
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका क्रममा कीर्तिपुरको डाँडामा बसेर मासिक चार लाख रुपैयाँ कमाउन सकिने अभिव्यक्ति दिए । नेपालका युवाहरूले वैदेशिक रोजगारीका निमित्त मरिहत्ते गर्नुको साटो स्वदेशमै बसेर आयआर्जन गर्ने बाटाहरू खुलेका छन् र त्यसका लागि नेपाली कांग्रेसले मार्ग प्रशस्त गर्ने प्रयास गर्छ भन्ने उनको आशय थियो । उनले कीर्तिपुरका डाँडामा उभिएर यो भाषण गर्दागर्दै यो भनाइलाई उडाउँदै अनगिन्ती टिकटकहरू बने । गगन थापाको भाषण सकिएकै थिएन, उनलाई उडाउँदै सामाजिक सञ्जालहरू रंग्याउन युवाहरू तल्लीन भए । आजसम्म पनि छिटपुट यसका विपक्षमा धारणाहरू सार्वजनिक भइरहेका छन् ।
मेरो एकजना भतिज भारतको बैंग्लोरबाट कम्प्युटर इञ्जिनियरिङ पढेर नेपाल आएका थिए । नेपाल आएको केही दिनमै अमेरिकाको काम गर्ने नेपालमा खुलेको एउटा कम्पनीमा जागिर पाए । काम ल्यापटपमै गर्ने थियो । काम घरबाटै गरे हुने थियो । लगन देखाए, मिहिनेत गरे । छ महिनामै कम्पनीले तलब बढाई दियो । एक वर्ष काम गरेपछि दुई महिनाका लागि अमेरिका घुम्न र त्यहाँको कार्यालय हेर्न पनि पठायो । उसकै जस्तो सफ्टवेयर सम्बन्धी काम जानेका सयौं युवाहरू अहिले पनि नेपालमै बसेर अमेरिका, युरोपतिरका काम गरिरहेकै छन् ।
सपना नदेख्नेले योजना बुन्नै सक्दैन । योजना नबुन्नेले प्रगतिको बाटो समात्नै सक्दैन । गगनले बुनेको यो योजनालाई हौस्याउनतिर लागेको भए केही प्रतिफल प्राप्त हुन सक्थ्यो कि तर त्यो सम्भावनालाई बीचैमा तुहाउने काम भएको छ । उनलाई उडाउनुको सट्टा ढाढस दिएको भए अवसरहरू सिर्जना हुन्थे कि भनेर हेर्नै नपाइने अवस्था सिर्जना गरियो ।
गगन हचुवामा बोल्दैनन् । उनीसँग पढे-लेखेका युवाहरूको एउट गतिलो समूह छ । देश विदेशका गतिविधि अध्ययन गरेरमात्रै उनी योजना पस्किन्छन् । उनका कुनै योजना महत्वाकांक्षी देखिएलान् भने कुनै सामान्य तर असम्भव चाहिँ हुँदैनन् । आजसम्म कसैले नगरेको काम उनले भनेका पनि होइनन् । यही देशका सक्षम युवाहरूले अहिले पनि घरैमा बसेर कम्प्युटर चलाउँदै लाखौं कमाई रहेका छन् । कोरोनाकालमा त नेपालकै शिक्षकहरूले घरमै बसी विद्यार्थी पढाएर तलब कमाएको हामी सबैले देखेकै हो । विकसित देशका त कति कर्मचारी कार्यालय जानै पर्दैन । घरबाटै काम गर्छन् र कामको रिपोर्ट कार्यालयमा बुझाउने गर्दछन् । मात्र यति हो कि गगनले बोले अनुसारको काम गर्न सबै युवा सक्षम छैनन् र त्यसका लागि अनुकूल वातावरण सरकारले सिर्जना गर्न सकेको छैन ।
वास्तवमा गगनलाई उडाउनुको साटो सत्ताधारी पार्टीको महामन्त्री भएका हुनाले उनीसँग त्यस्तो अवसर दिलाउनका लागि युवाहरूले माग गर्न सक्नुपर्दथ्यो । सपना नदेख्नेले योजना बुन्नै सक्दैन । योजना नबुन्नेले प्रगतिको बाटो समात्नै सक्दैन । गगनले बुनेको यो योजनालाई हौस्याउनतिर लागेको भए केही प्रतिफल प्राप्त हुन सक्थ्यो कि तर त्यो सम्भावनालाई बीचैमा तुहाउने काम भएको छ । उनलाई उडाउनुको सट्टा ढाढस दिएको भए अवसरहरू सिर्जना हुन्थे कि भनेर हेर्नै नपाइने अवस्था सिर्जना गरियो ।
कीर्तिपुरको डाँडाबाट मात्रै होइन, इन्टरनेटको दुनियाँमा हुम्लामा बसे पनि र सोलुमा रहे पनि उस्तै काम गर्न सकिन्छ । काठमाडौंको केन्द्रमा बसेर हुने काम र अति दुर्गम ठाउँबाट आधुनिक प्रविधिमार्फत फत्ते गरिने कामको पारिश्रमिक उति नै हुन्छ । वास्तविकता के हो भने त्यस्ता काम सिक्नका लागि युवाहरूलाई पर्याप्त अवसर नेपालमा छैन । नेपालको जुनसुकै कुनामा पनि हाइस्पिडको इन्टरनेट सुविधा छैन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीले त्यति बोलिसकेपछि युवाहरूले यो अवस्थामा कसरी भनेर प्रश्न गर्नुपर्ने हो तर अनावश्यक तबरले उडाउने काम गरियो ।
विदेशीले नेपालीलाई कस्ता कामको जिम्मा दिन्छन् ? त्यस्ता काम जानेका जनशक्ति नेपालमा कति छन् ? सरकारले प्रयत्न गर्यो भने वर्षमा कति युवालाई त्यस्ता कामको तालिम दिन सक्छ ? अनगिन्ती कामहरू छन्, जो गर्नाका लागि इञ्जिनियर नै हुनुपर्दैन, त्यसका लागि तालिम केन्द्रहरू खोल्न सरकारले किन सक्दैन ? जानेका युवाहरूलाई सहुलियत ऋणमा ल्यापटप किन्ने व्यवस्था सरकारले मिलाउन सक्छ कि सक्दैन ? जस्ता प्रश्नहरू गरेको भए उचित हुन्थ्यो जस्तो लाग्दछ तर सही कुरा गर्दागर्दै पनि गगन थापा अचानोमा परे ।
थापाको मात्रै होइन, आजभोलि नेताले बोल्ने बित्तिकै त्यसको विपक्षमा धारणाहरू राख्ने क्रम अति नै बढेको छ । राम्रा कुरा गर्दा पनि त्यसका नकारात्मक पक्षहरू खोजेर नेतालाई उडाउनुमा नै आफ्नो सफलता ठान्नेहरूको जमात बढ्दै गएको छ । नेताहरूको मनस्थिति गिराउन सकेमा नै नेपालको विकास हुन्छ भनी ठान्नेहरूको संख्या नेपालमा बढ्दै गएको छ । नेता भनेका सबै खराबै हुन् र नेताहरूलाई टाउको उठाउने अवसर दिनै हुन्न भन्नेहरूले पनि एउटा खाले गठजोड गरेर बसेको पाइन्छ । भच्युअल माध्यमहरूमा उपस्थित हुने यस्ता व्यक्तिहरू साइबर सेनाका रूपले परिचित छन् ।
नेतामा पनि अझ तीन दलका नेताहरूलाई व्यापक रूपमा खेद्ने गरिन्छ । तीन दलमा पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेता बढी आक्रमणमा पर्ने गरेका छन् भने नेकपा माओवादीका नेताहरू अलि कम आक्रमणमा पर्दछन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको त कुरै गर्न पर्दैन । एमालेका चाहिँ अध्यक्ष केपी ओली नै बढी बोल्ने भएकाले होला उनैलाई तारो बनाइने गरिएको छ । माओवादीका प्रचण्ड र माओवादी छाडेका बाबुराम भट्टराईहरू सामाजिक सञ्जालमा प्रसार गरिने हास्य, क्रोध र नाटकका पात्रका रूपमा अधिक् छाइनेमा पर्दछन् ।
सत्य के हो भने सबै नेताहरूले भ्रष्टाचार गरेका छैनन् । वास्तविकता के हो भने पुराना राजनीतिक दलहरूका केही नेताहरूले पचाउनै नसक्ने गरी भ्रष्टाचार गरे । यथार्थ के हुन पुग्यो भने यिनै केही भ्रष्ट नेताहरूका कारण पुराना दलहरूका सबै नेताहरूलाई भ्रष्टाचारीको उपमा दिइयो । सबै राजनीतिक दलहरूलाई एउटै डालोमा हालियो र सबै नेताहरूलाई उही नजरले हेरियो । नेता भन्ने पदवीलाई नै हेयका दृष्टिले हेर्नुपर्ने बनाइयो । मकै पिस्दा घुन पनि पिसिन्थ्यो तर नेपालमा ठ्याक्कै उल्टो हुनपुग्यो-घुन फाल्दा मकै पनि फाल्न थालियो ।
देशको साधन र स्रोतमा कत्ति पनि दोहन नगरिएको भए जनताले चित्त बुझाउँथे होलान् तर एकातिर आवश्यकता बढ्दै जानु र अर्कोतिर सीमित वर्गले अधिकांश स्रोतमा रजाइँ गरेको देखिनुले मानिसको विचार नकारात्मकता तर्फ बढेको छ ।
अर्थशास्त्रको सामन्य नियम नै छ-मानिसका चाहना असीमित हुन्छन् र तिनको पूर्ति गर्ने साधन र स्रोत सीमित हुन्छ । नेपालमा साक्षरतादर बढेसँगै मान्छेका चाहनामा वृद्धि हुँदै गएको छ । माध्यमिक शिक्षा र उच्चशिक्षा लिनेहरूको संख्या बढ्दै गएपछि देश विदेशका विकासका बारेमा जानकार पनि बढ्दै गए र नेपाली जनताको आवश्यकता पनि बढ्दै गयो । देशको साधन र स्रोतमा कत्ति पनि दोहन नगरिएको भए जनताले चित्त बुझाउँथे होलान् तर एकातिर आवश्यकता बढ्दै जानु र अर्कोतिर सीमित वर्गले अधिकांश स्रोतमा रजाइँ गरेको देखिनुले मानिसको विचार नकारात्मकता तर्फ बढेको छ । यही क्रम बढ्दै गयो भने न नेताहरूले जनताका बीचमा जाने हिम्मत गर्न सक्दछन् न नेपाली जनताले विकासका फल चाख्दै सन्तोषको श्वास फेर्ने दिन नै आउँछ ।
नेपालमा बहुदलीय लोकतन्त्र छ । अझ भनौं नेपाल गणतन्त्रात्मक मुलुक हो । लोकतन्त्र भने पनि र गणतन्त्र भने पनि शासन चलाउने भनेको राजनीतिक दलहरूले नै हो । संसदीय चुनावमा बहुमत ल्याएर जुन दल सत्तामा पुग्दछ, त्यही दलका नेताहरूले नै सरकार चलाउने हो । त्यसैले दलहरूलाई बिग्रन दिन हुँदैन, त्यो सत्य हो तर राजनीतिक दलहरूलाई सुधार्ने नाममा अहोरात्र सत्तोसराप गरेरमात्रै बस्दा मुलुकले प्रगति गर्न सक्छ भन्ने सोचाइ छ भने त्यो नितान्त गलत सोचाइ हो । सुध्रने उपायहरूका बारेमा पनि बताउनुपर्दछ ।
जनता सार्वभौम छन् । जनताको सार्वभौमिकता विशेषगरी चुनावमा प्रयोग हुने गर्दछ । चामलबाट ढुंगो झिकेर मिल्काए झैँ चुनावमा भ्रष्ट नेतालाई पछार्नुमा नै जनताको बुद्धिमानी हुन्छ । जिताउने बेलामा नाभीमै भ्रष्टाचारको धागो बाँधेको नेतालाई जिताउने र पछि पछुताउनुले कुनै अर्थ राख्दैन । दलको विचार, सिद्धान्त र योजना पनि हेर्न सक्नुपर्दछ । दलको सिद्धान्तमै सेवक होइन, शासन गर्ने लक्ष्य राखिएको छ र त्यसैलाई बारम्बार चयन गर्ने बानीलाई पनि त्याग्न सक्नुपर्दछ । बाघले आजदेखि शाकाहारी भएँ भनेर भनेको कुरालाई पनि सहजै पत्याउने बानी नेपालीले छाड्नु पर्दछ । अन्यथा भगवान् भरोसा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच