हुम्लाका चार उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका चार जना उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन सकेका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा हुम्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका थिए । यी मध्ये उम्मेदवार बनेका हुम्लाका ९ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् भने बाँकी चार जनाले बुझाउन सकेका छैनन् ।

निर्वाचन खर्च नबुझाउनेमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित छिरिङ डम्डुल लामा (कार्चेन) ले भने अझै खर्चको विवरण बुझाउनु भएकाे छैन । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमध्ये तेजबहादुर रावत (राप्रपा) र दल रावल (नेकपा एमाले)ले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यस्तै प्रदेशसभा सदस्य पदका ‘क’ बाट उम्मेदवार बन्नुभएकाे दल फडेरा (एमाले), मंगलबहादुर शाही (स्वतन्त्र) र रणसिंह परियार (माओवादी केन्द्र)ले भने खर्च विवरण बुझाउनु भएकाे छैन । परियार निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेश सभा ‘क’मा पाँच जनाले उम्मेदवारी दिएकोमा छापे ऐडी (राप्रपा) र हस्तबहादुर शाही नेकपा (एकीकृत समाजवादी)ले खर्च विवरण बुझाएको निर्वाचन कार्यालय हुम्लाले बताएको छ ।

त्यस्तै, प्रदेश सभा ‘ख’मा पाँचै जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ । खर्च विवरण बुझाउनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (कांग्रेस), सुमन रावत (राप्रपा नेपाल), बलीराज शाही (जनता समाजवादी), नैनसिंह रावत (राप्रपा) र छक्कबहादुर लामा (एमाले)का उम्मेदवार रहेका छन् । हालसम्म ९ जना उम्मेदवारले चुनावी खर्चको विवरण पेश गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?