सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी भेला गर्ने, आन्तरिक असन्तुष्टि मत्थर गर्ने प्रयास

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्ता गठबन्धनले आसन्न निर्वाचनलाई लक्षित गरी सातवटै प्रदेशहरूमा संयुक्त भेला गर्ने भएको छ । चुनावी तालमेल गरेका गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले आगामी कात्तिक पहिलो साता (कात्तिक ४ गतेदेखि ७ गतेसम्म) शीर्ष नेताहरूको उपस्थितिमा प्रदेशस्तरी संयुक्त भेला गर्ने निर्णय गरेको हो । भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीनजनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ । कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना गर्ने जनाएको छ । गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्नेछ । काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ । गठबन्धनका शीर्ष नेताहरूको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको चार दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देउवालाई रोक्ने मल्लको सपनामा धक्का
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँपटक चुनावी मैदानमा उत्रिनुभएको छ । सातौँपटक डडेल्धुरा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नुभएका देउवाले यसपटक कुनै समयका आफ्नै सहयोगी कर्ण मल्लको सामना गर्नुपर्ने भएको छ । यस्तै, देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालको पनि चुनौती सामना गर्नुपर्र्ने भएको छ ।

तर, नेकपा एमालेले नेपाली कांग्रेस (बिपी) का उम्मेदवारलाई सघाउने गरी तालमेल गरे पनि शुक्रबार मात्र तालमेल भंग भएको घोषणा गरेको छ । यसपटक एमालेको समर्थन भएकाले देउवाका मुख्य प्रतिस्पर्धी मल्ललाई हेरिएको थियो । तर, २०४८ यता भएका सबै संसदीय निर्वाचनमा डडेल्धुराबाट ठूलो मतान्तरले जित्दै आउनुभएका देउवासँग प्रतिस्पर्धामा उत्रिनुभएका मल्ललाई एमालेले समर्थन फिर्ता लिएसँगै देउवा गणितीय रूपमा थप बलियो बन्न पुग्नुभएको छ ।

०६४ यता डडेल्धुरामा देउवाका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज अधिकारी नै अहिले मुख्य सारथि बन्नुभएको छ । मल्लको साथमा एकीकृत समाजवादी डडेल्धुराका प्रभावशाली नेता डा. तारा जोशीको समूह उभिए पनि चुनावी परिणाममा कुनै फेरबदल नआउने कांग्रेसका नेताहरूको दाबी छ । गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशन प्रक्रिया बहिस्कार गर्नुभएका मल्ल गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनअघि पार्टीबाट अनिश्चित कालका लागि निष्कासित हुनुभएको थियो । पार्टीबाट निष्कासित भएपछि मल्ल कांग्रेस बिपीमा प्रवेश गर्नुभएको थियो । स्थानीय निर्वाचनमा एमाले र कांग्रेस बिपीको तालमेलले परिणाम प्राप्त गर्न सकेको थिएन । अहिले पनि बीचमै सहकार्य तुहिएको छ ।

सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन
प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा निर्वाचनमा प्रतिस्पर्धा गरिरहनु भएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको उक्त पार्टीले जनाएको छ । राजनीतिलाई आजीवन पेसा बनाएकाहरू, पटक–पटक परीक्षण भइसकेकाहरूको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सधँै सकारात्मक रहेको भन्दै पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘राजनीतिक सिण्डिकेट तोड्ने अभियानमा सागर ढकालहरूको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनुभएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।’

हँसिया हथौडामा भोट हाल्दा कांग्रेसका हात नकाँपुन् : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरूले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठिक नहुने जिकिर गर्नुभएको छ । गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘कसरी रूखमा भोट हाल्ने भन्ने एकथरी साथीहरूलाई भएको छ । अर्कोतिर कसरी हँसिया हथौडामा भोट हाल्ने भन्ने भएको छ । यस्तो भन्ने साथीहरूले शान्ति सम्झौता, संघीयता र गणतन्त्र बुझेनन् । मैले त्यसबेला गिरिजाबाबुसँग हस्ताक्षर गर्नु भनेको रूखमा भोट हाल्नु हो । उहाँले पनि हँसिया हथौडामा भोट हाल्नु हो । त्यसबेला गिरिजाबाबुलाई पनि माओवादीसँग हात मिलाउने कुरा कम जोखिमपूर्ण थिएन । विदेशी शक्ति पनि माओवादीसँग गिरिजाले हात नमिलाओस् भन्ने चाहन्थे । तर, पनि हामीले शान्ति सम्झौतामार्फत देशलाई यहाँसम्म ल्याएका छौँ ।’

गठबन्धन सत्ताका लागि मात्र होइन : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा शनिबार आयोजना गरिएको अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको जिकिर गर्दै गठबन्धन सत्ताका लागि नभई लोकतन्त्र बचाइराख्न भएको दाबी गर्नुभयो । लोकतन्त्रमाथि निरन्तर धावा बोल्नेक्रम अहिले पनि जारी रहेकाले गठबन्धन आवश्यक भएको जिकिर गर्दै पौडेलले भन्नुभयो, ‘गठबन्धन सत्ताका लागि नभई देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्नको लागि हो । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढाएको हो ।’ वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको जिकिर गर्नुभयो ।

कांग्रेस-माओवादी गठबन्धनलाई २० वर्ष कायम राख्नुपर्छ : महरा
सत्तारूढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अहिलेको गठबन्धनलाई २० वर्षसम्म सँगै लैजाने दाबी गर्नुभएको छ । रामेछापका गठबन्धन उम्मेदवारहरूसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व-सभामुखसमेत रहनुभएका उपाध्यक्ष महराले देशको समृद्धि अभियान सफल बनाउन वर्तमान गठबन्धन निरन्तर हुनुपर्ने बताउँदै भन्नुभयो, ‘प्रतिगमनलाई परास्त गर्न बनेको यो गठबन्धनलाई २० वर्ष लैजानुपर्छ र देशलाई विकास गर्नुपर्छ । कांग्रेस र माओवादी मिलेरै देश बनाउने हो । केपी ओलीको नेतृत्वको सरकारले गरेका गलत कामका कारण देश आर्थिक रूपमा संकटमा परेको छ । कांग्रेस माओवादी नमिल्ने हो भने केपी ओलीले फेरि प्रतिगमन गर्ने खतरा छ ।’

गठबन्धनले चुनाव जिते मात्रै देशले लय समात्छ : डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गर्नुभएको छ । शनिबार वाम–लोकतान्त्रिक गठबन्धन रामेछापले काठमाडांैमा गरेको कार्यक्रममा गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने दाबी गर्नुभएको हो । आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने दाबी गर्दै महतले भन्नुभयो, ‘संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको हो । पार्टीको केन्द्रीय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको हो । नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण छैन । संविधानमा भएको भावना,मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको छ ।’

घनश्यामको क्षेत्रमा स्वतन्त्र उम्मेदवार धेरै
आसन्न निर्वाचनमा टिकट नपाएपछि हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बन्नुभएका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी नेता भुसालको क्षेत्रमा नौ दलले उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्र रूपमा भुसालसहित १२ जना उम्मेद्वार छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले चुनाव जित्नुभएको थियो । अहिले पूर्व-एमाले नेता भुसाल स्वतन्त्रबाट त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुभएको छ । एमाले देवदह नगर कमिटीको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार टीकाराम चापागाईंदेखि कांग्रेस छाडेर स्वतन्त्र बस्नुभएका मातृकाप्रसाद यादवसम्मको उम्मेदवारी यस क्षेत्रबाट रहेको छ । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा २१ जनाले उम्मेदवारी दर्ता गरेकोमा १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?