किन हुन्छन् नक्क्ली र किर्ते कार्य !

हिमालय टाइम्स
Read Time = 6 mins

किन सबै क्षेत्रमा नक्कली र किर्ते काम हुन्छन् भन्ने प्रश्नको जवाफ सजिलै दिन सकिँदैन । यो मानिसको मनोविज्ञानसँग जोडिएर आउने सवाल हो । सजिलै एकै शब्दमा जवाफ दिन नसकिने प्रश्नको उत्तर तर्कबाट खोज्नुपर्ने हुन्छ । यसो गर्नाले वा तर्कपूर्ण ढंगले जवाफ दिँदा सबैको जवाफ एकै हुनुपर्छ भन्ने छैन । फरक मानिसका फरक–फरक जवाफ हुन सक्लान् तर एउटा कुरा के हो भने यस्ता ठगी छलकपट, छली, चोरी, डकैती वा किर्ते कार्यहरू मानिसले गरिरहेका घटना भने यथार्थ नै हुन् । यस्ता कार्य लालच, प्रलोभन वा छिट्टै धनी हुने आसयले गरिन्छ । त्यस्ता कार्य समाजको तल्लो वर्ग वा गरिब र अनपढबाट मात्र हुन्छन् भन्ने होइन ।

धनी र शिक्षितहरूबाट अझै बढी हुने गर्छन् । अझै भन्ने हो भने उच्चपदासीनहरूबाट बढी भइरहेका हुन्छन् । समाजका केही जाली फटाहाबाट गलत मनसाय लिई गर्न लागिएका यस्ता कार्यमा जिम्मेवारीमा बस्नेहरूबाट सहयोग हुन जान्छ र यस्ता कार्य सम्भव हुन्छन् । नत्र उनीहरू सफल हुन सक्ने थिएनन् । सन्दर्भ हो हालै जीवित मानिसलाई मरेको भनी मृत्यु दर्ता प्रमाणपत्र बनाएर सात करोडको जग्गा बेचेर खाइदिने भूमाफियाहरूको कृत्यको । यस्ता माफियाहरूले केसम्म गर्नसक्छन् भन्ने कुराको दृष्टान्त हो यो । नमरेको मानिसलाई मरेको भनेर प्रमाणपत्र बनाउने र उनीहरूको सम्पत्ति खाइदिनेमात्र होइन यस्ता कार्यका लागि सरकारी कार्यालयका मानिसहरूलाई समेत आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्न उनीहरू सफल हुने रहेछन् भन्ने देखिन आउँछ ।

विदेश गएर बसेका मानिसका स्वदेशमा रहेको उनीहरूको सम्पत्ति कहाँ-कहाँ छ भनेर खोजी-खोजी त्यसलाई सरकारी कार्यालयका हाकिमसँग मिलेर कागजात मिलाई खाने काममा यस्ता गिरोहहरू कतिपय ठाउँमा सफल भएका छन् । प्रहरीले दिलचस्पी दिएर खोजी गरेका खण्डमा उनीहरू कानुनी कठघरामा पुग्न सक्छन् । यसैको उदाहरण हो जीवित शान्तिदेवी लोहनीको मृत्यु भइसकेको भनी उहाँको कीर्तिपुरको जग्गा अरूलाई बिक्री गरी ठगी गर्न सफल गिरोमा संलग्न व्यक्तिहरू पक्राउ परेको घटना । यस्ता घटना यो मात्र होइन र यसरी ठगी गर्ने गिरोहका सदस्य यी मात्रै होइनन् । यस्ता अनेकौं घटना र व्यक्ति होलान् यस्ता कार्यमा संलग्न हुने तर कतिपय अझै पक्राउ नपरिरहेका हुन सक्छन् ।

उनीहरू आफू सफल भएकोमा त्यसरी ठगी गरेर कमाएको पैसाले आरामी जीवन बिताइरहेका हुनसक्छन् । सफल भएको आत्मरतिमा रमाइरहेका हुनसक्छन् । समाजले नवधनाड्य नाम दिएको वर्गको एउटा पक्ष यस्तो वर्ग पनि हो जो समाजमा रवाफ देखाउनसमेत पछि पर्दैन । यसका लागि कानुन कमजोर छैन तर तिनको कार्यान्वयन गर्ने पक्षले तदारुकता नदेखाउँदा, कार्यान्वयन गर्ने/गराउने वर्ग नै त्यस्ता गिराहको प्रलोभनमा पर्दा पीडितहरूले न्याय पाउन सकिरहेका छैनन् । हाल राज्यमा प्रजातान्त्रिक राज्यप्रणाली छ, प्रजातन्त्र भनेको स्वतन्त्रता हो तर सबै खालमा मानिसले जे गर्न पाउने छुट प्रजातन्त्रले दिँदैन । प्रजातन्त्रमा जे पनि गर्न पाउनुपर्छ भन्ने सोच बद्मास मनस्थितिका मानिसहरूको मनोगथ स्वार्थप्रेरित विचार हो । गलत गर्नेलाई कारबाही गर्न प्रजातन्त्रले रोक्नु हुँदैन । प्रजातन्त्र यसको बाधक बन्दैन र बन्नु पनि हुँदैन ।

यस्तै अर्को घटना झापाका दुर्गा प्रसाईंले निम्ता गरेका दुबईका राजकुमार भनिएका व्यक्ति, नक्कली राजकुमार भएकाले कोही व्यक्तिले कसरी राज्यलाई गुमराहमा राख्नसक्छन् भनेर देखापरेको छ । नक्कली राजकुमारलाई सक्कली ठान्दा राष्ट्रको खर्च तथा जनशक्तिसमेतको दुरुपयोग भएको छ । व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थले प्रेरित भएर गरेको कामले राष्ट्रको खर्च हुनुका साथै कूटनीतिक सवालमा नकारात्मक प्रभाव पर्नसक्ने रहेछ भन्ने देखिएको छ । यसतर्फ सचेत रहनु व्यक्ति तथा राज्यको दायित्व देखिन आउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?