भाइरल ज्वरोले थलिँदै दाङ

हिमालय टाइम्स
Read Time = 4 mins

विवेक खड्का/हिटा
दाङ । दाङमा भाइरल ज्वरोको संक्रमण बढेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालको रेकर्डमा दैनिक दुई सयको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचार गर्न पुग्ने गरेका छन् । रुघा, खोकी लाग्ने, उच्च ज्वरो आउने, घाँटी खसखस हुने, घाँटी दुख्ने, मांसपेशी र जोर्नीहरू अत्यधिक दुख्ने जस्ता लक्षण बिरामीमा देखा परेका छन् । साउन लाग्दैदेखि यस्ता लक्षणका बिरामी ह्वात्तै बढेको चिकित्सकहरूले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा आउने दैनिक एक सय २० जनाभन्दा बढी बिरामीमध्ये ५० भन्दा बढी ज्वरोका बिरामी आउने गरेका छन् । सरदर यही संख्यामा जिल्लाका दर्जनौँ सरकारी तथा निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका छन् । स्वास्थ्य संस्थाका अनुसार बिरामी हुनेमा १८ वर्ष माथिका धेरै छन् ।

वर्षा सुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका फिजिसियन तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलले बताउनुभयो । ‘ज्वरोका बिरामी एकदमै बढेका छन्’, डा. कँडेलले भन्नुभयो, ‘असारपछि मौसमी रुघाखोकी, उच्च ज्वरो आउने, घाँटी दुख्ने, मांसपेशी र जोर्नी दुख्ने लक्षणका बिरामीको चाप धेरै छ ।’ चिकित्सकहरूका अनुसार अहिले दाङका प्रायः सबै क्षेत्रमा भाइरल ज्वरो फैलिएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र त्यस क्षेत्रका सरकारी र निजी अस्पतालहरूमा दैनिक एक सय ५० ज्वरोका बिरामी भेटिने गरेका छन् । तुलसीपुर क्षेत्रमा असारको अन्तिम सातादेखि भाइरल ज्वरोको समस्या देखा परेको चिकित्सकहरूले बताएका छन् । फिजिसियन डा. जितनारायण यादवले बालबालिका र वयस्क मानिसमा भाइरल ज्वरोको संक्रमण भेटिएको बताउनुभयो । राप्ती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा. श्रीधर भुसालले मौसम परिवर्तनका कारण भाइरल ज्वरो देखिएको बताउनुभयो ।

देउखुरी क्षेत्रमा पनि भाइरल ज्वरोको संक्रमण फैलिएको छ । लमही नगर स्वास्थ्य शाखाका ठाकुर भट्टराईले सबै उमेर समूहमा भाइरल ज्वरो देखिएको बताउनुभयो । ‘दैनिक १०/१२ जना भाइरल ज्वरोका बिरामी लमही अस्पतालमा आउने गरेका छन्’, भट्टराईले भन्नुभयो, ‘यो क्रम बढ्दो छ । सबै उमेर समूहमा ज्वरो देखिन थालेको छ ।’ शहरी क्षेत्रमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि भाइरल ज्वरोको संक्रमण फैलिएको छ । गढवामा भाइरल ज्वरोका बिरामी बढेको गढवा गाउँपालिकाका स्वास्थ्य शाखा इञ्चार्ज कैलाश चौधरीले जानकारी दिनुभयो । चौधरीले ज्वरोका बिरामी देखिए पनि यो भाइरल भइसकेको छैन । यस्तै, राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले भालुबाङ क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी फाटफुट देखिन थालेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?