सर्लाहीमा रासायनिक मलको अभाव

Read Time = 4 mins

-प्रकाश मैनाली

सर्लाही । हिउँदे बाली भित्त्र्याएर वर्षे बाली लगाउने बेला भए पनि सर्लाहीका किसानले रासायनिक मल पाउन सकेका छैनन् । यसरी मलखादबिनै वर्षे बाली लगाउन सर्लाहीका किसान बाध्य भएका छन् । मौसमले साथ दिए पनि मल अभावमै खेती गर्नु यहाँको किसानको बाध्यता भएको छ ।

किसानलाई वितरण गर्न भनेर यस वर्ष केन्द्र सरकारले पाँच सय मेट्रिक टन मल पठाएको भए पनि चुनावलगायत कारणले गर्दा वितरण हुन बाँकी रहेको कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख दीपक बर्मेलीले बताउनुभयो । अब छिट्टै सूचना निकाल्ने तयारीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले जनाएको छ ।

यता, डिलर भने यसरी थोरै मात्रामा मल उपलब्ध गराउँदा ढुवानी खर्च बढ्ने चिन्ता थपिएको बताउँछन् । एक पटकमा कम्तीमा १५० बोराको हाराहारीमा एक टेलरमा अटाउने भए पनि २५-३० बोरा बोक्नु पर्दा लागत धेरै भएको व्यवसायीको भनाइ छ । यता, सर्लाहीमा रहेका कुल दुई सयवटा वडामा दामासाही हिसाबले बाँड्दासमेत अहिलेको मल ज्यादै न्यून देखिएको छ ।

लालबन्दी ५ नम्बर वडामा मात्र १५ सय घरधुरी रहेको र त्यसमा करिब एक हजार घरधुरीले कृषिलाई आफ्नो मुख्य पेसा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । एउटै वडामा यति धेरै संख्यामा कृषि पेसामा संलग्न हुँदा आवश्यकताअनुसार मल नपाए आफूहरूलाई दबाब पर्ने र उत्पादन बिग्रने डर बढेको लालबन्दी–५ का वडा अध्यक्ष मीनप्रसाद ढुंगेलले बताउनुहुन्छ ।

धान बिहु राख्ने वर्खे मकै गाडमेला गर्ने तथा उखुमा खाद मल हाल्ने बेला भइसकेको छ । तर, बजारमा मलको अभावले किसानले खेतमा प्रयोग गर्न पाएका छैनन् । रासायनिक मलको अभावले गर्दा उत्पादन घट्ने तनावमा सर्लाहीका किसान परेका छन् । मकै तथा धान रोप्ने समयमा डिएपी मल हाल्नुपर्ने भए पनि किसानले मलबिना नै खेती गर्नुपरेको छ ।

मकै, धान लगाएको बालीमा २१ देखि ३० दिनभित्र किसानले पहिलोपटक युरिया मलखाद हाली सक्नुपर्ने कृषि प्राविधिक बताउँछन् । यदि समयमा मलखाद हाल्न नसकेमा उत्पादन घट्नुका साथै लामो समयसम्म उत्पादनसमेत नदिने कृषि प्राविधिक बताउँछन् । कृषि प्रधान देश भने पनि समयमा मलखाद नपाउँदा उनीहरू निराश देखिन्छन् ।

उखु उत्पादक महासंघका अध्यक्ष तथा उखु किसान कपिलमुनि मैनालीले उखु बालीमा धमाधम गोडमेल गर्ने बेला भएपनि मल अभावले गर्दा उखु गोडेर मल हाल्न नपाएको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?