इन्धनको मूल्य : बढ्दा बढ्ने, घट्दा नघट्ने !

हिमालय टाइम्स
Read Time = 5 mins

अपवादमा मात्र सुनिने इन्धनको मूल्य घटेको समाचार हाल सुन्न पाइएको छ तर नेपाली जनताका लागि यो अपत्यारिलो खबर जस्तो बनेको छ । इन्धनको मूल्य घट्नु र बढ्नुमा आन्तरिक कारण नभई यो अन्तर्राष्ट्रिय कारण हो भन्ने गरिएको छ । यसमा सत्यता छैन भन्न सकिँदैन तर सरकारले आफूले केही कर घटाएर वा नेपाल आयल निगमलाई अनुदान दिएर पनि जनताका लागि केही सहजता पैदा गराउन सक्थ्यो कि भन्ने अपेक्षा जनतामा रहेको हुन्छ । चर्को दरमा बढेको मूल्यको मार सहन नसकेपछि मात्र नेपाली जनताले विरोध गरे ।

सहनशील बनेर सबै प्रकारका मार खपेर बस्ने स्वभावका जनताले जतिपटक जतिको दरमा इन्धनको मूल्य बढे पनि खासै विरोध गरेका थिएनन् तर विभिन्न विद्यार्थी संगठन, पेशागत संगठन तथा राजनीतिक व्यक्तिहरूबाट विरोध भएपछि सरकारले कर छुट गरेर भए पनि बढेको मूल्य घटाएको थियो । सरकारले दुईपटक यसो गरे पनि नेपाल आयल निगमले पुनः छिटोछिटो दुईपटक नै मूल्य बढायो, त्यो दर पनि उच्च थियो । यसपछि सबैतिर महँगी हृवात्तै बढिहाल्यो । निगमले तेलको मूल्यवृद्धि गरेकै दिन यातायात व्यवसायीहरूले सार्वजनिक यातायातमा भाडा बढाउने गर्दछन् । तर, सरकारले कुनै कारणले तेलको मूल्य घटाएको खण्डमा सर्वत्र बढेको महँगी घटेको पाइएको छैन ।

त्यसैले यस्ता कार्यहरू पनि अन्यत्र जस्तै सेटिङमै हुने गरेका हुन् कि भनेर शंका गर्न नसकिने होइन । इन्धनको मूल्यवृद्धि हुनासाथ ढुवानी भाडा पनि तुरुन्तै बढिहाल्छ र ढुवानीमा भाडा वृद्धि भएपछि मानवीय जनजीवनका सम्पूर्ण क्षेत्रमा यसको प्रभाव परिहाल्छ । यसले गर्दा महँगी कहिल्यै घट्दैन र दिनप्रतिदिन बढिरहन्छ । हालसम्म यस्तै भइरहेकै छ । यसपटक तेलको मूल्य घटेर आएको छ भनिएको छ तर आइओसीले मूल्य घटाए पठाएको भए तापनि नेपालमा न त इन्धनको मूल्य घटेको छ न सबैतिर वृद्धि भएको महँगी नै घटेको छ । दिनहुँ करोडौंको घाटा देखाएर बेला-बेलामा नेपाल आयल निगमले सरकारसँग अनुदान र सुलभ ऋणको माग गर्दै आएको पनि धेरै वर्ष भइसकेको छ ।

यतिमात्र होइन नेपाल आयल निगमले विभिन्न वित्तीय संघसंस्थासँग समेत ऋण लिने गरेको छ । निगमका कर्मचारीले आकर्षक तलबभत्ता र सेवासुविधा पाएका कारण निगम बाहिर चर्चा भएजस्तो घाटामा छैन कि भन्नेहरू पनि छन् । तर, अर्थ व्यवस्थालाई केस्रा–केस्रा केलाएर हेर्ने केही व्यक्तिहरू चाहिँ आयल निगम वास्तवमै संकटमा छ भनिरहेका छन् । राष्ट्रको मेरुदण्डका रूपमा रहेको इन्धनको कारोबार गर्ने नेपालको एकमात्र निगम नेपाल आयल निगम वास्तवमै संकटपूर्ण अवस्थामै पुग्न लागेको हो । इन्धन कारोबारमा संकट आयो भने अन्य सम्पूर्ण क्षेत्रसमेत संकटमा पर्न जान्छन् । यही कारणले मित्रराष्ट्र श्रीलंकाको जस्तो अवस्था नेपालमा पनि आउला कि भन्ने भयले नेपालीलाई त्रसित बनाएको छ ।

नेपाल सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ । यसबाट निगमको बिग्रिएको अवस्थामा सुधार आउँछ कि भन्ने आशा गर्नु हालको विकल्प हो तर विगतमा पनि यस्तो अवस्था धेरैपटक आएको हुँदा यसले मात्र पनि समस्या समाधान होला कि नहोला भनेर सोच्नैपर्ने हुन्छ । मूल्य थपघट स्वचालित प्रणालीबाटै हुने गरेको र कहिलेकाहीँ त यही कारणले एकै हप्तामा दुई/तीनपटक वृद्धि भएको समेत पाइएको थियो । तर, हाल यसरी पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा पनि नेपाल आयल निगमले स्वचालित प्रणाली अनुसार किन इन्धनमा मूल्य घटेको घोषणा गर्न नसकेको हो । यो कारण पनि जनताले थाहा पाउनु उनीहरूको नैसर्गिक अधिकारभित्रै पर्न जान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?