अध्यक्षका उम्मेदवार भण्डारीबिरुद्ध परेको उजुरी खारेज

Read Time = 4 mins

ध्रुबसागर शर्मा/म्याग्दी

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भबवहादुर भण्डारी विरुद्ध परेको उजुरी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिका अनुसार मंगलबार उम्मेदवार विरुद्ध दाबी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उहाँविरुद्ध सरकारी जग्गा अपचलन सम्वन्धि उजुरी दर्ता गराउनुभएको थियो ।

गाउँपालिकाको लागि व्यवस्थापन गरिएको जग्गा आफ्नो नाममा दर्ता गरेको र सो जग्गामा सरकारी लगानी गरेको भन्ने आरोपसहित उम्मेदवारी खारेजीको माग गर्दै कार्की र भण्डारीले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको उजुरी उपर दावी नपुग्ने देखिएकाले निर्वाचन अधिकृतको कार्यालयले खारेजी गरेको हो ।

पेश गरेको उजुरी उपर दाबी नपुग्ने देखिएकाले स्थानीय निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको भवन तथा संरचना निर्माणका लागि वडा नम्वर ३ मौवाफाँटका स्थानीयहरूबाट एक तिहाई जग्गा धनिलाई फिर्ता गर्ने गरि निशुल्क जग्गा प्राप्त भएको, व्यवहारिक सहजताका लागि अध्यक्षको नाममा पास गर्ने भनि विभिन्न मितिमा गाउँसभाबाट निर्णय भएको, हाल भवन निर्माण र बाँकी जग्गा व्यवस्थापनको कार्य भईरहेको र उक्त जग्गामा उजुरीमा भनिएजस्तो गाउँपालिकाको रकम दुरुपयोग नभएको पाईएकाले अध्यक्षको उम्मेदवार भण्डारीको उम्मेदवारी खारेज गरि पाउँ भनि पेश गरेको उजुरी उपर दाबी नपुग्ने भएकाले मनोनयन कायम रहने निर्णय गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार साँझ नेपाली कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्षका उम्मेदवार भण्डारीले आफुप्रति लगाइएको आरोप झुठो भएकाले भ्रममा नपर्न अनुरोध गर्नुभएको छ । उहाँले अध्यक्ष हुँदाको पाँच बर्षको अवधिमा स्वास्थ्य ईकाई, स्वास्थ्य चौकी र प्रहरी चौकीको भवन निर्माणका लागि समेत विभिन्न ठाउँमा निशुल्क जग्गाको व्यवस्थापन गरिएको जानकारी गराउनुभयो ।

गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा सरकारको रकम कत्तिपनि दुरुपयोग नगरको भन्दै भण्डारीले बरु आफ्नै तर्फबाट जनताका सेवाका लागि सहयोग स्वरुप खर्च गर्दै आएको बताउनुभयो । यदि रकम दुरुपयोग गरेको पुष्टी भएमा जीवनभर राजनीतिबाटै अलग हुन्छु, भण्डारीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?