२२औं संस्करणको ईमेज अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । ईमेज अवार्डको २२औं संस्करणका लागि उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । ईमेज च्यानलले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

यस वर्षदेखि नयाँ विधाका रूपमा नेपहप र्‍याप प्रस्तुति पनि प्रतिस्पर्धामा समावेश गरिएको आयोजकले जनाएको छ । कोरोना भाइरसको संक्रमण (कोभिड-१९) का कारण विगत दुई वर्ष अवार्ड कार्यक्रम गर्न सम्भव नभएपछि सो अवधिलाई समेत समावेश गरेर विसं. २०७६ साल असार १ गतेदेखि विसं. २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीतसंगीत, रचना र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको जनाएको छ । यसपटक भने पब्लिक च्वाइस अवार्डको एक विधाका लागि अनलाइन भोटिङ इमेजखबर डटकममार्फत खुला गरिएको छ ।

यस विधामा सर्वाधिक भोट पाउने गीत र त्यसका स्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने ईमेज च्यानलका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके माननधरले जानकारी दिनुभयो । अनलाइन भोटिङ २०७९ भदौ १२ गतेदेखि अवार्ड वितरण हुने अघिल्लो दिन अर्थात् २०७९ असोज २ गतेसम्म खुला रहनेछ । यस विधामा सर्वाधिक भोट प्राप्त गर्ने स्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिनेछ ।

ईमेज लाइफटाइम अचिभमेण्ट अवार्डबाट यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागेको ईमेज च्यानल प्रमुख कार्यकारी कार्यकारी डा.महेन्द्र विष्टले बताउनुभयो । च्यानलले नेपाली गीतसंगीत क्षेत्रको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन हेतु अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ । अवार्ड समारोह आगामी असोज ३ गते हुँदैछ । यसमा उत्कृष्ट पाँचबाट सार्वोत्कृष्ट एकजनालाई अवार्ड प्रदान गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?