नगरपालिकाका मेयरसहित २१ जनप्रतिनिधिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । प्रचलित ऐन नियमविपरीत लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला समन्वय समितिको रोहवरमा भएको छलफलमा गजुरा र फतुवा विजयपुर नगरपालिकाबीच संयुक्त रूपमा ढुंगा गिट्टी र बालुवाको ठेक्का लगाउने र त्यसबाट प्राप्त हुने आयको ६० प्रतिशत फतुवा विजयपुर र ४० प्रतिशत गजुराले लिने सहमति भएको थियो । तर, फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा लाल बकैया नदीको ठेक्का लगाएको प्रचलित ऐन नियमविपरीत लगाएको अख्तियारको ठहर छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त अनियमिततामा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका प्रमुख रहेका मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ती देवी, वडा नं. १ का तत्कालीन वडाध्यक्ष सञ्जय प्रसाद, २ नम्बर वडाका तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, ८ का तत्कालीन वडाध्यक्ष एवं हाल नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको हो ।

त्यस्तै, वडा नं. १० का तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद चौधरी, वडा नं. ११ का तत्कालीन र हालका अध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, तत्कालीन सदस्य र हाल वडा नं. ७ का वडा सदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फूलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दायर भएको छ ।
२०७५ पुस १५ मा लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा त्यसविपरीत मिलेमतोमा सम्झौता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले प्रतिवादीबाट फतुवा विजयपुर र गुजरालाई क्रमशः ६० र ४० प्रतिशत रकम दिलाउन पनि मागदाबी लिएको छ ।

यसैगरी, अख्तियारले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साहलाई पनि प्रतिवादी बनाएर बिगो, कैद र जरिवाना मागदावीसहित मुद्दा दायर गरेको छ ।

नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन र धरौटी जफत नगरेको, पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि निजको धरौटी जफत गरी दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताका लागि बोलाउनुपर्नेमा त्यसो नगरी ‘अमानत’बाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको र धरौटी जफतका लागि कुनै पनि पहल नगरेको आरोपमा रोका, ढुंगल र साहलाई प्रतिवादी बनाइएको छ । जनप्रतिनिधिबाहेक तीनजना कर्मचारीको हकमा पनि अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?