फेरि चुनावी एजेण्डामा प्रदेश राजधानी, लुम्बिनी प्रदेशसभा दाङमै हुने

हिमालय टाइम्स
Read Time = 5 mins

विवेक खड्का/हिटा
दाङ । गृहमन्त्री बालकृष्ण खाँणको दबाबका वावजुत लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानी दाङमै सार्ने तयारी थालेको छ । यसअघि शंकर पोख्रेलको नेतृत्वको सरकारले प्रदेशसभा स्थायी राजधानीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । वर्तमान सरकारले सोही निर्णयलाई टेकेर प्रदेशसभा सार्ने तयारी थालेको छ । निर्वाचनको मुखैमा राजधानी सार्न थालिएको भन्दै विरोध भएपछि यो प्रदेशको राजधानीको मुद्दा अहिले फेरि चुनावी एजेण्डा बन्न पुगेकोे छ ।

आफ्नो गृहजिल्ला बुटवलमा रहेको लुम्बिनी प्रदेशको प्रदेशसभा स्थायी राजधानीमा नसार्न गृहमन्त्री खाँणले दबाब दिएको भए पनि चुनावअघि नै प्रदेशसभाको अन्तिम बैठक दाङमै बस्नेगरी तयारी भइरहेको छ । स्थायी संरचना तयार नहुँदासम्म राजधानी सार्न नहुने भन्दै गृहमन्त्री खाँणले मुख्यमन्त्री कुलबहादुर केसीलाई राजधानी सार्ने तयारीबाट पछि हट्न भन्नुभएको थियो ।

तर, मुख्यमन्त्री केसी भने चुनाव अगाडि नै प्रदेशसभाको अन्तिम बैठक दाङमै बसाल्ने निर्णयमा अडिग देखिनुभएको छ । प्रदेश राजधानी दाङमा प्रदेशसभाको भवन निर्माण भइरहेको छ । अहिले भवन निर्माणको काम अन्तिम चरणमा छ ।

चुनावको मुखैमा राजधानी सारिँदा चुनावमा असर पर्ने खतरा देखेपछि गृहमन्त्री खाँणले मुख्य मन्त्रीलाई दबाब दिएको बुझिएको छ । आफ्नो गृह जिल्लामा रहेको प्रदेशसभा सारिँदा स्थायी राजधानीमै राजधानी स्थानान्तरण हुने र यसले चुनावमा ठूलो असर पर्ने खाँणको आँकलन छ । यसकारण अहिले नै प्रदेशसभा सार्न नहुने दबाब दिएको एक मन्त्रीले जानकारी दिनुभएको छ । ‘अहिले प्रदेशसभा सर्‍यो भने राजधानी पूरै सर्छ भन्ने उहाँको आँकलन छ,’ प्रदेशका ती मन्त्रीले भन्नुभयो, ‘यसो हुँदा आगामी निर्वाचनमा आफूलाई असर पर्ने खतरा देखेर उहाँ सजग बन्नुभएको हो ।’ गृहमन्त्री खाँण दाङमा राजधानी हुनु हुँदैन भनेर सुरुदेखि नै कठोर बन्दै आउनुभएको छ । अस्थायी मुकाम पनि उहाँकै भनसुनका आधारमा तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अपायक थलो बुटवलमा अस्थायी मुकाम तोकेको बताइएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेशसभा सार्ने निर्णयबाट पछि हट्न भने पनि गृहमन्त्रीको आग्रहलाई कार्यान्वयन पक्षमा प्रदेश सरकार भने देखिन्न । उसले स्थायी राजधानी कार्यान्वयनको प्रक्रियालाई जसरी पनि कार्यान्वयन गर्ने अडान लिएको छ । अहिले स्थायी राजधानीमा स्वास्थ्य मन्त्रालय सरिसकेको छ । यो मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय पनि केही दिनअघि मात्रै स्थायी राजधानीमा स्थानान्तरण भइसकेको छ ।

चुनाव अगाडि प्रदेशसभा सारेर स्थायी राधजानी कार्यान्वयनको कामलाई मूर्त रूप दिन खोजेको प्रदेश सरकारले प्रदेशसभासँगै थप केही मन्त्रालय पनि प्रदेशसभासँगै केही थप मन्त्रालय पनि स्थानान्तरण तयारी गरेको छ । ‘प्रदेशसभा चाहिँ चुनाव अगाडि अर्थात् यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्नेगरी सर्छ,’ ती मन्त्रीले भन्नुभयो ‘प्रदेशसभासँगै थप केही मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन् ।’ केही दिनअघि प्रदेशसभा भवनको सामान सर्ने क्रममा विवादसमेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?