भाद्रशुक्लपक्ष एकादशीपछि वामनावतार र अनन्त चतुर्दशीको महिमा

Read Time = 23 mins

✍️ तोयराज नेपाल

हरिपरिवर्तिनी एकादशी
भाद्रशुक्ल एकादशीको नाम के हो र यसको माहात्म्य कस्तो छ ? बताइदिनुहोस्, भनेर भगवान् श्रीकृष्णसँग युधिष्ठिरले प्रश्न गर्दा श्रीकृष्णले बताउनुभएको एकादशीको माहात्म्य यसप्रकार छ- श्रीकृष्ण भन्नुहुन्छ- ‘वामनैकादशीं राजन् सर्वपापहरां पराम् । इमामेव जयन्त्याख्यां प्राहुरेकादशीं नृप ! ।।’ (स्कन्दपुराणम् व्रतराजः।)

हेराजन् भाद्रशुक्ल एकादशीको नाम वामन एकादशी हो । यसलाई कसैले जयन्ती एकादशी पनि भन्दछन् । अस्यां प्रसुप्तो भगवानेत्यङ्गरिवर्तनम् । तस्मादेनां जनाः सर्वे वदन्ति परिवर्तिनीम् ।। (स्कन्दपुराणम् व्रतराजः।)

आषाढशुक्ल एकादशीका दिन शयन गर्नुभएका हरिभगवान्ले भाद्रशुक्ल एकादशीका दिन अङ्गपरिपर्तन गर्नुहुनेभएको हुँदा यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी पनि भनिन्छ । यसलाई कतै लोकमा हरिकोलटी एकादशी भन्ने पनि चलन छ । यसमा वामन भगवान्को पूजा गर्नुपर्दछ । वामनः पूजितो येन कमलैः कमलेक्षणः । नभस्यसितपक्षे तु जयन्त्येकादशीदिने । तेनार्चितं जगत्सर्वं त्रयो देवाः सनातनाः ।।

जो कात्तिक शुक्ल एकादशीमा ब्युँझन्छ र कात्तिकशुक्ल पूर्णिमासम्म शयन गर्दछ । यस भाद्रशुक्ल एकादशीका दिन शेषशैय्यामा शयन गर्नुभएका भगवानले अंगपरिवर्तन गर्नुहुन्छ अर्थात् कोल्टो फेर्नुहुन्छ ।

(स्कन्दपुराण्व्रतराज) जसले यस एकादशीका दिन अरू उपचारकासाथमा कमलका फूलद्वारा भगवान् वामनको पूजा गर्दछन्, तिनले सम्पूर्ण जगत्को पूजा गरेको फल प्राप्त गरी ब्रहृमा, विष्णु र महेश्वर तीनवटै देवताको पूजा गरेको पुण्य फलसमेत प्राप्त गर्दछन् । अघि त्रेतायुगमा दैत्यराज बलिले यज्ञयागादिद्वारा भगवानको श्रद्धा एवं भक्तिपूर्वक पूजा आराधना गरे । उनी प्रतिदिन ब्रहृमणहरूको पनि पूजा गर्दथे । तर जातिमा दैत्य भएका हुँदा इन्द्रसँग द्वेषभाव राखेर इन्द्रको स्वर्गलोकसमेत जितेर आफ्ना अधिनमा पारे । अनि इन्द्रादिदेवता एवं देवमाता अदितिले समेत भगवानको स्तुति गरेर बलिबाट राज्य फिर्ता गर्न अनुरोध गर्दा भगवान् विष्णुले अदितिका गर्भबाट वामनरूपमा अवतार लिएर बलिराजाले यज्ञ गरिरहेका यज्ञभूमिमा गएर छलद्वारा तीनपाउ पृथिवी भिक्षा माग्नुभयो ।

बलिले भने हे ब्राहृमण बालक राजासँग के तीनपाउ जमिन माग्छौ ? गाउँका गाउँमा गन । म दिन तयार छु, भनी अभिमान गरेर भने । भगवानले भन्नुभयो- आफूलाई आवश्यक भन्दा बढी भूमिको काम छैन । मलाई त्यही तीनपाउ भूमि दिनुहोस्, त्यसले मेरो काम चल्दछ । वामनका कुरा सुनेर बलि तीनपाउ भूमिदान गर्न सहमत भए । त्यसबेला दैत्यका गुरु शुक्राचार्यले भने–हे बलि तिमी तीनपाउ भूमि दान नगर, किन भने तीनपाउ भूमिदान लिने छलले विष्णुले तीनैलोक हडप गर्नेछन् र इन्द्रलाई दिनेछन् भने तर दिन्छु भनेर प्रतिज्ञा गरिसका बलि आफ्ना प्रतिज्ञाबाट पछि हट्न चाहेनन् र गुरुको कुरा मानेर प्रतिज्ञा भंग गर्न चाहेनन् अनि भूमिदानको संकल्प गरे ।

कालान्तरमा अदिति गर्भवती भइन् । उनका गर्भमा साक्षात् भगवान् नारायणले बास गर्नुभयो । मास पूर्ण भएपछि भगवान्ले भाद्रशुक्ल द्वादशीका दिन पृथिवीमा अवतार लिनुभयो । पहिले उहाँको नाम उपेन्द्र राखियो तर उहाँँ ज्यादै पुड्को हुनुभएको हुँदा पछि वामन भन्ने नाम राखियो र त्यही वामन नाम नै प्रसिद्ध भयो ।

त्यसबेला वामनरूप भगवानले विराट् स्वरूप धारण गर्नुभयो र एकपाउले भूमि नापेर भरियो, दोस्रा पाउले स्वर्गलोक नापेर भरियो, तेस्रो पाउ राख्ने ठाउँ भएन र तेस्रो पाउ नाप्न ठाउँ देऊ, कहाँ राखौँ र के नापौँ ? भनी प्रश्न गर्दा बलिले सहर्ष हडबड नगरीकन भने, प्रभु मेरा शिरमा पाउ राखेर मेरो प्रतिज्ञा पूरा गराइबक्सियोस् । अनि वामन भगवानले पनि बलिका टाउकामा आफ्नो तेस्रो पाउ राखेर भगवानका भक्त बलिलाई पाताललोकमा जाने आदेश दिनुभयो र इन्द्रको स्वर्गको राज्य फिर्ता गराइदिनुभयो । त्यसबेला पनि बलि विनीत भएर प्रसन्न मुद्रामा रहे । उनमा कुनै किमको मानसिक विकार उत्पन्न भएन । अनि वामन भगवानले भन्नुभयो-हे बलि म तिम्रा भक्ति र विनयभावबाट प्रसन्न छु । म सधैँ तिम्रा निकटमा निवास गर्नेछु । भाद्रशुक्ल एकादशीका दिन मेरो एउटा मूर्ति बलिको (तिम्रो) आश्रय लिएर रहनेछ ।

दोस्रो मूर्ति क्षीरसागरमा शेषनागका पिठिउँमा शयन गरेर रहेको छ, जो कात्तिक शुक्ल एकादशीमा ब्युँझन्छ र कात्तिकशुक्ल पूर्णिमासम्म शयन गर्दछ । यस भाद्रशुक्ल एकादशीका दिन शेषशैय्यामा शयन गर्नुभएका भगवानले अंगपरिवर्तन गर्नुहुन्छ अर्थात् कोल्टो फेर्नुहुन्छ । त्यसैले यस भाद्रशुक्ल एकादशीमा व्रत लिएर यिनै त्रिलोकपति भगवानको पूजा आराधना गर्दा सम्पूर्ण पाप नाश भई ठूलो पुण्यलाभ हुन्छ । स्नान, दान, उपवास, भजन, कीर्तन, पूजाराधना गरी रात्रिमा जाग्राम गरेर भोलिपल्ट भाद्रशुक्ल द्वादशीका दिन चाँदी र चामलका साथमा दही दान गर्नुपर्दछ । यसो गर्दा समस्त पाप नाश भई मनुष्यलाई यस लोकमा सुख ऐश्वर्यको भोग गरी परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ ।

वामनावतार

भाद्रशुक्लद्वादश्यां मध्याहृणे वामनप्रादुर्भावः (धर्मसिन्धु सुधाविवृति ७७)
पञ्चदशं वामनकं कृत्वागादध्वरं बलेः । पदत्रयं याचमानः प्रत्यादित्सुस्त्रिविष्टपम् ।। श्री.भा.१/३/१९
ज्यायान् गुणैरवरजो क्प्यदितेः सुतानां लोकान् विचक्रम इमान् यदथाधियज्ञः ।। क्ष्मां वामनेन जगृहे त्रिपदच्छलेन याञ्चामृते पथि चरन् प्रभुभिर्न चाल्यः।। श्री.भा.२/७/१७

उमेरमा भाइ भए पनि गुणमा दाजुहरू इन्द्रादि देवताभन्दा श्रेष्ठ भएका वामनले अवतार लिएर बलिले हडपेको इन्द्रको राज्य फिर्ता गर्न भिक्षा मागी छलद्वारा राज्य फिर्ता गराउनुभयो । दैत्यहरूसँग युद्धमा छोराहरूले हारेपछि देवमाता अदितिलाई छोराहरूको दुःखमा साह्रै चिन्ता प¥यो । पति कश्यप ऋषिसँग एकान्तमा अदितिले भन्नुभयो–हे पतिदेव मेरी सौताका छोरा दैत्यहरूले मेरा छोरा देवताहरूलाई दुःख दिए, अब तिनीहरूबाट कसरी राज्य फर्काउन सकिन्न्छ ? अदितिको कुरा सुनेर कश्यप ऋषिले भन्नुभयो- हे अदिति एउटा अत्यन्तै कठिन व्रत छ, त्यो व्रत गर । तिम्रा छोराहरूको राज्य फिर्ता हुनेछ । त्यो व्रतको नाम पयोव्रत हो । यो व्रतमा फाल्गुन शुक्ल प्रतिपदादेखि आरम्म्भ गरेर द्वादशीसम्म भगवान् नारायणको आराधना गर्नुपर्दछ । त्यसमा भगवानलाई प्रत्येक दिन दूधले स्नान गराउने दूधका परिकारको नैवेद्यहरू चढाउने, ब्राहृमणहरूलाई दूध र दूधका परिकारहरू दान गर्ने, भोजन गराउने, सम्भव भएसम्म उत्तम पूजाका सामग्रीद्वारा भगवानको पूजा, हवन, तर्पण, मार्जन, ध्यान, जप, तप, पाठ, भजन, नामसंकीर्तन गान, बजान आदि गर्ने, आफू ब्रहृमचर्मा रहने, भूमिमा सुत्ने, दुग्धपदार्थको मात्र एकछाक रातमा त्यो पनि पातमा भोजन गर्ने, जे काम गर्दा पनि नारायणकै सम्झना निन्तर गरिरहने आदि गरेर व्रतको उद्यापन गर्ने ।

यो व्रतमा थोरैमात्र त्रुटि भए पनि केही फल मिल्नेछैन । भनेर व्रतको विधान बताएपछि पतिले भने बमोजिम अदितिले व्रत पूर्ण गरिन् । त्यसपछि भगवान् सन्तुष्ट भएर दर्शन दिनुभयो। अनि भन्नुभयो- हे अदिति म तिम्रो व्रतदेखि खुशी भएँ । मैले तिम्रो आशय बुझेकोछु । पछि म तिम्रो छोरो भएर जन्मिनेछु र तिम्रा छोराहरूलाई राज्य फिर्ता गराई तिम्रो इच्छा पूर्ण गराउँनेछु भनी अन्तर्धान हुनुभयो । अनि कालान्तरमा अदिति गर्भवती भइन् । उनका गर्भमा साक्षात् भगवान् नारायणले बास गर्नुभयो । मास पूर्ण भएपछि भगवान्ले भाद्रशुक्ल द्वादशीका दिन पृथिवीमा अवतार लिनुभयो । पहिले उहाँको नाम उपेन्द्र राखियो तर उहाँँ ज्यादै पुड्को हुनुभएको हुँदा पछि वामन भन्ने नाम राखियो र त्यही वामन नाम नै प्रसिद्ध भयो ।

कश्यप ऋषिले समयमा उहाँका सबै संस्कार गरिदिनुभयो । व्रतबन्ध सँस्कार भएपछि विभिन्न देवता, ऋषिहरू आदि सबैले विभिन्न वस्तु भिक्षाका रूपमा दिए । अनि त्यसपछि मृगचर्म, कमण्डलु, दण्ड, पीताम्बर आदि धारण गरी हातमा भिक्षापात्र लिएर दैत्यराज बलिका यज्ञमण्डपमा भिक्षा माग्न जानुभयो र ‘भिक्षां देहि’ भनी भिक्षा माग्नुभयो । बलिले के माग्छौ ? भनी प्रश्न गर्दा मलाई मेरा पाउले नापेर तीन पाउ भूमि दिनुहोस् भनी माग्नु भयो । बलिले घमण्ड गरी मजस्तो राजाबाट तीनपाउ भूमि के भिक्षा लिन्छौ ? आफूलाई वृत्ति पुग्नेगरी गाउँका गाउँ मागन भन्दा पनि मलाई धेरैको आवश्यकता छैन, त्यति तीनपाउ भए पुग्छ भन्नुभयो । बलिले हुन्छ त म भिक्षा दिन्छु, भनी प्रतिज्ञा गरेपछि दैत्यगुरु शुक्राचार्यले भन्नुभयो- न तद्दानं प्रशंसन्ति येन वृत्तिर्विपद्यते । दानं यज्ञस्तपः कर्म लोके वृत्तिमतो यतः।। स्त्रीषु नर्मविवाहे च वृत्तयर्थे प्राणसंकटे । गोब्राहृमणार्थे हिंसायां नानृतं स्याज्जुगुप्सितम् । श्री०भा०८/१९/३६, ३९

हे बलि तिमी यो भिक्षा नदेऊ, किन कि विष्णुले छल गरी तिम्रो सबै राज्य हडप् गर्ने चालबाजी गरेका हुन्, जसको जीवन निर्वाह ठीकसँग चल्छ, त्यसैले दान, यज्ञ, तप आदि कर्म गर्नुपर्छ, वृत्तिलाई संकट पर्छ भने त्यस्तो दान गर्नुहुँदैन । स्त्रीकासाथ ठट्टा-परिहास गर्दा, विवाहमा, वृत्तिसंकट पर्दा र प्राणसंटकटमा झूटो बोल्दा पनि पाप लाग्दैनभन्दा पनि नटेरी म जस्तो परेपनि आफ्नो प्रतिज्ञा भंग गर्दिन, भनी भिक्षासंकल्प गरेर लौ अब भूमि नाप भने । अनि भगवान् वामनले पनि विराट् स्वरूप धारण गरेर एकपाउले नाप्ता पृथिवी भरियो, दोस्रा पाइलाले नाप्ता स्वर्ग सबै समेटियो । अब तेस्रो पाइलो राख्ने ठाउँ भएन । कसैले कसैलाई केही दिन्छु भनेर प्रतिज्ञा गरी दिँदैन भने त्यो अपराधी हो, अपराधीलाई दण्ड जाय दिनुपर्दछ, भनी वरुणका पाशद्वारा बलिलाई बाँध्न लगाउनुभयो र बलि बाँधिए । बाँधिएका बलिलाई वामनरूप भगवान्ले भन्नुभयो हे दैत्यराज बलि तिमीले तीनपाउ जमिन दिन्छु भनी प्रतिज्ञा गरेका थियौ दुईपाउ मैले नापेँ, पृथिवीदेखि स्वर्गलोकसम्म दुई पाउले नै भरियो । अब तेस्रो पाउ कहाँ राखौं ? भनी सोध्नुभयो । यसरी सोध्दा भन्दा बलि भगवानका भक्त थिए, त्यसैले बलिले खुशीसाथ भने भगवान् ? हजुरको तेस्रो पाउ मेरा शिरमा राखेर मेरो प्रतिज्ञा पूर्ण गरिबक्सियोस् भने ।

अनि भगवान्ले पनि बलिका टाउकामा पाउले टेकी आफ्नो माग र बलिको प्रतिज्ञा समेत पूरा गरी बलिलाई पाशले बाँधेर सुतलमा पुर्‍याइदिनुभयो । यसरी गुरुले यो छल हो, दान नदेऊ भन्दा पाशोमा बाँधिएर सुतलमा जानुपर्दा आदि हरेक किसिमका आपद् विपद्मा पनि सधैं धैर्य धारण गरेको देखेर भगवान्ले भन्नुभयो- हे बलि तिमी मेरा भक्त छौं, त्यसै हुँदा सुतलमा तिम्रा द्वारमा म रहने छु । तिमीलाई सधैं दर्शन दिनेछु । पछि सावर्णिमनुका पालामा तिमी इन्द्र हुनेछौं भनी दण्ड र अनुग्रह समेत गरी भगवान् त्यहाँबाट देवलोक गएर इन्द्रलाई राज्यलक्ष्मी फिर्ता गराई आफ्नो धाममा जानुभयो । ॐ वामनाय नमः।

अनन्तचतुर्दशी
राजा युधिष्ठिरलाई श्रीकृष्णले बताउनुभएको अनन्ततुर्दशीको व्रतविधान र कथाप्रसंग यसप्रकार छ- भाद्रशुक्ल चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । यो व्रत उदयव्यापी गर्नुपर्दछ । यसमा भगवान् अनन्तको पूजा गर्नुपर्दछ ।

तत्र चाष्टदले पद्मे पूजयेद्विष्णुमव्यम् । कृत्वा दर्भमयं शेषं फणासप्तकमण्डितम् ।। तस्याग्रतो दृढं सूत्रं कुम्कुमाक्तं सुशोभनम् । चतुर्दशग्रन्थियुतमुपस्थाप्य प्रपूजयेत् ।। (भविष्यपुराण्व्रतराज)

कुशको अनन्तको (शेषनागको) सातोटा फणाले युक्त मूर्ति बनाबएर पाद्यादि सबै उपचारले पूजा गर्नुपर्दछ । त्यसैका साथमा बलियो धागाको डोरो तयार गरी त्यसलाई १४ वटा पवित्र ग्रन्थी बनाएर पूजा गर्नुपर्दछ । पूजा गर्दा १४ नामले गर्नुपर्दछ– १, ॐअनन्ताय नमः २, ॐअच्युताय नमः ३,ॐ कृष्णनय नमः ४, ॐअनिरुद्धाय नमः, ५, ॐ पद्मजाय नमः, ६, ॐ दैत्यारयेनमः ७, ॐ पुण्डरीकाक्षाय नमः ८, ॐ गोविन्दाय नमः ९, ॐ गरुडध्वजाय नमः १०, ॐ कूर्माय नमः ११, ॐ जलनिधये नमः १२, ॐ विष्णवे नमः १३, ॐ वामनाय नमः १४, ॐ जलशायिने नमः ।

यसरी चौध वर्षसम्मपूजा गर्नुपर्दछ । पूजापछि प्रत्येक वर्ष त्यो डोरो पुरुषले दायाँ हातमा र स्त्रीले बायाँ हातमा बाँध्नुपर्दछ । यो व्रत चौध वर्षसम्म गरेपछि अनन्त भगवानका प्रसादले सम्पूर्ण दुःख कष्ट दूर भई अनन्त सुखसमृद्धि प्राप्त हुन्छ । सत्य युगमा वसिष्ठ गोत्रीय सुमन्तु नामका एक ब्राहृमण थिए । उनकी दीक्षा नामकी पत्नी थिइन् । उनीहरूकी यौटी छोरी जन्मिइन् । जसको नाम शीला हो । उनी अत्यन्त सुशीला थिइन्।कालन्तरमा दीक्षाको मृत्यु भयो । अनि सुमन्तुले कर्कशा नामकी शील स्वभाव नभएकी पत्नी विवाह गरे । शीलाको उमेर पुगेपछि कौण्डिन्यनामक ब्रहृमणसँग विवाह भयो । अनि छोरी-ज्वाइँलाई दाइजो दिनुर्छ, भनेर सुमन्तुले पत्नीसँग भन्दा कर्कशाले घरमा भएको सबै सुनाचाँदी रुपयाँ पैसा पटुकामा बाँधेर घरमा केही छैन के दिने ? भनेर भनिन् । अनि रथमा सबार भएर नवदम्पती घर जाँदै थिए । यमुनाका किनारमा पुगेपछि स्नान गर्न उत्रिए । मुनि नित्य क्रिया तिर उलागे । शीलाले अनन्तको पूजा गर्दै गरेका स्त्रीहरूलाई देखेर के गरेको भनी सोधिन् । उनीहरूले अनन्तको पूजा गरेको भनेपछि शीलाले म पनि यो पूजा गर्दछु भनी त्यो पूजा गरेर अनन्तको डोरो देब्रे हातमा बाँधेर आइन् । अनन्तका व्रतका प्रभावले शीला र कौण्डिन्यको सुख, सौभाग्य र समृद्धि बढेर गयो । एक दिन कौण्डिन्यले शीलाका हातका पाखुरामा डोरो देखेर यो के हो ? भनी सोधे । शीलाले अनन्तको डोरो हो ।

एक दिन कौण्डिन्यले शीलाका हातका पाखुरामा डोरो देखेर यो के हो ? भनी सोधे । शीलाले अनन्तको डोरो हो । यसैका प्रभावले हामीलाई सुख ऐश्वर्य प्राप्त भएको हो भन्दा कौण्डिन्यले अनन्तको निन्दा गरी डोरो छिनाएर आगामा हालिदिए । शीलाले डोरालाई हत्तपत्त आगाबाट झिकेर दूधमा डुबाएर राखिन् ।

यसैका प्रभावले हामीलाई सुख ऐश्वर्य प्राप्त भएको हो भन्दा कौण्डिन्यले अनन्तको निन्दा गरी डोरो छिनाएर आगामा हालिदिए । शीलाले डोरालाई हत्तपत्त आगाबाट झिकेर दूधमा डुबाएर राखिन् । त्यसपछि उनीहरूलाई ठूलाठूला विपत्ति आइलागेर धेरै दुःख कष्टहरू प्राप्त भए । अनि कौण्डिन्यले पत्नीसँग के कारणले हामीले दुःख पायौँ होला ? भन्दा शीलाले भनिन् अनन्तको निन्दा गरेका कारणले हुन सक्छ भनिन् । अनि ती ब्राहृमण अनन्तको निन्दा गरेकामा पश्चात्ताप गर्दै अनन्तका खोजीमा जंगलमा गए । रूख, गाई, गोरु, पोखरी र हात्तीहरूलाई अनन्तका बारेमा सोध्दा कसैले नबताएका हुँदा मर्न भनी रूखमा चढेर झुण्डिन लाग्दा ब्राहृमणका रूपमा स्वयं अनन्त भगवान् आएर ए पख भनी रोकेर हे ! ब्राहृमणदेव अब छिट्टै घर गएर १४ वर्षसम्म अनन्तको व्रत गर ।

तिमीलाई सुख समृद्धि, ऐश्वर्यहरू प्राप्त हुनेछन् भन्नुभयो । अनि घर गएर श्रीमान् श्रीमती भएर १४ वर्षसम्म अनन्तको व्रत गरेपछि उनका सबै दुःख कष्टहरू नाश भई सुखसमृद्धि, ऐश्वर्यहरू प्राप्त भएर परलोकमा मोक्ष समेत प्राप्त भएको थियो । त्यस कारणले तपाईँहरू पनि अनन्तको व्रत गर्नुहोस्, दुःख नाश भई सुख प्राप्त हुनेछ भनी भगवान् श्रीकृष्णले वनवासका समयमा युधिष्ठिरलाई बताउनुभयो र पाण्डवहरूले पनि अनन्तको व्रत गरी दुःख कष्टबाट मुक्त भएका थिए । त्यस कारण सम्पूर्ण दुःख कष्टबाट मुक्त हुन हामी पनि १४ वर्षसम्म अनन्तको व्रत गरौँ, सबै दुःख नाश भई सुख समृद्धि प्राप्त हुनेछन् । इति संक्षेप । ॐ अनन्त नारायणाय नमः।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?