काठमाडौं । ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्ने भएको छ । एकजना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सिआइबीमा पठाएको हो । ललितपुरका एसएसपी शेखर खनालका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारैजना व्यक्तिहरू र मिसिल पठाइसकेको छ । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौँ । तर, यसमा सिनियर अफिसरको कुरा पनि आएको छ । अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सिआइबी पठाएका हौँ,’ उहाँले भन्नुभयो ।
यस घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो । संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरिसकेको छ ।
अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैँसेपाटीमा इञ्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको थियो । तर, उनी अझै फरार नै छिन् । अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको छ । प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सिआइबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो । यही टोलीले दरबारमार्गमा हुँदा पनि १६ लाख हनी ट्र्यापमा पारी रकम असुली गरेको पक्राउ परेका ताजले बयानमा भनेका छन् ।
व्यवसायीलाई हनी ट्र्यापमा पार्न युवतीलाई अनेक माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने र रकम नदिए बलात्कारको उजुरी हाल्न लगाउने गरेको ललितपुर प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । सिआइबीले गम्भीर प्रकृतिको घटना अनुसन्धान गर्दै आएको छ । सिआइबीले हनी ट्र्याप बारेको घटना अनुसन्धान गर्न लागेको यो पहिलोपल्ट हो । ललितपुर प्रहरीका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले संगठित अपराध र अरू जिल्लामा समेत उनीहरूले हनी ट्र्यापमा पारेर रकम असुल गरेको देखिएपछि सिआइबीलाई जिम्मा लगाइएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यो संगठित गिरोह हो । उनीहरूको संलग्नता ललितपुर जिल्लाबाहेक पनि देखिन्छ । केही प्रहरी अधिकारीको भूमिका पनि शंकास्पद छ । त्यो अनुसन्धान सिआइबीबाट गर्दा अझ राम्रो हुन्छ ।’
यसरी जोडिएका थिए एसपी थापा
सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका बेला एसपी कमल थापा र ताजबीच सम्बन्ध थियो । उनै एसपी थापामार्फत ताजले भैँसेपाटी प्रभागकी तत्कालीन इन्सपेक्टर शाहीसँग मिलेर व्यवसायीलाई फसाउने योजनाका साथ बार्गेनिङ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी थापा (हाल मुख्यालय तानिएका) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला इन्सपेक्टर बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । सोही चिनजानमा एसपी थापाको सिफारिशमा उनीहरू भैँसेपाटी पुगेको प्रहरीको दाबी छ । तर, पक्राउ परेका चारै जनाले शाहीसँग चिनजान नभएको बताएका छन् ।
ललितपुर परिसरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ । हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज र एसपी थापाबीच एकपटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सिसिटिभी फुटेजसमेत समितिले फेला पारेको छ । त्यति मात्रै होइन, उनीहरूबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेण्टमा असोज ७ गते साँझ साढे ६ बजे भेट भएको फुटेजसमेत समितिले प्राप्त गरेको थियो ।
निलम्बित शाहीको खोजी हुँदै
सुनसरीको घटना हो भन्ने थाहा हुँदाहुँदै कार्यक्षेत्र भन्दा बाहिरको घटनाको सम्बन्धमा जाहेरी लिएर व्यवसायीलाई हनी ट्र्यापमा पार्न मद्धत गरेको आरोप प्रहरी निरीक्षक बिनु शाहीमाथि छ । उनले उपल्लोे तहमा घटनाको विषयमा जानकारी गराउनुको साटो उल्टै आरोपितलाई साथ दिएको पाइएको छ । अनुसन्धानका क्रममा रकम जम्मा गर्न लगाउनेदेखि मोबाइलसमेत गायब बनाउने भूमिकामा शाहीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । ललितपुर परिसरले पनि डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्सपेक्टर शाहीले नै गायव पारेको निष्कर्ष निकालेको छ । त्यति मात्रै नभएर १३ लाख र सात लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । उक्त रकम जम्मा गर्न एभरेष्ट बैंकसम्म शाहीकै गाडी पुगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
असईसहित दुई प्रहरी लुटपाटको आरोपमा पक्राउ
काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ । कलंकीस्थित एक रेष्टुरेण्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो । उनीहरू दुवै जनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पिसिबी)मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।
पुरानो लेदरको पैसासहित रेष्टुरेण्टमा पुगेका युवकलाई हतकडी लगाउन उनीहरूले बिचौलियालाई हतकडीसमेत दिएको खुलेको छ । त्यतिबेला उनीहरू रेष्टुरेण्टबाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवकसामु देखिएका थिएनन् । लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेको खुलेको छ । पछि लेदरको पैसा लिएर रकम नदिई उनीहरू त्यहाँबाट भागेका थिए । लेदरको पैसा लिएर आएका युवक र ती बिचौलिया भने फरार छन् । उनीहरूको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । लुटपाटको घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सूचना पुगेपछि अनुसन्धान अघि बढाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच