बुद्ध जयन्तीमा लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री मोदी, ‘मानार्थ महाविद्यावारिधि’ दिने तयारी

Read Time = 3 mins

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदै हुनुहुन्छ । मोदीले चार वर्षपछि नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो  । ०७१ मा प्रधानमन्त्री भएपछि मोदीको यो पाँचौँ भ्रमण हो भने दोस्रोपटक प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री मोदीलाई ‘अनररी डक्टरेट’ अर्थात् मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । भ्रमणका अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्न लागेको हो । विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधि दिने निर्णय गरिसकेको विश्वविद्यालय महासभाका सदस्य डा. रमेश ढुंगेलले जानकारी गराउनुभयो ।

जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी उत्तर प्रदेशको कुशीनगर हुँदै लुम्बिनी आइपुग्ने कार्यक्रम छ । लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले विशेष कार्यक्रमलाई संयुक्त रूपमा सम्बोधन गर्नुहुने छ । नेपाल सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ । लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीबीच संक्षिप्त वार्ता पनि हुनेछ । मोदीले गौतम लुम्बिनी क्षेत्रमा ६ घण्टा बिताउनुहुने स्रोतले जनाएको छ ।

२५६६औँ बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तयारी तीव्र पारिएको छ । यद्यपि, भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक भइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?