नेपाल-चीन लगानी सम्मेलनलाई सघाउन आग्रह

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल-चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेको जानकारी गराउँदै वेइजिङस्थित नेपाली दूतावासलाई सहयोगका लागि आग्रह गर्नुभएको छ । कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्ताका क्रममा ढकालले उक्त आग्रह गर्नुभएको हो । नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकोमा पनि उहाँको विशेष जोड थियो ।

कोरोनापछिको विश्वव्यापी मन्दीमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्‍याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा हाम्रो कूटनीति सक्रियरूपमा लाग्नुुपर्ने उहाँले बताउनुभयोे । नेपाली वस्तु चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको ढकालले बताउनुभयो ।

सो अवसरमा राजदूत श्रेष्ठले महासंघका सुुझावलाई आफूले प्राथमिकतासाथ अघि लैजाने विश्वास दिलाउनुुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गाँस्ने रणनीतिसहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा महासंघका पूर्वअध्यक्ष एवं नेपाल-चीन गैरसरकारी सहयोग मञ्चका सहसभापति विनोदबहादुर श्रेष्ठ, महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?