
काठमाडाैं । विश्वभर विविध कार्यक्रम गर्दै आज विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ ।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको भएतापनि काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यका बासीहरु पानीका लागि ट्यांकर र जारको भर पर्नु परेको छ ।
काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ ।काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भएतापनि दैनिक १६ करोड लिटरमात्र केयूकेएल आपूर्ति गर्दै आएको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्यांकर, जार, बोतल, इनार, बोरिङ लगायत स्रोतबाट आपूर्ति हुन्छ ।
उपत्यकामा पिउने पानीको आपूर्ति सबैभन्दा बढी जार ले ओगटेको छ ।नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख गोटा पानीको जार बिक्री हुन्छ ।
दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ ।
माइक्रोप्लास्टिकको साइज एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो हुन्छ भने यसको अधिकतम आकार ५ मिलिमिटरसम्म हुन्छ । माइक्रोप्लास्टिकभन्दा साना कणहरूलाई नैनोप्लास्टिक भनिन्छ । यो एक मिटरको एक करोडौं भाग हो ।
उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छ, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीको बोतलहरु अनुगमन नगरेको अवस्था छ । जसका कारण उपभोक्ताहरु मिति गुज्रिएको जार, पानीका बोतलबाट दैनिक पानीको आपूर्ति गर्न बाध्य छन् ।
स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ । तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन ।हाम्रो पानीका परम्परागत ढुङ्गेधारा (हिति) हरु मासिँदै छन् भने यस्ता हानिकारक जार र प्लास्टिक बोतलले त्यसको स्थान लिएको देखिन्छ ।
काठमाडौं महनगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको र जसमध्ये अनुसार ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, संकटमा परेर लोप हुन लागेको अवस्थाका १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा रहेका छन् ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच