
बाल्टीमोर । यहाँको स्थानीय नेपाली समुदायको सबैभन्दा ठूलो संस्था बाल्टीमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना)को नयाँ नेतृत्वमा जितेन्द्र गुरुङ टिमको सानदार जित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा अध्यक्षका तीन प्रत्यासीमध्ये जितेन्द्र गुरुङ एक हजार १६१ मतसहित विजयी हुनुभएको छ । यसैगरी अन्य सम्पूर्ण पदमा पनि उहाँकै समूहका प्रत्यासीहरूले जित हासिल गरेका छन् । बाना बाल्टीमोरमा रहेका नेपालीहरूको सबैभन्दा ठूलो र पुरानो सामाजिक संस्था हो । अढाइ दशक पुरानो संस्थाको यसपटकको निर्वाचनलाई सबैले निकै चासो र उत्सुकताका साथ हेरेका थिए ।
करिब पाँच हजार हाराहारी सदस्य रहेको बानाको निर्वाचनमा यसपटक कुल दुई हजार ६७३ नेपालीहरूले प्रत्यक्ष सहभागी भएर मतदान गरेका थिए । जसमध्ये १८ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । कुल सदर मतमध्ये निर्वाचित अध्यक्ष गुरुङले एक हजार १६१ मत ल्याउनुभएको थियो भने उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका कोसिस भण्डारीले ९५५ र अर्की प्रत्यासी लक्ष्मी भारतीले ५६१ मत ल्याउनुभएको थियो । गुरुङ सोही संस्थाका सल्लाहकारसमेत हुनुहुन्छ भने भारती वरिष्ठ उपाध्यक्ष । कोसिस भण्डारीचाहिँ बानाको कुनै भूमिकामा नरहनुभएका तर परिवर्तनको नारा अघि सारेर निर्वाचनमा प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्थ्यो । संस्थापन पक्षकी भारती पनि टिमसहित चुनावी मैदानमा हुनुहुन्थ्यो । जसमध्ये बानाका सदस्य मतदाताहरूले जितेन्द्रको टिमलाई अनुमोदन गरे भने कोसिसको परिवर्तनको नारालाई पनि उपविजेताका रूपमा मत दिएर समर्थन गरे ।
विजयी जितेन्द्रको टिमलाई समावेशी र सबैले स्वीकार गर्ने टिम भनेर प्रचार गरिएको थियो जसलाई मत परिणामले पनि अनुमोदन गरेर पुष्टि गरिदिएको छ । उहाँ र उहाँका पक्षका उम्मेदवारहरूलाई बाल्टीमोरका प्रायः सबै स्थानीय नेपाली समुदायका भेगीय र अन्य संघ, संस्थाले पनि समर्थन गरेका थिए भने नयाँ र युवा पुस्ताले कोसिस टिमलाई समर्थन गरेका थिए । यसैगरी विगत १२ वर्षदेखि नेतृत्वमा रहेको संस्थापन पक्षले भारतीलाई समर्थन गरेको थियो । तर, मतदाताले संस्थापन पक्षलाई तेस्रो बनाइदिए भने जितेन्द्रलाई आगामी तीन वर्षका लागि सामाजिक सेवाको क्षेत्रमा काम गर्ने जिम्मेवारी सुम्पिए ।
अरू विजेता को-को हुन् र कति मत ल्याए ?
एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित आठजना कार्यसमिति सदस्य उम्मेदवार रहेको यो निर्वाचनमा जितेन्द्र टिमले पाँचजना सदस्यलाई उम्मेदवार बनाएको थियो । ती सबै उम्मेदवार विजयी भएका छन् भने बाँकी तीन सदस्यमा कोसिस टिमका दुई र भारती पक्षबाट एकजना निर्वाचित भएका छन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा जनक थापा ९८५ मत ल्याएर विजयी हुनुभएको थियो ।
उपाध्यक्षमा विजयी हुनुभएका ब्रजेश महर्जनले एक हजार १२५ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा सलिन बस्नेत एक हजार ००१ मतले विजयी हुनुभयो । त्यस्तै, सचिवमा विजयी सुशील खत्रीले ९३९ मत ल्याउनुभयो । कोषाध्यक्षकी उम्मेदवार सञ्जु डंगोलले ९९७ मत ल्याएर विजयी हुनुभयो ।
यसैगरी कार्यसमिति सदस्यमा हृदय केसी (एक हजार ३७७), प्रवीन लामा (एक हजार ३४६), राजु सुवेदी (एक हजार ३३५), भुपेशजंग शाही (एक हजार ३१०), सोनीका चुनारा (एक हजार २६४), अर्जुन क्षेत्री (एक हजार २२०), लक्ष्मीराम (ललित) शाह (एक हजार १८३) र डा. कृष्ण विष्ट (एक हजार १७३) मत ल्याएर विजयी हुनुभएको थियो । प्रवीन लामा भारती टिमका एक्लो निर्वाचित सदस्य हुनुहुन्छ भने अर्जुन क्षेत्री र डाक्टर कृष्ण विष्ट कोसिस टिममा रहनुभएको थियो ।
को हुन् नवनिर्वाचित अध्यक्ष जितेन्द्र गुरुङ ?
नेपालको पर्वत जिल्लाका गुरुङ करिब एक दशक पहिलेदेखि बाल्टीमोरमा बसोबास गर्दै आउनुभएको छ । अत्यन्त सरल र मृदुभाषी गुरुङ नेपाली कांग्रेसको सक्रिय कार्यकर्तासमेत हुनुहुन्छ । सामाजिक रूपमा सबैसँग घुलमिल गरेर काम गर्ने स्वभावका गुरुङ बानामा सल्लाहकारसमेत रहनुभएको थियो । उहाँ पर्वत समाज, गुरुङ समाज, मगर समाजलगायत अन्य संघ, संस्थामा पनि आबद्ध हुनुहुन्छ । कोरोना संक्रमणका समय उहाँले समुदायमा निकै सक्रिय भएर काम गर्नुभएको थियो ।
यस पहिले बाना निर्वाचनमा सधैं विभाजित रहने नेपाली जनसम्पर्क समितिमा आबद्ध नेपाली कांग्रेस समर्थक सबैले यसपटक अभूतपूर्व रूपमा एक भएर जितेन्द्र गुरुङको टिमलाई सघाएका थिए । अन्ततः कांग्रेसहरूको बलियो र एकताबद्ध शक्तिको आड अनि स्थानीय समुदायका अगुवा प्रतिनिधिहरूको बलियो समर्थनले जितेन्द्र गुरुङको टिम विजयी भयो । यस पहिले सन् २००९ मा रविना थापा अध्यक्ष र पत्रकार गौतम दाहाल महासचिवमा निर्वाचित भएयता कांग्रेस निकट र समर्थक कोही पनि नेतृत्वमा निर्वाचित हुन सकेका थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच