असार अन्तिममा ‘सिल्ली फो’ आउने

Read Time = 4 mins

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । राजबहादुर सानेद्वारा निर्देशित यो चलचित्र कमेडी जनरामा निर्माण भएको चलचित्र हो ।

आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टिमले चलचित्रबारे जानकारी गराउनुभयो । अभिनेत्री केकी अधिकारी चलचित्रमा एकमात्र मुख्य महिला कलाकारको रूपमा रहनुभएको छ । सिल्ली फोमा उहाँ अभिनयमा संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गर्नुएको छ । चलचित्रमा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकीले बताउनुभयो । चलचित्रमा राजाराम पौडेल र रविन्द्र झाको मुख्य भूमिका छ ।

कार्यक्रममा केकीले भन्नुभयो, ‘चलचित्रमा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई सुरुवातको दिनहरू याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले सिनेमामा अभिनय गर्न धेरथोर सहज भयो ।’

निर्देशक राजबहादुर सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो । यो चलचित्रबाट सिकेको कुरा भोलीका दिनमा राम्रो सिनेमा निर्माण गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । सिनेमाले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । कुनै पनि विदेशी सिनेमाबाट प्रभावित नरहेको दाबीसहित सिल्ली फोले नेपाली समाजभित्रको वास्तविक कथा भन्नेछ ।’

कलाकारद्वय राजाराम पौडेल र रविन्द्र झाले चलचित्रमा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै सिनेमा राम्रो बनेको दाबी गर्नुभयो । चलचित्रमा धीरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बरबहादुर विष्ट, सौजन बोहोरा, जयमन विश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय छ ।

मनोज डिके निर्माता रहेको चलचित्रका सह-निर्माता विशाल श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भिएफएक्स छ । चलचित्रलाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?