सहकारी सन्दर्भ ब्याजदर पुनरवलोकनको माग

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर पुनरवलोकन गर्न माग गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सन्दर्भ ब्याजदर पुनरवलोकन गर्न माग गरेको हो । ब्याजदरमा उतारचढाव आउँदा सहकारीका लागि क्यापिङका रूपमा निर्धारण भएको सन्दर्भ ब्याजदरले समेत थप प्रतिकूल अवस्था सिर्जना गरेको महासंघले जनाएको छ ।

तत्काल सन्दर्भ ब्याजदर पुनरवलोकनका साथै सन्दर्भ ब्याजदरलाई क्यापिङका रूपमा नभई बजारअनुरूप स्वचालितरूपमा निर्धारण हुने कानुनी व्यवस्था मिलाउन महासंघले माग गरेको छ । सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनीकरण गर्न ऐन नियमावलीमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण, बचत तथा कर्जा सुरक्षण गठनमा ढिलाइ भएका कारण सहकारी संघसंस्थामा जोखिम बढ्दै गएको देखिएको महासंघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष स्थापना तथा कर्जा असुली न्यायाधीकरणको गठन तत्काल गरिनुपर्ने महासंघले उल्लेख गरेको छ ।

पछिल्लो समय वित्तीय अनुशासनका अभावले केही संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण भएको भन्दै सहकारी संघसंस्थाले आफ्ना सदस्यसँग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोबार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराब कर्जा असुलीमा विशेष ध्यान दिनसमेत महासंघ सरकारसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?