विद्युत् प्राधिकरणको ३७ औँ वार्षिकोत्सव, नाफा बढे पनि कर्मचारीले बोनस नपाउने

Read Time = 9 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३७औँ वार्षिकोत्सव मनाएको छ । बुधबार आयोजित वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमन्त्री पम्फा भुसालले विद्युत् खपत बढाउन विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडीमात्र खरिद गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ऊर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौँ । अब खरिद गरिने सवारीसाधन विद्युतीयमात्रै हुनुपर्नेछ ।’

साथै मन्त्री भुसालले प्राधिकरणलाई विद्युतीय चुल्होको प्रयोगलाई प्रभावकारीरूपमा अघि बढाउन पनि निर्देशन दिनुभयो । विदेशी ग्याँस छोडौँ स्वदेशी विद्युत् जोडौँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारीरूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री भुसालले विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधन खरिद गर्ने साथै चार्जिङ स्टेसन बनाउँदै विद्युतीय पूर्वाधारको विस्तारलाई तीव्ररूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । जसका लागि धेरै विद्युत् खपत गर्ने ग्राहकलाई विद्युत् महसुलमा छुट दिने निर्णय भएको उहाँले बताउनुभयो ।

मन्त्री भुसालले मिटर जोड्न महिनौँ लगाउने प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न निर्देशनसमेत दिनुभएको छ । कर्मचारीलाई विद्युत् खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनौँ लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । प्राधिकरणका कर्मचारीप्रति आक्रामकरूपमा प्रस्तुत हुनुभएकी मन्त्री भुसालले प्राधिकरणले नाफा कमाएको भए पनि कर्मचारीलाई बोनस नदिइने बताउनुभयो ।

प्राधिकरण सम्बद्ध विभिन्न संगठनको मागका सम्बन्धमा बोल्दै ऊर्जामन्त्री भुसालले आफू कर्मचारीहरूको मागप्रति सकारात्मक रहे पनि भर्खरै सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएकाले बोनस खोज्नुनहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मलाई अचम्म लागेको छ, बोनसको कुरा उठ्दैछ, यो देशमा तीन करोड जनता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवाबारे एकपटक सोच्नुस् । यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’ गत आर्थिक वर्षमा प्राधिकरणले १६ अर्ब नाफा कमाएको छ । लामो समयदेखि निरन्तररूपमा घाटामा रहेको प्राधिकरणले आर्थिक वर्ष ०७७/०७८ मा छ अर्ब २७ करोड नाफा कमाएकोमा गत आवमा नाफामा १५७.७३ प्रतिशतले बृद्धि गरी १६ अर्ब १६ करोड ५० लाख पुर्‍याएको छ । वार्षिकोत्सवमा प्राधिकरण सम्बद्ध विभिन्न कर्मचारी संगठनका नेताहरूले प्राधिकरण नाफामा रहेको भन्दै नाफाको १० प्रतिशत नाफा कर्मचारीलाई बोनसका रूपमा वितरण गर्नुपर्ने, कर्मचारीको बिमा रकम वृद्धि, आवास व्यवस्थालगायत माग गरेका थिए ।

प्राधिकरणका कर्मचारीप्रति आक्रामकरूपमा प्रस्तुत हुनुभएकी मन्त्री भुसालले प्राधिकरणले नाफा कमाएको भए पनि कर्मचारीलाई बोनस नदिइने बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा सानो इन्टेन्सिभको निर्णय गर्दा अख्तियार र संसद्बाट पत्र आउने स्थितिबाट प्राधिकरण आफैं निर्णय गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । विगत पाँच वर्षयता विद्युत् खपतदरमा तीन गुणा वृद्धि भएको र आगामी दिनमा पनि प्राधिकरणको नाफाको ग्राफ थप उकालो लाग्ने उहाँको भनाइ थियो ।

कार्यकारी निर्देशक घिसिङले बढी भएको विद्युत् छिमेकी राष्ट्रमा निर्यात गरी आर्थिक अवस्था सुदृढ गर्ने प्राधिकरणको दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विकास गर्ने जानकारी गराउँदै उहाँले छ सय ३५ मेगावाटको दूधकोशी, एक हजार ६१ मेगावाटको अपर अरुण, दुई सय १० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौँ र ६० मेगावाटको मोदी माथिल्लो र तल्लो जलविद्युत् आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य अघि बढाइने बताउनुभयो । प्राधिकरण र सतलज जलविद्युत् कम्पनीबीच ४९०.२ मेगावाटको अरुण ४ जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उपक्रम कम्पनी स्थापना गरिने, प्रतिस्पर्धात्मक प्रक्रियाबाट सौर्य ऊर्जा खरिद गरिने र जलप्रवाहको अधिकतम् उपयोग गरी विद्युत् उत्पादन गर्न प्रोत्साहन हुने गरी विद्युत् खरिद गर्ने नीति लिइने पनि उहाँले बताउनुभयो ।

काठमाडौंलगायत प्रमुख शहरहरूमा वृद्धि भइरहेको उच्च विद्युत् माग सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लगिने, निकट भविष्यमै थप विद्युत् आयोजना सञ्चालनमा आई वर्षभरि नै मुलुक आवश्यकताभन्दा अधिक ऊर्जा उत्पादन गर्न सक्ने अवस्थामा पुग्ने, स्वदेशमै विद्युत् खपत वृद्धि गरी खपत नभएको विद्युत्मात्र निर्यात गर्ने नीति अवलम्बन गरी सोहीअनुरूप खपत वृद्धि गर्न विद्युतीय चुल्हो, विभिन्न विद्युतीय उपकरण, विद्युतीय सवारीसाधन प्रयोग गर्न उपभोक्तालाई प्रोत्साहित गरिने घिसिङको भनाइ छ ।

त्यस्तै नेपाल सरकारबाट विद्युत् व्यापारको अनुमति पाएको प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापित नेपाल पावर ट्रेडिङ कम्पनीले चालु आवदेखि स्वदेशी तथा अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्य गर्ने, रातामाटे (नेपाल), केरुङ (चाइना) चार सय केभी प्रसारणलाइन निर्माणका लागि लगानीको प्रारूप तयार गरी कार्यान्वयनमा लगिने, हरित हाइड्रोजन उत्पादन र व्यावसायिक उपयोगको सम्भाव्यता अध्ययनका लागि विभिन्न संस्थासँग सहकार्य गरी कार्यान्वयन गरिने पनि उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?