लगातार फिल्म फ्लप भएपछि भगवान राम र शिवको भरोसामा अक्षयको करियर

Read Time = 3 mins

मुम्बई । पहिला ‘बच्चन पाण्डे’, फेरि ‘सम्राट पृथ्वीराज’ र अहिले ‘रक्षाबन्धन’ । वर्ष २०२२ मा एकपछि अर्को लगातार तीन फिल्म फ्लप भएपछि अभिनेता अक्षय कुमार गिर्दो करियरलाई कसरी जोगाउने भन्ने तनावमा छन् ।

जबकि सन् २०२१ अगष्टदेखि यो अगस्टसम्म हेर्दा ‘बेल बटम’समेत जोड्दा चौथो फ्लप हो । यो बीचमा उनको मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ले मात्र बक्स अफिसमा उत्सव मनायो । जसरी दर्शकको हिन्दी फिल्मलाई लिएर स्वाद फेरिएको छ र बलिउडमा ‘बहिस्कार’को अभियान चलेको छ, त्यसले तमाम कलाकार र निर्देशकलाई चिन्तित बनाएको छ ।

अक्षय आफैंलाई पनि उनको ‘रक्षाबन्धन’ पनि फ्लपको सूचीमा पर्छ भन्ने विश्वास थिएन । फिल्मको प्रमोसनका लागि अक्षयले कुनै कसर बाँकी राखेका थिएनन् । उनी सहर-सहर घुमे पनि गत बिहीबार रिलिज भएको फिल्मले मंगलबारसम्म मात्र ३५ करोड १५ लाख रुपैंयाँको कारोबार गरेको छ । रोचक कुरा त के छ भने यो वर्ष अक्षयको फ्लप ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ भन्दा पनि ‘रक्षाबन्धन’को ओपनिङ खराब रह्यो ।

अक्षयको लागि बक्स अफिसमा अवस्था जति नै खराब भए पनि यो वर्षका बाँकी महिना र सन् २०२३ को १२ महिना ‘हिट’ हुने अवसर बाँकी नै छ । यो समयमा उनका दुई फिल्म ‘राम सेतु’ र ‘ओ माई गड २’ रिलिज हुँदैछन्, जसको सिधा सम्बन्ध भारतीय संस्कृति र धर्मसँग छ । यो फिल्मको कथा दर्शकले मन पराए भने निश्चित रूपमा अक्षय फेरि पुरानो शक्तिका साथ बक्स अफिसमा उभिन सक्नेछन् ।

‘राम सेतु’ एक्सन एडभेञ्चर फिल्म हो । जसमा उनले यस्तो पुरातत्व विज्ञको भूमिका निभाएका छन्, जो रामायणमा भनिएको राम सेतुको खोजी गर्छन् । फिल्म दिवालीको मौकामा २४ अक्टोबरमा रिलिज हुँदैछ ।

भगवान रामपछि अक्षयलाई ‘ओ माई गड २’ मा भगवान शिवको सहारा मिल्नेछ । फिल्ममा उनी भगवान शिवको भूमिकामा देखिँदैछन् । सन् २०१२ मा रिलिज कमेडी ड्रामा ‘ओ माई गड’ मा उनी भगवान कृष्ण बनेका थिए । फिल्म महाशिवरात्रीको अवसर पारेर सन् २०२३ मा रिलिज हुने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?