डेंगु संक्रमण र सावधानी

हिमालय टाइम्स
Read Time = 6 mins

मानव जगतमा एकपछि अर्को रोगको संक्रमण देखिँदै आएको छ । प्राचीन कालदेखि आजको उत्तरआधुनिक कालसम्म पनि रोगहरू महामारी बनेर कहिले संसारका कुनै ठाउँमा त कहिले संसारका केही ठाउँमा फैलिने गरेका छन् । यस पहिले कोरानाको संक्रमण विश्वव्यापी बनेर हाल केही मत्थर भएको अवस्था छ । विगत लगभग तीन वर्षको अन्तरालमा कोरोनाले विश्वका धेरै मानिसलाई प्रभावित पार्‍यो तीमध्ये धेरैजसोको मृत्यु भयो । विश्वभरि समानुपातिक रूपमा नफैलिएको भए तापनि यसको प्रभाप विश्वव्यापी बन्न पुगेको थियो । कतिपय देशले सुरुमै सावधानी अपनाएर प्रभाव कम गर्न सफल भए भने कतिले सकेनन् जसका कारण त्यस्ता देशहरूमा क्षति बढी हुनपुग्यो ।

हाल नेपालमा डेंगुको प्रभाव विस्तार हुँदै गएको छ । डेंगु कोराना जत्तिको हानिकारक नहोला तर यसो भन्दैमा यसको प्रभावलाई कम आक्नु हुँदैन । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग भएका कारण सरुवा रोग नै हो तर विश्वका धेरैजसो देशहरूमा चेतना, सरसफाइ जस्ता विभिन्न कारणले लामखुट्टेको प्रभाव नै हुँदैन र डेंगु संक्रमण हुने प्रश्न नै रहँदैन तर नेपाल-भारत जस्ता देशमा यसको बढी नै प्रभाव देखिने गरेको छ । यसको विश्वव्यापी प्रभाव छैन भन्दैमा नेपालमा पनि पश्चिमा देशहरूमा जसरी आनन्दका साथ रहन सकिन्छ भन्ने होइन । घना बस्ती भएका अव्यवस्थित शहरी क्षेत्रहरूमा हाल यो संक्रमण फैलिइरहेको छ । यसले नेपालका पोखरा, काठमाडौं, ललितपुर लगायतका ठूला शहरमा आफ्नो प्रभाव फैलाइरहेको छ । यसैका कारण कोरोनाबाट मुक्ति पाउँदै गरेको अवस्थामा अब फेरि डेंगुबाट मानिसहरू आतंकित बन्दै गएका छन् ।

अन्यत्रभन्दा राजधानी उपत्यकाकै ठूलामध्येको एक सहर ललितपुरमा डेंगुको संक्रमण बढी नै फैलिन पुगेका कारण ललितपुरलाई ‘महामारी क्षेत्र’ घोषणा गर्ने तयारी भइरहेको छ । यसबाट एकातिर डेंगुको संक्रमणको फैलावट र त्यसको तीव्रताको अन्दाज गर्न सकिन्छ भने अर्कोतिर अन्य क्षेत्रका व्यक्तिलाई यसबाट सचेतताको बोध हुन जान्छ । ‘महामारी क्षेत्र’ घोषणा गर्नु भनेको त्यस क्षेत्रको त्यसको प्रभावबाट सबैलाई सचेतता जागरण गराउनु हो, त्यस क्षेत्रका नागरिकलाई आतंकित बनाउनु भन्ने होइन । बेलाबेलामा देखा पर्ने अनेक प्रकारका संक्रमण देखा पर्दै र केही मानवीय क्षति गराउँदै अनि फेरि मानिसको नियन्त्रणमा आउँदै गरेका छन् । प्लेग, बिफर, सार्स, स्वाइन फ्लु, बर्डफ्लु, एड्सलगायत महामारी तथा रोगहरूको प्रभाव पनि बेलाबेलामा संसारव्यापी बनेर फैलिएको थियो ।

केही वर्ष वा महिनाको अनुसन्धानपछि संसारका कुनै न कुनै मुलुकले तिनको केही न केही समाधान निकालेका छन् । पछिल्लो समयमा सबैभन्दा ठूलो महामारीको रूपमा कोरोना फैलिएको थियो र यसको पनि केही समयपछिको अनुसन्धानबाट खोपको आविष्कार भएर मानिसले लगाउन पाएपछि हाल नियन्त्रणमा आएको छ । डेंगु पनि यसरी नै विस्तारै निष्प्रभावी त बन्दै जाला तर हाल राजधानीमै यस महामारीबाट केही व्यक्तिको ज्यान गएका कारण सचेत हुनुपर्ने भएको छ । प्रश्न सचेत को हुने भन्ने हो । यसको तयारी उत्तर पनि छ, त्यो हो यसबाट प्रभावित र प्रभवित हुनसक्ने सम्भावित सबै नै सचेत रहनुपर्छ । सरकार, स्थानीय निकाय, विभिन्न संघसंस्था र नागरिक सबै नै सचेत रहनुपर्ने हुन्छ ।

यस रोगका कारण, लक्षण, परिणाम र सावधानीबारे जानकारी राखेर सुरक्षित बन्नुपर्ने दायित्व सबैमा छ । जिम्मेवारी धेर थोर भने हुन सक्ला त्यो फरक कुरा हो । सरसफाइ, खानपान, आनिबानीमा सुधार सबैको दायित्व हो । तर, स्वास्थ्योपचारका लागि स्वास्थ्यकेन्द्र स्थापना र तिनमा औषधि, उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्ने काम भने निश्चय पनि सरकारै हो । सरकार यसबाट पन्सिन वा भाग्न पाउँदै न । त्यसपछि नागरिकहरू पनि यो सरकारको काम हो भनेर बेवास्ता गरेर बस्नु हुँदैन आ-आफ्ना ठाउँबाट सरकारलाई सहयोग गर्नुपर्छ । यसरी हातेमालो गरेर अघि बढ्ने हो भने यस्ता महामारीलाई निश्चय पराजित गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?