बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप, जेठ महिनामा १३.३ प्रतिशत वृद्धि

Read Time = 6 mins

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.३ प्रतिशतले बढेको छ ।

२०७९ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो । २०७९ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठमा यस्तो निक्षेप अंश ४१.२२ प्रतिशत थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १५.७ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १३.१ प्रतिशत, विकास बैंकको कर्जा प्रवाह १४.७ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ ।

२०७९ जेठमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घरजग्गा धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति धितोमा प्रवाह भएको छ । २०७८ जेठमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत थियो ।
आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले बढेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.७ प्रतिशत, ओभरड्राफ्ट कर्जा १२.६ प्रतिशत, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १६.८ प्रतिशत र हायर पर्चेज कर्जा २.५ प्रतिशतले बढेको छ भने ट्रस्ट रिसिट (आयात) कर्जा ५३.८ प्रतिशत र मार्जिन प्रकृति कर्जा १७.६ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ जेठमा एक खर्ब १४ अर्ब ९७ करोड लगानीमा रहेको छ । २०७९ जेठसम्ममा एक लाख ४७ हजार एक सय ४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार छ सय १८ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार छ सय ६९ महिला उद्यमीलाई प्रवाह भएको ७२ अर्ब ३८ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ६० ऋणीको तीन अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ जेठसम्ममा एक अर्ब १५ करोड स्वीकृत भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?