
सागर घले
बादलको घुम्टो ओढिरहने काठमाडौं शहरको डाँडापाखा यतिबेला उग्र प्रदूषणको चपेटामा फसेका छन् । आमनागरिकको दैनिक जीवनमा यसले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा असर गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन, अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौं हाल विश्वकै सबैभन्दा प्रदूषित शहरमा रहेको छ । यहाँको एयर क्लालिटी इन्डेक्स ३४८ छ । यो भनेको अति खतरनाक अवस्था हो ।
विश्वका शहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका मापन अनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एकदेखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौंमा वायु प्रदूषणकोस्तर ३४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको छ ।
विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा बसोवास गर्ने मानिसको आँखा, नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, स्वासप्रश्वासमा समस्या देखिन थालेको छ । वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीलगायत अंगहरूमा गम्भीर असर पार्दछ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगहरूको जोखिमसमेत बढाउँछ ।
प्रदूषण व्यवस्थापनलाई हाम्रो सरकारले प्राथमिक मुद्दा बनाउन नसक्नु अर्को दुःखद् पक्ष हो भन्न सकिन्छ । सरकारले प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाउन सकेको छैन । स्थानीयस्तरमा नगरपालिका वायुप्रदूषण प्राथमिकतामै राखेको देखिन्न । प्रदूषण नियन्त्रणका लागि कुनै बलियो निकाय छैन, कानुन छैन, जसले वर्षैपिच्छे नागरिक दीर्घकालीन असर भोगिरहेका छन् ।
सरकारले प्रदूषण बढ्यो घरबाहिर ननिस्किनुहोस, मास्क लगाउनुहोस भन्नबाहेक अरू केही गर्ने सकेको छैन । काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषण हुने शहरको सूचकांको पहिलो स्थानमा परेको यसपटक मात्र भने होइन । यो भन्दा अघिका वर्षलाई नियाल्ने हो भने पनि अन्य राष्ट्रहरूलाई उछिनेर काठमाडौं शहर पहिलो नम्बर पुगेको रेकर्ड सरकारसँगै छ । सरकारले भौगोलिक स्थितिलाई ख्याल गरी प्रदूषण न्यूनीकरण गर्न प्रभावकारी रूपमा पहल कदम उठाउनुपर्ने देखिन्छ ।
नेपाली समाजमा एउटा खुब चलेको उखान छ ‘जब पर्यो राति तब बुढी ताती’ यहीँ उखान जस्तै हाम्रो सरकार तथा नेतृत्वहरू वायु प्रदूषण बढ्यो, नागरिकलाई साहस फेर्ने गाह्रो पर्यो, स्वस्थमा संकट आइपर्यो भनेर विभिन्न सामाजिक सञ्जालमा आफ्नो धारण व्यक्त गरेको पाइन्छ । वातावरण दिवसमा हातमा एउटा रूखको बिरुवा बोकेर वातावरण जोगाउनुपर्छ यसको संरक्षण गर्नु सबैको दायित्व हो भनी पानीमाथिको ओभानो बन्नु खोज्छन् सरोकारवाला यो लाजमर्दो याथर्थ हो ।
प्रदूषण व्यवस्थापनलाई नेपाल सरकारले प्राथमिक मुद्दा बनाउन नसक्नु अर्को दुःखद् पक्ष हो भन्न सकिन्छ । सरकारले प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाउन सकेको छैन । स्थानीयस्तरमा नगरपालिका वायुप्रदूषण प्राथमिकतामै राखेको देखिन्न । प्रदूषण नियन्त्रणका लागि कुनै बलियो निकाय छैन, कानुन छैन, जसले वर्षैपिच्छे नागरिक दीर्घकालीन असर भोगिरहेका छन् ।
हरेक दिन तीन सयभन्दा बढी स्थानमा डढेलो लागिरहेका छन् । यो समय भनेको हावाहुरी चट्याङ पर्ने समय हो । बोटबिरुवा पलुवा फेर्न सुकेका हुन्छन् जसले गर्दा आगो लाग्ने सम्भावना अत्यन्तै ज्यादै हुनेगर्छ । जथाभावी वन डढेलो लगाउने बोटबिरुवाको कानुनविपरीत नष्ट गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउनु स्थानीय सरकार चुक्नु हुँदैन ।
वातावरणीय प्रदूषण न्यूनीकरणको क्रियाकलापलाई समयमा नै अपनाई राज्यले लगानी बढाउनुपर्ने आवश्यकता देखिन्छ । वातावरणले मुलुकको अर्थतन्त्रमा पार्ने असरको विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेको छ । काठमाडौं नेपालको राजधानी भएकाले यहाँ देशको विभिन्न ठाउँबाट अवसर र सुविधा खोज्न यहाँ आएका हुन्छन् । जसकारण यहाँको जनघनत्व तुलनात्मक रूपमा देशको अन्य ठाउँभन्दा बढी हुने गर्छ । काठमाडौंमा आर्थिक कारोबार र सवारी चाप बढी हुन्छ त्यहीँ कारण वायु प्रदूषण बढ्नेगर्छ । यहाँ यातायातका साधन धेरै छन् । यातायातका साधन नै वायु प्रदूषणको मुख्य कारण हुन् । बाहिरबाट आउने वायु प्रदूषण पनि हुन्छ ।
प्रदूषण नियन्त्रणमा सरकारमात्र अघि सरेर हुँदैन । यो सबैसँग सरोकारको विषय हो । दिगो रूपमा प्रदूषण नियन्त्रणका उपाय र आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थाबाट चलाइने सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा स्थानीय तह र अति डढेलो प्रभावित क्षेत्रमा लैजान सके केही हदसम्म कम गर्न सकिन्छ । आमनागरिकमा प्रदूषण रोकथामका ज्ञानहरू अझै पर्याप्त छैनन् ।
आधुनिकताको नाममा जथाभावी गरिने उत्खनन्, भौतिक विकास, मोटर गाडी खरिद गर्ने होडबाजी, प्रदूषण गर्ने व्यक्ति तथा निकायमाथि कमजोर अनुगमन, कानुनको अपर्याप्त कार्यान्वयन, नागरिकमा प्रशस्त जानकारीको अभाव आदिका कारण वायु प्रदूषण न्यूनीकरण जटिल बन्दै गएको छ । पुराना यातायातका साधनले धुवाँको मुस्लो फालिरहेका छन् । सरकारले प्रदूषण जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउनुपर्छ । धेरै प्रदूषण गराउने ठूला सवारी आवागमन रोक्ने, जोर-बिजोर लागू गर्ने हो भने केही हदसम्म प्रदूषणबाट बच्न सकिन्छ र रोक्न सकिन्छ ।
नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ ।
प्रदूषण नियन्त्रणमा सरकारमात्र अघि सरेर हुँदैन । यो सबैसँग सरोकारको विषय हो । दिगो रूपमा प्रदूषण नियन्त्रणका उपाय र आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थाबाट चलाइने सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा स्थानीय तह र अति डढेलो प्रभावित क्षेत्रमा लैजान सके केही हदसम्म कम गर्न सकिन्छ । आम नागरिकमा प्रदूषण रोकथामका ज्ञानहरू अझै पर्याप्त छैनन् । यसकारण हरेक स्थानीय तहले वातावरण प्रदूषण, यसको कारक र रोकथामका बारेमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।
काठमाडौंका सडकहरू अझै अलपत्र छन् । कुनै सडकहरू निर्माण हुँदा हुँदै विवादमा परेर अलपत्र छन् भने कुनै सडक नामको मात्र सडक भन्न सकिन्छ । देशको राजधानी काठमाडौंको कुनै सडकमा अहिलेसम्म वर्ष याममा हिलोको सास्ती र गर्मी याममा धुलोको सास्ती खेप्नुपरेको कुरालाई सरकारले वास्ता नगरेको नै हो भन्न सकिन्छ । जसकारण वायु प्रदूषण नहुने कुरै भएन । यसैगरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय शक्तिको प्रयोग गरी दिगो प्रणालीतिर उन्मुख गराउनुपर्छ । फुटपाथ र साइकल लेन विस्तारसँगै भएका लेनहरूलाई थप व्यवस्थित गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रलाई वैकल्पिक ऊर्जातिर लगानी गर्न प्रेरित गर्नुपर्ने, विद्युतीय सवारीसाधनमा आयात कर र सडक कर दुवै कम गराइनुपर्दछ ।
अन्त्यमा, वातावरण प्रदूषणको अवस्थालाई कम गर्न भारतको दिल्ली सरकारले वृक्षरोपण र रूखबिरुवा संरक्षणलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा नेपालका शहरी क्षेत्रमा पनि पर्यावरणीय सन्तुलन कायम राख्न यो गतिलो उदाहरण बन्नसक्छ । आमनागरिकले स्वच्छ वातावरणमा बाच्न पाउनुपर्छ । कुनै पनि रोग लागिसकेपछि भन्दा लाग्नुअघि नै सतर्कता अपनाउँदा फाइदाजनक हुन्छ । वायु प्रदूषणले हाम्रो स्वास्थलाई असर गर्नुभन्दा अघि नै यसको निर्मूल गर्न आमनागरिक, सरोकारवाला र जनप्रतिनिधि लाग्नुपर्ने देखिन्छ ।
(लेखक घले कानुनको विद्यार्थी हुनुहुन्छ । उहाँ हाल नेसनल ल कलेजमा बि ए एल एल बि अध्यनरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच