पुस्तक : श्रीमद्भगवद्गीता झ्याउरे छन्दमा

✍️ सुशीला घिमिरे

जीवन सुवेदी नेपाल सरकारको पूर्वकर्मचारी हुनुहुन्छ । उहाँ साहित्यकार त हुँँदै हुनुहुन्छ साथै अध्यात्म क्षेत्रको लेखनमा बढी रुचि राख्नुहुन्छ । उहाँको हालै प्रकाशित पुस्तक श्रीमद्भगवद्गीताको झ्याउरे छन्दमा नेपालीमा लेखन भएबाट पनि यस कुराको पुष्टि हुन्छ । पुस्तक डिएमआई साइजमा छ र यसको सर्वाधिकार उहाँ आफैँमा रहेको छ । पहिलो संस्करणका रूपमा २०७९ साल असार महिनामा पुस्तक १०००प्रति प्रकाशित भएको छ ।

यसको लेआउट मनिस थपलियाले ‘यो किताब’ संस्थाका तर्फबाट गर्नुभएको छ । ‘यो किताब’ यस पुस्तकको वितरण सहयोगी संस्था पनि हो । पुस्तकको मुद्रण नवीन सोच प्रिन्टिङ प्रेस सातदोबाटो, ललितपुरमा भएको छ । पुस्तकमा भूमिका खण्डमा १३ र पाठ्यखण्डमा १६१ गरी जम्मा १७४ पृष्ठ छन् । पुस्तकको मूल्य २०० रुपैयाँ राखिएको छ । पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग प्रयोग भएको छ । पुस्तकको छपाइस्तरीय छ भने अशुद्धिहरू कमैमात्र पाइन्छन् । यस पुस्तकको प्रकाशक श्रीमती सुमित्रा सुवेदी रहनुभएको छ ।

यस पुस्तकको आवरण सुनिल चित्रकारले तयार पार्नुभएको छ । आवरणामा ताराग्रहहरूसहितको ब्रहृमाण्ड र रूखमा बसेर बाँसुरी बजाइरहेका भगवान कृष्ण देखाइएको छ । साथै रूखका फेदमा पृष्ठभूमिमा महाभारतको युद्ध र रोकेको रथबाट झरेर भगवान कृष्णलाई प्रणाम गरिरहका अर्जुनसमेत रहेका छन् । आवरण आकर्षक र पुस्तकको भावनासँग मेल खाने खालको छ । भित्री पृष्ठमा पनि यही चित्रको पुनरावृत्ति भएको छ ।

संस्कृतमा लेखिएका अनि केही अनुवाद भएका भए पनि ती बढी नै बौद्धिक भएका कारण सामान्यभन्दा सामान्य मानिसले पनि गीताका बारेमा थाहा पाऊन् र त्यसबाट ज्ञान ग्रहण गर्न सकून् भन्ने उद्देश्यले जीवन सुवेदीले यसरी श्रमद्भगवद्गीताको झ्याउरेमा अनुवाद गर्नुभएको हो भन्न सकिन्छ ।

पृष्ठ आवरणमा भारतीय प्रौद्योगिकी संस्थान (काशी हिन्दू विश्वविद्यालय भनेर एकजनाको फोटो दिएको छ । उहाँको केही मन्तव्य पनि दिइएको छ तर यहाँ उहाँको नाम नभएका कारण पाठकलाई उहाँ को हो भनेर बुझ्न असजिलो भएको छ । तर, भित्र पढेपछि भने उहाँ उपप्राध्यापक डा.विश्वनाथ धिताल हुनुहुँदोरहेछ भन्ने थाहा हुन्छ । पृष्ठ आवरणको भित्रपट्टि लेखक जीवन सुवेदीको परिचय दिएएको छ । जसअनुसार उहाँ २०१८ साल भदौमा श्रीराम सुवेदी र श्रीमती नानीकान्छी सुवेदीका सुपुत्रका रूपमा हालको गोदावरी नगरपालिका वडा नं-९ ललितपुरमा जन्मनु भएको भन्ने जानकारी पाइन्छ । एमपिए, बिएल र बिएड गर्नुभएका सुवेदीले नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्षसम्म सेवा गरेर २०७६ साल भदौबाट सेवानिवृत्त हुनुभएको थाहा हुन्छ । जमर्को साहित्यिक मासिक पत्रिका जुन बज्रवाराही साहित्यिक समूह, चापागाउँ, ललितपुरबाट प्रकाशित हुनेगरेको छ त्यसको सम्पादन उहाँबाटै हुन गरेको छ ।

उहाँले यस पृष्ठमा साहित्य सेवाको प्रयास भनेर आपूmबाट सिर्जना भएका पुस्तकहरूको सूची उद्धृत गर्नुभएको छ । उहाँबाट सिर्जना भएका पुस्तकहरूमा सुनगाभा हाइकुसंग्रह २०५४, अन्तर्विरोध निबन्धसंग्रह २०६५, आहृवान कवितासंग्रह २०६५ र आँखा हाइकु तथा टंकासंग्रह २०६५ रहेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा उहाँका कथा, कविता, निबन्ध तथा लेख प्रकाशित हुँदै आएका छन् ।

पुस्तकभित्र सुरुमा अनुवादकले चार श्लोकमा माता, पिता र गुरुहरूलाई यो पुस्तक समर्पण गर्नुभएको छ । त्यसपछि अनुवादकले आवरण चित्रका बारेमा एक पृष्ठमा केही विचार राख्नुभएको छ भने त्यसपछि ‘श्रीहरये नम’ भनेर आफ्नो लेखकीय मन्तव्य राख्नुभएको छ । त्यसपछि अध्यत्म चिन्तक तथा चारवेदका नेपालीमा अनुवादक तिलकप्रसाद लुइँटेलले ‘श्रीमद्भगवद्गीता, लयमा सुनेर केही शब्द उपहार’ शीर्षकमा यस पुस्तकबारे आफ्नो श्लोकमै विचार व्यक्त गर्नुभएको छ ।

त्यसपछि लेखकले मंगलाचरण दिनुभएको छ र मंगलाचरणमा १८ श्लोकहरू रहेका छन् । गीताको झ्याउरेमा लेखन भएका कारण मंगलाचरणमा श्रीकृष्ण भगवानको स्तुति गरिएको छ । त्यसपछि भने श्रीमद्भगवद्गीताको अध्याय अध्यायको अनुवाद रहेको छ । पुस्तकमा गीताका १८ वटै अध्यायको अनुवाद छ । श्रमद्भगवद्गीता ज्ञानको भण्डार हो । यो केवल धार्मिक ग्रन्थ होइन । यसमा चिन्तन, दर्शन, राजनीति, अध्यात्म, समाज, राष्ट्र सबैका बारेमा बृहत् ज्ञान छ । यो व्याख्येय ग्रन्थ हो । ठूला ठूला गीताध्यायीले पनि यसको गहिराइसम्म पुगेर ज्ञान हासिल गर्न सकेका छैनन् भनिन्छ ।

यसबाट मानिसले अथाह ज्ञान आर्जन गर्न सक्छन् । सामान्य मानिसले पनि यसबाट ज्ञान आर्जन गर्ने रुचि राख्न सक्छन् तर संस्कृतमा लेखिएका अनि केही अनुवाद भएका भए पनि ती बढी नै बौद्धिक भएका कारण सामान्यभन्दा सामान्य मानिसले पनि गीताका बारेमा थाहा पाऊन् र त्यसबाट ज्ञान ग्रहण गर्न सकून् भन्ने उद्देश्यले जीवन सुवेदीले यसरी श्रमद्भगवद्गीताको झ्याउरेमा अनुवाद गर्नुभएको हो भन्न सकिन्छ । पुस्तकमा उहाँ भन्नुहुन्छ :
श्रीकृष्णबाट प्रदत्त पुण्य पवित्र गीताको
भावना मैले समेटेँ भन्नु घमण्डमात्र हो
केवल प्रभु नामको चर्चा गर्न हो खोजेको
ईशका ईश श्री जगदीश श्रीकृष्ण रोजेको ।
यो पुस्तक पुरै महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध खण्डकाव्य मुनामदनकै शैलीमा झ्याउरे लयमा रचना भएको छ । यसबाट गाउँघरमा बस्ने सामान्य मानिससमेत लाभान्वित हुन सक्छन् । यस्तो सोच राखेर यसको लेखन गर्ने सुवेदी धन्यवादका पात्र हुनुहुन्छ । पुस्तकका लागि उहाँलाई बधाई र पुस्तकको सफलताको कामना । साथै उहाँबाट यस प्रकारका अन्य प्रयत्नहरू पनि भइरहून् हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?