१० औं नेपाल अफ्रिका फिल्म फेष्टिभल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

Read Time = 3 mins

काठमाडौं । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रालिको आयोजनामा १०औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल-२०२२ आयोजना हुनेभएको छ । यही जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

यो महोत्सवमा विभिन्न देशका एक सयभन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा.मञ्जु मिश्रले बताउनुभयो । कोरोना महामारी मत्थर भएकाले यो महोत्सव गर्न लागिएको उहाँले बताउनुभएको छ ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेष्टिभल आयोजना गर्दै आएको अध्यक्ष डा.मिश्रको भनाइ छ । उहाँले भन्नुभएको छ, ‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं ।’

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जसमध्ये अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय वस्तुमा आधारित फिल्म महोत्सवमा चयन भएका छन् । महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकमा बुर्किना फाँसो, इजिप्ट, ट्युनेशिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सवमा नेपालबाट ११ वटा फिल्म छानिएका छन् । जसमध्ये सातवटा चलचित्र खुला प्रतिस्पर्धाअन्तर्गत छ । जसमा द ब्लाक कर्नर, ऐना, राइज, शंका, कुइनेटो, गरिमा, द डटर रहेका छन् ।

यस्तै यसपटक विद्यार्थीको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विद्यार्थी फिल्म प्रतिस्पर्धामा विद्यार्थीले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?