यो वर्ष औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान, विपद् व्यवस्थापन पूर्व–तयारीबारे तत्कालै ध्यान दिन सरकारलाई सांसद र विज्ञको आग्रह

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । वर्षाको मौसम सुरु भएको छ । वर्षाको मौसम सुरु भएसँगै बाढी पहिरोका केही घटना सार्वजनिक हुन थालेका छन् । मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

यसै वर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन् । यो वर्ष नेपालमा एक हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व-तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । तर, सरकारको पूर्व-तयारी भने देखिएको छैन । यसमा सरोकोरवालाहरूले चिन्ता व्यक्त गरेका छन् । विपद् व्यवस्थापन र पूर्व-तयारीमा ध्यान पुर्‍याउनु उनीहरूको आग्रह छ । विगतका घटनाबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि समयमै सचेत हुनुपर्ने देखिन्छ ।

बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्व–तयारीको काममा अहिलेदेखि नै ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरूको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सचेतक भुसालले विगतका घटनाबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताउनुभयो । सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड थियो ।

‘सरकारले बाढी आउने ठाउँका बसोवासलाई अन्यत्र सारेर भए पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै, खेती, बालीलाई नोक्सान हुन नदिन सरकारले विभिन्न किसिमका राहतका कार्यक्रम किसानसमक्ष पु¥याउनुपर्ने अवस्था पनि हुन्छ । कतिपय पहिरोले घरहरू पुरिएर विस्थापित हुनुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘त्यसको तथ्यांकहरू र विगतको घटनाहरूलाई लिँदै आएर त्यो घटनाहरू फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रूपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनुपर्छ । तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरू गर्नुपर्ने हुन्छ ।’

यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले सम्भावित विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहनुपर्ने बताउनुभयो । उहाँले मनसुनबाट हुने क्षतिलाई अहिले नै अनुमान गर्न नसकिने भन्दै कमभन्दा कम क्षति हुने गरी पूर्व–तयारीमा जुट्नुपर्ने धारणा राख्नुभयो । घटनापछि तत्काल ‘रेस्पोन्स’ गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । ‘विपद् व्यवस्थापन प्राधिकरण नै छ । सरकारको मातहतमा । त्यसो हुँदा तयारी गरेको होला भन्ने हो । सम्भावित विपद् बाढी, डुबान, पहिरो लगायतका अहिलेका सिजनमा हुने विपद्को तयारी गरेकै छ । तयारी आफ्नो ठाउँमा छ । खासगरी मनसुनबाट हुने क्षति अनुमान नै गर्न सक्दैनौँ । कमभन्दा कम क्षति हुने गरी तयारी र घटना घटिसकेपछि त्यसलाई रेस्पोन्स गर्ने हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी, नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्यधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताउनुभयो । उहाँले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने बताउनुभयो । विपद्को सम्बन्धमा सरकारले सचेतना फैलाउनुपर्ने र पर्याप्त बजेट विनियोजन गरेर राख्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले सरकारले कुनै पूर्व–तयारी नगरेको बताउनुभयो ।

यस्तै, सांसद पाठकले विपद् व्यवस्थापनमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले पनि पर्याप्त बजेट विपत व्यवस्थापन र पूर्व–तयारीका लागि छुट्याउनुपर्ने बताउनुभयो । साथै विपद् परेको अवस्थामा तत्काल उद्धार गर्नका लागि एउटा युनिट गठन गरिराख्न पनि उहाँले स्थानीय तहलाई आग्रह गर्नुभयो ।

‘बाढी, पहिरोमा बढी क्षति किन भयो भन्दा गाउँघरमा जथाभावी डोजर हालेर हो । त्यसकारणले यस्ताखालका विकास निर्माणका कामहरूमा पनि हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ’, उहाँले भन्नुभयोे, ‘डोजरे विकासको अन्त्य गर्ने । स्थानीय तह नीति, कार्यक्रम, बजेट बनाउने ठाउँमा हुनुहुन्छ । पहिलो कुरा, विपद् व्यवस्थापनका लागि एउटा युनिट गठन गर्नुस् । र त्यसमा बजेट पर्याप्त राख्नुस् ।’

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भूभाग र मधेश प्रदेशका केही भूभागमा बाहेक अन्य बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने भएकोले बेलैमा सजग हुनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी काठमाडौंबाट पश्चिमका क्षेत्रहरूमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसअनुसार पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो । उहाँले हरेक जिल्लामा पूर्व-सूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नु नहुने बताउनुभयो । विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपतकालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्व-तयारी थाल्नुपर्ने बताउनुभयो । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?