आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । वर्ष दिनमा दुईपटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ । ती दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ । ६-६ महिनाको अवधिमा सूर्यले मकर राशिदेखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशिदेखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ ।

आजबाट हिन्दूहरूका चाडबाड सुरु हुने बताइन्छ । बर्खा यामको मध्यविन्दु विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ । पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मिठो, मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ ।

पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उनिउँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ । कण्डारक नामको राक्षसको पूजा गरी चारै दिशामा अगुल्टो फालिन्छ । साउन महिनाभर पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको विशेष भिड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रूपमा लिइन्छ । यस महिना शिव लिंगमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । यस चलनलाई बोल बम भनिन्छ ।

यस्तै, आज थारू समुदायले गुरही अर्थात् गुरिया पर्व मनाउने गर्दछन् । यस पर्वमा भाइ बहिनीको माया प्रेमको प्रतीकका रूपमा थारू महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् । यो पर्व थारू समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?