कबड्डी ४ आजबाट रिलिज, आक्रमक बुकिङ

Read Time = 3 mins

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी-४’ आज (शुक्रबार)बाट देशभर एकसाथ प्रदर्शन (रिलिज) भएको छ । प्रदर्शनअघि नै हाइप बनाएको यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । बिहीबार साँझसम्म क्युएफएक्स चेनको मल्टिप्लेक्सले १०२ शोज दिएका छन् । पछिल्लो समय हलिउडदेखि दक्षिण भारतीय चलचित्रले पनि यति धेरै शोज पाउन सकेका थिएनन् ।

‘कबड्डी-४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने पहिलो चलचित्र बनेको छ । विदेशी चलचित्र ‘केजिएफ च्याप्टर-२’ले क्युएफएक्समा ८० शो पाएको थियो । काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्युएफएक्समा शो बढ्ने क्रम जारी छ । विग मुभिजले १६ वटा शो बनाएको छ । ‘केएलले १७ वटा, वान सिनेमामा १६ वटा शो छ’, निर्देशक रामबाबु गुरुङले भन्नुभएको छ, ‘नेपाल सबैभन्दा धेरै शो पाएको यो नै पहिलो चलचित्र हो । करिब ९० प्रतिशत टिकट रिलिजअघि नै बिक्री भइसकेको छ ।’
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतको मुख्य अभिनय रहेको छ । यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

बिहीबार काठमाडौंमा चलचित्रको प्रिमियर पनि गरियो । प्रिमियरमा अधिकांश कलाकर्मी उपस्थिति थियो । चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । बिहीबारै चलचित्रका मुख्य कलाकार सौगात मल्लले मिडियासँग अन्तक्र्रिया गर्ने क्रममा आफू उत्साहित रहेको बताउनुभएको थियो । ‘रिलिजअघि नै दर्शकको माया देखेर उत्साहित छौं । टिममा कुरा पनि हुन्छ । खुशी लाग्छ ।’ सौगातले भन्नुभयो, ‘अब दर्शकको हातमा छाडेका छौं । माया गरिदिनुहुनेछ आशा छ ।’

यस्तै चलचित्र ‘कबड्डी’ देखि नै अभिनय गर्दै आउनुभएका अर्का मुख्य कलाकार विजय बरालले सुरुको सिरिजमा आफूले ‘स्पट ब्याय’सँगै कलाकार भएर काम गरेको र आज आउँदो दर्शकको माया धेरै पाएको भन्दै विगतका अनुभव सुनाउनुभयो । ‘दयाहाङ राई, सौगात मल्ल जस्ता अग्रज कलाकारसँग काम गर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो । सुरुवातदेखि नै दया दाइसँग काम गर्दै आएको छु । उहाँको अगाडि पर्दा डर लाग्थ्यो’, विजयले भन्नुभयो, ‘सबैले मिहिनेत गरेको भएरै आज कबड्डी सिरिज यो स्थानमा पुगेको हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?