
काठमाडौं । संसद्को दुई प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नौ महिना पूरा हुन लागेको छ । संसद्मा झण्डै दुईतिहाइ समर्थन प्राप्त सरकारका काम कारबाहीप्रति आलोचना भइरहेको छ । ओली नेतृत्वको सरकारमाथि परराष्ट्र नीतिमा समेत असफल भएको टिप्पणी हुने गरेको छ । वर्तमान सरकारले दुई छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नुको सट्टा भएको सम्बन्ध पनि बिगारेको कतिपय कूटनीतिक क्षेत्रका जानकारहरूले टिप्पणी गर्दै आएका छन् । कूटनीतिक क्षेत्रमा समेत वर्तमान सरकार असफल भएको टिप्पणीलाई मलजल गर्ने घटना हो प्रधानमन्त्रीको भारत भ्रमण ।
प्रधानमन्त्री नियुक्त भएको नौ महिना बितिसक्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दक्षिण छिमेकी भारतको भ्रमण हुन सकेको छैन । भारत भ्रमणको लागि प्रधानमन्त्री स्वयंले गरेका अहिलेसम्मका सबै प्रयत्न सार्थक हुन सकिरहेको छैन । छिमेकी मुलुकसँगको सम्बन्धबारे विभिन्न टीकाटिप्पणी भइरहँदा प्रधानमन्त्री ओलीले भने दुवै छिमेकी (भारत र चीनसँग) सुमधुर सम्बन्ध रहेको दाबी गर्नुभएको छ । छिमेकीसँग नेपालको मित्रतालाई कसैले बिगार्न नसक्नेसमेत उहाँको जिकिर छ । मंगलबार मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा दुईवटा छिमेकी छन् । उनीहरूसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, सम्बन्ध बिग्रियो भनेर । कहाँ बिग्रियो सम्बन्ध ? सँगै सुत्नेले खुट्टो बोकाउँछ, अर्को बेडमा सुतेकोले बोकाउँदैन । खुट्टो हटाऊ भन्नुप¥यो, कुरा सिद्धियो । जसको घर नजिकै छ, त्यहाँ छिमेकीको बच्चा आउँछ । बच्चाले एउटा ग्लास फुटाइदिन्छ । छिमेक भएकाले यस्तो कुरा आउँछ, छिमेकमा सानातिना कुरा आउन सक्छन्, कुरा गर्नुपर्छ । अण्डरस्ट्याण्डिङ राख्नुपर्छ छिमेकमा भएपछि ।’
छिमेक सम्बन्धमा कहिलेकाहीँ सानातिना कुरा आए पनि छलफल गरेर समाधान गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कहिले–कहिले केही सानातिना कुरा उठेको हुन्छ, त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन । थप छलफलको आवश्यकता हुन्छ कहिले–कहिले । दुई छिमेकीसँग सम्बन्ध अत्यन्त राम्रो छ, यस मित्रतालाई कसैले बिगार्न सक्दैन । खुला सिमानाका नाममा हुने बेठीक गतिविधि दुवैतर्फबाट रोक्नुपर्छ, खुला सिमानाको दुरुपयोग हुन दिनुहुँदैन । यसमा सतर्क रहनुपर्छ ।’
जन्मिँदै राजा र रैती हुने व्यवस्था मानिँदैन : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने दाबी गर्नुभएको छ । दुई-चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिगामी सोच भएका व्यक्ति राजतन्त्र फेरि ल्याउन बितण्डा मच्चाउने काम गरेको छ । नयाँ जेनेरेसनले त राजतन्त्र भोगेका छैनन् । उनीहरूमा राजतन्त्र के हो ? भन्ने लागेको हुनसक्छ । नयाँ जेनेरेसनलाई पनि हामीले सचेतना जगाउनेछौँ । २१औँ शताब्दीमा राजतन्त्र स्वीकार्न सकिन्न । कोही जन्मिँदै राजा हुने र अरू रैती हुने व्यवस्था मानिँदैन । सचेत राजनीतिक दलले त झन् मान्ने कुरा नै भएन ।’
उपयुक्त समयमा संविधान संशोधन हुने दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताउनुभएको छ । संविधान संशोधनको लागि गृहकार्य भइरहेको र एउटा समिति बनाएर अगाडि बढ्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो । हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट संशोधनको काम हुने उहाँको भनाइ छ । वर्तमान व्यवस्थालाई मजबुत बनाउनका लागि अहिलेको सरकार र गठबन्धन निर्माण भएकाले ०८४ को चुनावसम्म यही समीकरण कायम हुने प्रधानमन्त्री ओलीले ठोकुवा गर्नुभयो । उहाँले कसैमाथि प्रतिशोध राखेर सरकारले कारबाही नगरेको उल्लेख गर्नुभयो । बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।’
रेल चलाउने कुरा गर्दा विरोध गरेको स्मरण
प्रधानमन्त्री ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भने पनि कोही पनि सम्पर्कमा नआएको टिप्पणी गर्नुभएको छ । नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर, जनकपुर आएर मैले आफैँले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न । रेल निर्माण गर्न लगाएर, रेल किनेर फेरि सञ्चालन गर्न थाल्यौँ । त्यसले जनतालाई छिटो, सस्तो सुविधा पुगेको छ ।’ सुशासन कायम राख्न सुझावसमेत दिनुभएका प्रधानमन्त्री ओलीले मधेसको उत्पादनले देश पाल्न सकिने उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
जनताको जीवनमा लोकतन्त्र दिनुपर्नेमा जोड
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभएको छ । मधेस प्रदेश सभालाई मंगलबार सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने स्पष्ट पार्दै भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केबल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिका रूपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ । जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फूलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।’ संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताउनुभयो । सदुपयोग नहुने भएकाले अब सरकारले नगद बाँड्ने कुरालाई प्रोत्साहन नगर्ने उल्लेख गर्दै उहाँले पशुपालन, उपकरण र औजारका लागि अनुदान दिने नीतिमा जानुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच