रकारिता क्षेत्रमा केही स्वाभाविक र पेशागत आचरणविपरीतका क्रियाकलाप देखिने गरेका छन् । परम्पराकै रूपमा विकसित बन्दै आएका व्यवहारमा महासंघले लगाम लगाउन सक्नुपर्छ । आफ्नो पेशागत क्रियाकलाप र आचरणविपरीत राजनीतिक नेताहरूको अगाडि पछाडि लाग्ने, तिनको चाकरीमा लिप्त हुने पेशालाई बेवास्ता गर्ने, जिम्मेवारीभन्दा फरक काम गर्ने गरेका अनेकौं उदाहरण पाइन्छन् । त्यतिमात्र होइन बाहिर व्यक्तिगत तथा सामूहिक रूपमै अनेकौं नाजायज क्रियाकलापमा संलग्न हुने र पत्रकार भएकै नाताले अनेक खालका अप्रिय लाग्ने आर्थिक दलिल जस्ता काममा संलग्न हुनेगरेको समेत पाइन्छ । यस्ता अवाञ्छित क्रियाकलापले गर्दा समग्र पत्रकार जगतकै बद्नाम हुनेगरेको छ । जसरी पछिल्लो समयमा राजनीतिज्ञहरूको छवि धुमिल बन्दै गएको छ त्यसरी नै पत्रकारहरूको पेशागत छवि पनि ओझेलमा परिरहेको छ ।
पत्रकारहरू भनेका राजनीतिज्ञहरूकै कार्यकर्ता हुन् भन्ने भ्रम जनमानसमा छ । त्यस्ता भ्रमलाई नेपाल पत्रकार महासंघले चिर्न सक्नुपर्छ । पछिल्लो समयमा अकसमात् र नाटकीयरूपले पत्रकारिताबाट राजनीतिमा गएका केही व्यक्तिहरूले राजनीतिक क्षेत्रमा पनि राम्रो छवि बनाउन नसकेका बरू उल्टै विभिन्न काण्डमा संलग्न बनेको उदाहरणबाट पनि पत्रकारहरूको इज्जतमा दाग लाग्न पुगेको छ । अहिले निर्वाचित सबै तहका कार्यसमितिहरूले यस्ता व्यवहारलाई नियन्त्रण गरी महासंघको स्वच्छ छवि कायम गर्न सक्नुपर्छ । कम्तीमा यसो गर्न सक्ने हो भने महिला नेतृत्व सफल बनेको देखिने थियो । पत्रकारितादेखि सबैजसो पेशा-व्यवसाय दलीय गठबन्धनको महाजालोमा जेलिएको छ । राजनीतिक विचार हुनु र दलीय अनुशासनको वृत्तमा संगठित हुनु दुई फरक विषय हुन् । दुई पक्षीय दलीय गठबन्धनबाट नै नेतृत्व चयन भएको छ । एक गठबनधनको पक्ष कमजोर भयो र अर्को पक्ष विजयी भयो । यो परम्परा नतोडिएसम्म विकृतिको खाल्डोबाट बाहिर निस्कनु असम्भव हुन्छ ।
महासंघमा राजनीतिक आस्थाका आधारमा मिश्रित परिणाम आएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा देशका राजनीतितर्फका समेत हस्तीहरू रहनुभएको इतिहास छ । पहिले पहिलेको कार्यकालमा रहेर काम गर्नुभएका मध्ये केही मन्त्री र केही सांसद समेत बन्नुभएको छ । तर, त्यो इतिहास दोहोरिँदै आउने क्रममा यसमा रहनुहुने सबै व्यक्ति त्यही उचाइमा पुग्न सफल बन्नुभएन । प्रजातन्त्रपछिको पहिलो पटक यस महासंघमा होमनाथ दाहाल सभापति र रघुजी पन्त महासचिव हुनुभएको थियो । उहाँहरू दुवैजनाको पत्रकारिता र लेखनका क्षेत्रमा प्रेस स्वतन्त्रताको आन्दोलनमा माथिल्लो स्तरको छवि थियो र पछि राजनीतिमा पनि उहाँहरूले आफ्नो स्थान कायम गर्न सक्नुभयो । त्यसबेला भएको गठबन्धनमा राजनीतिक दलको हैसियत र हस्तक्षेप थिएन । पत्रकारहरू आफैंले यस्तो गठबन्धन अर्थात् सहकार्यको थालनी गरेका थिए । निर्वाचित पदाधिकारीहरूले महासंघको यो विगतको गौरवमय इतिहासलाई जोगाउन सक्नुपर्छ । पार्टीहरूको गठबन्धनको प्रभाव यसमा देखिएको छ तर सबै ठाउँमा त्यसो हुन सकेन ।
दलीय गठबन्धनकै कारण पत्रकार महासंघका विभिन्न प्रदेश तथा जिल्लास्तरीय संघहरूमा मिश्रित खालको परिणाम आएको छ । एक प्रकारले यो राम्रो पनि हो । यसले स्वेच्छाचारितालाई घटाउँछ । एकै आस्था र एकै पार्टी समर्थक व्यक्तिहरूको विजयले गर्दा त्यस्तो संघ पार्टीप्रति बफादार बन्ने र सम्बन्धित पक्षको हकहितमा ध्यान नदिने हुनसक्ने सम्भावना बढी हुन्छ । पत्रकार महासंघको हालको परिणाम मिश्रित खालको छ जसले गर्दा यस महासंघले सामूहिक हितमा काम गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । नेपाल पत्रकार महासंघले सबैका लागि काम गर्न सकोस् । यसले पत्रकारहरूको सामूहिक भलाई गरोस् । राजनीतिक प्रतिशोध र आग्रह नदेखियोस् । नवनिर्वाचित पत्रकार महासंघका सबै तहका सभापति, पदाधिकारी तथा सदस्यहरूमा बधाई तथा सफल कार्यकाल होस् हाम्रो शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच