शाही मृत्यु प्रकरण : अछाममा न्याय माग गर्दै भएको प्रदर्शनमा दर्जनौँ घाइते, प्रहरीद्वारा १२ सेल अश्रुग्यास प्रहार

हिमालय टाइम्स
Read Time = 5 mins

अछाम । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन खोजिएको भन्दै सोमबार सदरमुकाम मंगलसेनमा स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयको प्रदर्शनका कारण सोमबार दिनभर बजार क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । न्याय माग गर्दै सोमबार शाहीका आफन्त सदरमुकाम पुगेर गरेको प्रदर्शनमा स्थानीयलेसमेत साथ दिएपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

उनीहरूले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए । त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ ।

यस्तै, प्रदर्शनकारीहरू पनि घाइते भएका छन् । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरेपछि प्रहरीले साँझपख मात्र स्थिति नियन्त्रणमा लिएको थियो ।

यता, घटनाको सत्थ्यतथ्य छानबिन र पीडित पक्षलाई न्यायको माग गर्दै अछामका पाँच राजनीतिक दलहरूले पनि सोमबार र मंगलबार जिल्लामा यातायात बन्दको आ≈वान गरेका छन् । स्थानीयको प्रदर्शनमा उनीहरूले पनि साथ दिएपछि प्रदर्शन झनै चर्किएको हो । एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रपा जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिन यातायात बन्दको आयोजना गरिएको छ ।

गत वैशाख १७ गते बेपत्ता हुनुभएका विनोद शाही २० गते मृत अवस्थामा भेटिनुभएको थियो । उहाँको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । मेयर चलाउनेसहित सातजना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परिसकेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । उक्त मुद्दामा प्रहरीले मेयर चलाउनेसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकीको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसअघि किटानी जाहेरी दर्ता गर्न पीडित पक्ष र प्रहरी बीचमा लिखित सहमति भएपछि मृत फेला परेको पाँचौ दिनमा घटानास्थलबाट शाहीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो । किटानी जाहेरी लिएर हत्यामा संलग्न भएका व्यक्तिलाई कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने भन्दै पीडित पक्षले अडान राखेका थिए । घटनाको अनुसन्धान सिआइबी टोली आफैँले गरिरहेको छ । गत जेठ १७ गते रातिबाट वेपत्ता हुनुभएका विनोद पाँच दिनपछि जेठ २१ गते छिमेकी वडाको सल्लाघारीको खोचमा मृत अवस्थामा फेला पर्नुभएको थियो । जिल्लामा दुई पार्टीका कार्यकर्ताबीच भएको झडपमा उहाँ पनि संलग्न रहनुभएको प्रहरीले जनाएको छ । सोही झडप पछाडि उहाँ बेपत्ता हुनुभएको थियो । जेठ ३० गतेको मतदानका क्रममा विवाद भएको विषयलाई लिएर गाउँमा पटक–पटक विवाद र झडप हुँदै आएको स्थानीय बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?