कस्तो थियो, कस्तो भयो हाम्रो फुटुङ्ग ?

हिमालय टाइम्स
Read Time = 11 mins

-श्रीराम फुटुङ्गे

काठमाडौं । शहरको नजिक हुनु र सञ्चारको पहुँच एवम् आर्थिक हैसियत वृद्धिको कारणले फुटुङ्ग पनि आधुनिकीकरणको अनुशरणमा उभिएको छ। जागिर, प्रशासनिक एवम् व्यापारिक काम, उच्च शिक्षा एवम् सिनेमा हेर्न शहर आउने चलनले यहाँ आधुनिकताको अनुशरण बढ्दै गएको हो। अहिले आधुनिकीकरणको प्रभाव सबै संस्कार र शैलीहरूमा परिसकेको छ भने यो क्रम बढ्दो छ। यहाँका बासिन्दाको लवाइ-खवाइ, घर निर्माणजस्ता भौतिक कुराहरूमा मात्र होइन व्यवहारमा समेत भिन्नता आएको देखिन्छ। यहाँको जीवन शैलीमा आधुनिकता र शहरिया परिवेशको प्रभाव बढ्दो छ। आफ्नोपन विस्तारै विस्तारै हराउँदै जान थालेको छ।

बस यातायात सञ्चालन

२०५० सालदेखि फुटुङ्गमा बस यातायात सेवा सुरु भएको हो। त्यसअघि मानिसहरू आफनै साइकल, मोटरसाइकल तथा केही गाडी र धेरैजसो हिँडेरै गन्तव्यसम्म पुग्थे। यहाँ बस चल्नु अघि उत्तरी भेगका टोखा, धर्मस्थली, काभ्रेस्थली या शेषमति हुँदै जीतपुरतर्फ बस सेवा सुरु भएकै थिएन। बस यातायातको सम्भावना देखेर फुटुङ्गमा पहिलो पटक एउटा बस चलाउन थालिएको थियो। बस चल्न थालेपछि यहाँका मानिस औधी खुशी भए। बालाजुकै स्थानीयले यहाँ बस चलाउन थालेका थिए।

त्यसपछि फुटुङ्गकै राजन मास्केको लगानीमा दुईवटा बस सञ्चालनमा आए। खत्री गाउँका स्थानीय चालक सिताराम के.सी. तथा राजेन्द्र मानन्धर (नुवाकोट) बस चालक थिए। सुरुमा फुटुङ्गचौरसम्म चलेको बस केही वर्षपछि चिम्बर पोखरी र त्यसपछि साङ्ले खोला क्लबस्थित माइलाको चिया पसलसम्म चल्न थालेका थिए। एक–एक घण्टाको अवधिमा चल्ने यी बस निकै खचाखच हुन्थे। छतसमेत यात्रुहरूले भरिन्थ्यो। त्यतिबेला फुटुङ्गदेखि बालाजु बाइपाससम्मको भाडा पाँच रुपियाँ थियो। अफिस, कलेज र बजार जाने तथा बिहान डोको बोकेर बालाजुसम्म तरकारी लानेलाई निकै फाइदा पुग्यो। दूध र रक्सी लानेलाई पनि सहज भयो। सुरुआतीताका यदाकदा बस चालकहरू फुटुङ्ग तथा साङ्लासम्मको गन्तव्य भनिए पनि साँझ परेपछि ती बसहरू नेपालटारसम्म मात्र आइ फर्कन्थे। यसबाट फुटुङ्ग एवम् साङ्लाका यात्रुहरूलाई असुविधा पुगे पनि आवाज उठाउन अन्कनाइरहेका थिए। अचेल बाटो केही फराकिलो एवम् सुधार भएकाले र यात्रुहरूको पनि चाप बढेसँगै बस सेवा नियमित सञ्चालनमा छन्।

ट्याक्टर ल्याउदा हेर्नेको भीड

बेलाबेला बालाजुबाट जिपमा दाना र चल्ला ल्याउने गरिए पनि बर्साद्का बेला गाडीहरू २०४७-४८ साल अघिसम्म फुटुङ्गसम्म आउन सक्ने स्थिति थिएन। गाउँमा कुखुरा पाल्ने चलन बढिरहेकाले दाना र चल्ला तथा कुखुरा बोक्न सहज हुने देखेर स्थानीय काजीराम खड्काले यहाँको बाटोमा ट्याक्टर नै उपयुक्त ठाने। अनि सबैसँग बुझेर उनी ट्याक्टर खरिदका लागि लागे जनकपुर। यो २०४३-४४ सालतिरको कुरा हो। त्यतिबेला यस्तो ट्याक्टर काठमाडौँमा भर्खर भर्खर फाटफुट देखिन थालेका थिए। उनले ल्याएको ज।अ।त। ५०४ नम्बरको ट्याक्टर फुटुङ्गमा सम्भवतः पहिलो पटक थियो। यहाँ ट्याक्टर चलाउने व्यक्तिसमेत नपाइने अवस्था भएकाले उनले जनकपुरकै चौधरीलाई चालकका रूपमा लिएर आए। उनै चौधरीले हाँकेको ट्याक्टरमै बसेर खड्का जनकपुरदेखि आफनो घर फुटुङ्गसम्म दुई दिनमा आइपुगेका थिए। गाउँमा ट्याक्टरले प्रवेश पाएपछि ट्याक्टर हेर्नेको भीड नै लाग्यो। ठूला चक्का भएको यो ट्याक्टर हिलो या खाल्डाखुल्डी भए पनि गुड्न र भारी बोक्न सक्ने भएकाले कुखुरा पालनको कामलाई सहज हुने उनको विश्वास थियो। उनै खड्का पोल्ट्री व्यवसायमा केही वर्ष काम गरेपछि राजनीतिमा लागेका थिए। दुई कार्यकाल फुटुङ्गको गाविस अध्यक्ष पनि भए।

फेरिंदै घर तथा आवास शैली

यस ठाउँमा पहिलेका घरहरू काँचो माटोबाट निर्मित इँटाले बनेका थिए। धेरै घर पुरानै शैलीमा थिए। प्रायः क्षेत्रीहरूले तल्लो तल्लामा खानेकुरा पकाउने, त्यही खाने, नजिककै बाख्रा वा कुखुराको खोर बनाउने चलन थियो। नेवारहरूको भने बुइगलमा भान्छा हुन्थ्यो। कतिपय सम्पन्न एवम् आर्थिक अवस्था सवल हुने परिवारहरूले जस्ता वा टायल कतैकतै भक्तपुरे झिङ्गटीले समेत छाउने गर्दथे। घरको बाहिरपट्टि रातो, सेतो कमेरो र कतै निलो माटोमा रङ्ग मिसाएर लगाउने गरिन्थ्यो। प्रायः घरहरू दुई र कतै कतै तीन तलाका हुन्थे। यस्ता घरहरू बनाउने बेलामा यहाँ चर्पी बनाउने चलन भने चलिसकेको थिएन। घरभित्र चर्पी हुनुलाई फोहोर मानिन्थ्यो। प्रायः घरहरू दक्षिण मोहडा पारेर बनाउने र जग्गा अप्ठरो भएकाले मात्र पूर्व फर्काएर बनाउने चलन थियो। दक्षिण फर्केको घरको आँगन पारिलो हुने र बिस्कुन तथा अन्नपातहरू सुकाउन उपयोगी मानिन्थ्यो। प्रायः पूर्व र दक्षिण फर्केका घरहरूबाहेक पश्चिम र उत्तर फर्केका घरहरू कसैले बनायो वा बनेको देखेमा मानिसहरू अनौठो मान्थे। सडकका छेउमा भएका घरमा तलपट्टि दुईवटा ढोका राखेर कोठा निकालिन्थ्यो भने क्षेत्रीहरूको घरमा कौसी र नेवारहरूको बस्ती भएको ठाउँमा बार्दली हाल्ने चलन थियो। यद्यपि आज पनि कतै कतै यसलाई अनुशरण गरिएको पाइन्छ। गएको २० वर्षदेखि यहाँ नयाँनयाँ घरहरू विभिन्न शैलीमा बनाउने परिपाटी सुरु भएको छ। जसमा मानिसहरूले आरसिसी ढलान गरी झ्यालमा रेलिङ र सिसा हालेर बनाउने, आधुनिक ढाँचाका घरहरू बनाउने काम सुरु भइसकेको छ। चर्पी एवम् नुहाउने कोठा घरभित्रै बनाउने, घर बारीमा बगैँचा बनाउने तथा ससाना मन्दिर बनाउने चलनले लोकप्रियता पाएको छ। २०७२ को भुईँचालोमा क्षति भएपछि अहिले भने करिब ४ सय नयाँ बनेका घरको रूप बदलिएको छ।

असीमित दुःख

पैसाको अभावमा यहाँका धेरैले आफूले चाहेको जस्तो काम गर्न नसकेको सुनाउनुहुन्छ। फाटेको इष्टकोट १० ठाउँमा टालेर लगाउनु पर्ने बाध्यता थियो। प्रायः जीविकोपार्जनका लागि खेती किसानी र भैसीपालन मुख्य थियो। भैँसीको दूध बेचबिखनका लागि असन तथा इन्द्रचोकसम्म पुग्नुपर्दथ्यो केही कृषकहरूलाई। त्यतिबेला यातायातको साधन केही नभएकाले किसानहरू काँधमै हालेर पनि त्यहाँसम्म पुर्‍याउँथे, बेच्थे र फर्कन्थे। दूध बिक्रीको आम्दानी भरपर्दो आयस्रोतको माध्यम थियो। यसरी नै वषौँ बितेको थियो। साइकल एउटा हुने र रेडियो बजाउन सक्ने परिवार नै सम्पन्न परिवारमा गनिन्थे। कसैको साइकलको पछाडि बसेर बालाजुसम्म जानु पाइयो भने अत्यन्तै खुशी महसुस हुने समय थियो। त्यतिबेला गाउँमा हुने गरेका सामाजिक क्रियाकलापका तस्बिर खिच्ने चलन लगभग थिएन। महाराजगन्ज, बाँसबारी, असन, स्वयम्भु, रङ्गशालासम्म ज्यामी काममा आउनेहरू कति त हिंडेरै आउजाउ गर्थे। चक्रपथको काम गर्दा माटो खन्न जानेहरू बिहान सबेरै जान्थे। ठूलो सडक खन्न जानेहरूले गाउँमा खुशीको माहोल सृजना गरिदिन्थे। विकास आउन लाग्यो भनेर उनीहरूले फराकिलो सडकमा गरेको कामको कथा भनेर महिनौ बिताउनेहरूले आफनो ठाउँको सडक कहिले फराकिलो होला भनेर कसैलाई पनि सोध्न सकेनन्। जसले गर्दा अहिलेको सडकको स्थितिमा आइपुग्न पनि दशकौँ लाग्यो।

(करिब दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गे काठमाडौँको उत्तरी भेगमा पर्ने गाउँ फुटुङ्गका स्थानीय बासिन्दा हुनुहुन्छ। यही फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर श्रीरामले तयार गर्नु भएको पुस्तक( फुटुङ्गः इतिहास, संस्कृति र विकासको केही अंश प्रस्तुत गरेका हौ।) सम्पादक।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?