सेयर लगानीकर्ताको ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू

Read Time = 2 mins

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।

उनीहरूले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । लगानीकर्ताहरूको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।

विद्यमान पुँजीगत लाभकर (५ प्रतिशत) र (७.५प्रतिशत) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरू सडकम उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।

आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरूमा पनि तालाबन्दी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बिहान हामी अर्थमन्त्री प्रकाशशरण महतको घरमा गएका थियौं तर त्यहाँ प्रहरीले रोक्यो । त्यसपछि हामी आएर ब्रोकरको कार्यालय तालाबन्दीमा सक्रिय भएका छौं । हामीले क्षेत्र–क्षेत्र तोकेर टोली नेताहरु खटाएर छौं।’

लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर लाताबन्दी कार्यक्रम सफल पार्न अनुरोध गर्नुभएको छ । उहाँले कुनै ब्रोकरलाई नखोल्न अनुरोधसमेत गर्नुभएको छ । यदी ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उहाँले बताउनुभयो ।

पूँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?